राजनीति

१० महिनासम्म पनि कांग्रेस अपूर्ण

१० महिनासम्म पनि कांग्रेस अपूर्ण

माघ १० । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ता अचेल पत्याउँदैनन् ।

देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरु केही समय सलबलाउँछन् । आफू हुन र कसैलाई बनाउन दबाब समूहहरु सक्रिय समेत बन्छन् । तर, विस्तारै उनीहरु पनि हार खाएर थन्किन्छन् ।

नेतृत्व सम्हालेलगत्तैदेखि पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भन्दै आएका देउवाले दस महिनामा पनि त्यो का मगर्न सकेका छैनन् । यतिबेला उनले पदाधिकारी होइन, कार्यसम्पादन समिति र विभाग गठनको चर्चा चलाएका छन् ।

यो कुरा गरेको पनि महिना दिन बित्न लाग्यो । तर, साइत अझै जुरेको छैन ।

पार्टीभित्र सभापतिका आलोचकहरु उनलाई संगठनभन्दा सत्ता राजनीतिमा बढी रुचि राख्ने देख्छन् । पार्टीको अपूर्णतामा कतै न कतै सत्ता राजनीति जोडिएको उनीहरुको तर्क छ ।

कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने छ’ भन्ने छ । तर दस महिनामा १२ केन्द्रीय सदस्य मनोनयन गर्नेबाहेक विभाग र समिति बन्न सकेका छैनन् ।

उनै देउवाले तत्कालिन पार्टी सभापति सुशील कोइरालाले विभाग र समितिहरुलाई पूर्णता दिन नसक्दा निर्णय क्षमता नभएको भन्दै कडा आलोचना गरेका थिए । त्यसैलाई उनले १३ औं महाधिवेशनमा मुद्दा पनि बनाए । गिरिजाप्रसा कोइरालाजस्तो निर्णय क्षमता भएको भनेर उनले आफूलाई अघि सारे । तर, दस महिनाको कार्यकालमा पार्टी गतिमा होइन, मुस्किलले घस्रिरहेको प्रतिक्रिया दिन्छन् कांग्रेस नेता शेखर कोइराला ।

कान्तिपुर

Nepali Congress

विशेष