महाधिवेशनमा अध्यक्षमा उठ्न राणालाई दबाब
माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले कार्यकर्ताको दबाबकै कारण आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् । औपचारिक रुपमा अध्यक्षमा लड्ने घोषणा गरिनसकेका राणाले पत्रकार कृष्ण मल्लसँग हिमालय टेलिभिजनमा कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् ।
मेची–महाकाली अभियानमा देशभर घुम्दा दबाब आएको उल्लेख गर्दै राणाले भने, ‘जहाँका कार्यकर्ताले पनि अध्यक्षमा उम्मेदवारी दिनु पर्छ भन्ने आग्रह गरेका छन् । बेला आएपछि उहाँहरुको माग सम्बोधन हुन्छ ।’
अध्यक्ष राणाले आगामी निर्वाचन राप्रपाकालागि ऐतिहासिक हुने दाबी गरेका छन् । उनले निर्वाचनपछि आफ्नो पार्टी दोस्रो ठूलो दलका रुपमा उदाउने उल्लेख गरे । उनले निर्वाचनका लागि संविधान संशोधन गरेर मधेसी मोर्चालाई सहभागी गर्नुपर्ने बताए ।
सत्ता साझेदार राप्रपाले सरकारमा थप मन्त्री पठाउने प्रशंग पनि चलेको छ । तर त्यो अधिकार कमल थापालाई दिइएको उनले जानकारी दिए । उनले भने, ‘सरकारमा थप मान्छे पठाउने नपठाउने त्यो कमलजीको निर्णयअधिकारमा भर पर्छ ।’
मेची महाकाली अभियानका क्रममा रेखा थापा र कोमल ओलीलाइ धेरै स्थान दिइएको विषयमा राणाले अनौठो नमान्न आग्रह गरे । उनले कलाकारहरुलाई राप्रपाले सधै सम्मान गर्ने भएकोले स्पेस दिइएको बताए ।