सार्कको महासचिव हुने पालो पाकिस्तानको थियो तर रहस्यमय ढंगले सरकारले किचलो झिक्यो
माघ ११ । सीमापार आतंकवादका विषयमा भारत र पाकिस्तानबीच जारी तनावको प्रत्यक्ष असर सार्कको नयाँ महासचिव नियुक्तिमा समेत देखिएको छ ।
पाकिस्तानद्वारा सार्क महासचिव प्रस्तावित वरिष्ठ कूटनीतिज्ञ अमजाद सियाल पदभार समाल्न नेपाल आउने तयारीमा छन् । नेपालका तर्फबाट सार्क महासचिव रहेका पूर्वपरराष्ट्रसचिव अर्जुनबहादुर थापाको तीनबर्से पदावधि सकिनासाथ सियालले मार्च १ देखि पदभार ग्रहण गर्ने भनिएको छ तर उनको औपचारिक नियुक्ति भएको छैन । उनको नियुक्तिसम्बन्धमा सार्क सचिवालयले हालै गरेको एक सर्कुलरले चाहिँ सार्क सदस्य देशबीच खैलाबैला उत्पन्न भएको छ ।
रोलक्रमअनुसार यही मार्चदेखि पाकिस्तानले महासचिव पठाउनेछ । एक वर्षअघि पोखरामा सम्पन्न सार्क विदेशमन्त्रीस्तरीय बैठकमा पाकिस्तानले आफ्ना वरिष्ठ कूटनीतिज्ञ सियालको नाम प्रस्ताव गरेपछि त्यसमा सबै देशले सहमति जनाएका थिए । सार्कका नयाँ महासचिवमा केही महिनाअघि भारतसहित सार्कका सबै सदस्य देशले उनको नाममा ‘कूटनीतिक नोट’ पठाएर ६ महिनाअघि दोस्रोपटक सहमति दिए ।
तर अचानक सार्क सचिवालयले सबै सार्क सदस्य देशलाई हालै नयाँ सर्कुलर पठाएको छ । सचिवालयको सर्कुलरमा पाकिस्तानद्वारा प्रस्तावित महासचिवको नियुक्तिमा सहमति दिन सबै सार्क सदस्य देशलाई आग्रह गरिएको छ । सचिवालयको यस्तो पत्राचारप्रति परराष्ट्र मन्त्रालयका अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । ‘नयाँ महासचिव सियालको नियुक्तिमा नेपालसहित सबै सार्क सदस्य देशले सहमति दिइसकेका हुन् ।
उनी आउने तय पनि भइसकेको अवस्थामा सार्क सचिवालयले फेरि सहमति मागेको छ जुन आवश्यक थिएन । सचिवालयले कसको उक्साहटमा यस्तो काम गरेको हो बुझ्न सकिएन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
अन्नपूर्ण
SAARC