राजनीति

उत्तर–दक्षिण लोकमार्गमा जोड दिन्छौं - बस्नेत

उत्तर–दक्षिण लोकमार्गमा जोड दिन्छौं - बस्नेत
माघ - ८ । नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेश कर्णालीका इन्चार्ज शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने बताएका छन् । प्रेस सेन्टर जुम्लाद्वारा शनिबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा इन्चार्ज बस्नेतले नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाकारुपमा अघि बढाइने जनाए । उनले भने–‘मानसरोवरसमेत जोड्ने परिकल्पनाबाट आयोजना सम्पन्न गर्न सकिएमा जुम्ला कर्णालीको आधार शिविर बन्छ, साथै पूर्व–पश्चिम राजमार्गलाई रारातालसम्म पुग्नका लागि ६/७ घन्टामा सीमित गर्न सकिन्छ ।’ त्यसका लागि टनेलमार्गकारुपमा पनि यसलाई निर्माण गर्न पहल गरिने उनले बताए । पूर्वगृहमन्त्रीसमेत रहेका इन्चार्ज बस्नेतले मुलुक परिवर्तनको विभिन्न कालखन्डमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको बताए । ‘अब हामी विगतका सबै कुराको योगमा समीक्षा गर्छौं र त्यसबाट शिक्षा लिएर मुलुक समृद्धिको कोर्समा लाग्छौं’–उनले भने । वर्तमान संविधान, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता माओवादी एजेन्डा भएको जनाउँदै उनले माओवादी मार्गचित्रमा देश अघि बढिरहेको दाबी गरे । स्थानीय तहको निर्वाचन कहिले भन्ने पत्रकारको जिज्ञासामा उनले भने–‘सरकारले स्थानीय तहको चुनाव जेठसम्म गर्छ ।’ प्रदेश र केन्द्रको चुनाव २०७४ माघसम्म गर्ने सरकारले लक्ष्य लिएको पनि उनले बताए । यसमा स्थानीय तहले २२ ओटा अधिकार सम्पादन गर्नसक्ने बनाएको उनले बताए । स्थानीय तहको स्वरुप कस्तो हुने भन्ने विषयमा संख्या तथा सीमा निर्धारण आयोगको प्रतिवेदनले प्रस्ट्याउने जानकारी दिँदै भर्खरै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगको प्रतिवेदन बुझेको उनको भनाइ थियो ।

Shakti basnet

विशेष