राजनीति

प्रधानमन्त्रीले रेल्वेमार्ग परिवर्तनका लागि पहल गर्ने

प्रधानमन्त्रीले रेल्वेमार्ग परिवर्तनका लागि पहल गर्ने
माघ - ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेलमार्गअन्तर्गत् बिजुलपुरा–बर्दिवास खन्डको रेल्वेमार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने बताएका छन् । धनुषा क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद शत्रुधन महतोको नेतृत्वमा सांसद ज्ञानबहादुर भुजेलसहितको सर्वदलीय प्रतिनिधिमन्डलसँग शुक्रबार प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । ‘ज्ञापनपत्र हेरें, यसभन्दाअघि पनि यस्तै ज्ञापनपत्र आएको छ, रेल्वे लाइन बिस्तार गर्दा साविकका बस्ती विस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको वैकल्पिक उपाय खोज्नुपर्छ, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेल्वे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ’–उनले भने । जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास खन्डको रेल्वेमार्ग विभागले पुस ७ गते प्रकाशित गरेको सूचनाअनुसारको स्थानबाट लैजाँदा मिथिला नगरपालिकाको वडा नम्बर–८ र ९ को बेंगाटावरका ४०० घर–परिवारलाई उठाउनुपर्ने सांसद महतोले बताए । ‘यो मार्गबाट रेल अगाडि बढाउँदा बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार बढीपर्छ, यसबाट २०० मिटर पश्चिम गए खाली जग्गा छ, यहाँको मुआब्जा पनि कम पर्छ, स्थानीयवासीलाई विस्थापित बनाउनु पर्दैन’–उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि यसअघि ज्ञापनपत्र बुझाएपछि मन्त्री रमेश लेखकले यो मार्गको निरीक्षण गरेको सांसद महतोले जानकारी दिए ।

Puspakamal Dahal पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष