संविधानको कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प - देउवा
माघ - ११ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गरेका छन् ।
त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे। निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प रहेकाे बताए ।
काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति रहेका उल्लेख गरे । जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गरेका थिए । रासस
Sher Bahadur Deuba