कोइराला परिवारको भित्री व्यथा कस्लाई के था ? परिवारभित्रै बाट खेदिनेहरुको पीडादायी कथा
नेपालको राजनीतिमा कोइराला खान्दानको विरासत कृष्णप्रसाद कोइरालाबाट शुरु भएको हो । राणा शासनका बिरुद्धमा लागेकै कारण निर्वासित भएका कृष्णप्रसाद यस्ता भाग्यमानी पिता हुन जसका ३ सन्तान प्रधानमन्त्री भए । नातिनातिना पनि प्रधानमन्त्री बन्ने सम्भावना छँदैछ । तर, यो परिवारभित्रका यस्ता कुशल पात्र राजनीतिबाट परिवारभित्रकै अन्तरसंर्घषले बढारिए, जसको हिसावकिताव र मूल्यांकन सायदै हुन सकेको छ । योगदानलाई समेत अवमूल्यन गरिएको गुनासो परिवारभित्र व्याप्त छ । कृष्णप्रसादका तीन श्रीमती थिए । रुक्मिणीका तर्फबाट कुनै सन्तान भएनन् । मोहनकुमारीका तर्फबाट मातृकाप्रसाद र नलिनी, इन्दिरा र शौरभीको जन्म भयो । कान्छी दिव्याको कोखबाट वीपी, केशव, तारिणी , गिरिजाप्रसाद र विजयालक्ष्मीको जन्म भयो । कोइराला परिवार उहिल्यै देखि विन्दास र स्वतन्त्र थियो । विजयालक्ष्मीले मुसलमानसँग विहे गर्दापनि परिवारले खासै आपत्ति गरेन । नेपालको इतिहासमा जनताको कोखबाट जन्मेर प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त तीन भाइ हुन्ः मातृका, वीपी र गिरिजा । सौतेनी नालका भएकाले मातृका र वीपीको मिलन उतिसारो कहिल्यै भएन । २००७ सालका सर्वोच्व कमाण्डर मातृकाको योगदानलाई कोइराला परिवारले लगफग विस्मृतिमा राखेको छ । मातृकाका ६ छोरा र २ छोरी हुन् । छोरा छोरी र नातिनातिना देखिने गरी राजनीतिकवृत्तमा छैनन् । कमल कोइराला एमालेमा छन् । कोरियाका लागि राजदुत रहिसकेका कमल काँग्रेस–कोइराला क्याम्पमा बिरानो लाग्छन् । मातृकाकी सहोदर भान्जी भएपनि शैलजाले सौतले मामा वीपीलाई साथ दिइन् । सायदै उनले कहिल्यै सौतेनी नालका मावली भनेर वीपी र गिरिजालाई हेरिन् । तर, निष्ठावान नेतृ शैलाजा राजनीतिक उत्तराद्र्धमा गिरिजाप्रसाद कोइरालाको बक्रदृष्टिमा परिन् । नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चितप्राय रहेकी उनी पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको असहयोगमा क्रमशः राजनीतिबाट विमुख भइन् । सभापति रहेका गिरिजाप्रसाद कोइरालाले साथ दिएको भए शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुने बेलैमा शैलजाले राजनीतिको शिखर चुम्नेवाली थिइन् । सबैले उम्मेदवारी झिक्ने र सहमतिको आधारमा नेतृत्व चयन गर्ने गिरिजाप्रसादको आश्वासनपछि शैलाजा र रामचन्द्रले उम्मेदवारी फिर्ता लिए । शेरबहादुर टसमस भएनन् । राजनीतिको शेर बने शेरबहादुर । २०५७ मा पोखरामा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले छोरी सुजतालाई अघि सार्न शैलजालाई छिड्की हान्न थाले । विश्वासघात भएको अनुभुति गरेकी शैलजाले कडा प्रतिक्रियासमेत दिएकी थिइन् । त्यसपछि शैलजा क्रमशः गुमनाम भइन् । गणतन्त्रमा प्रवेश गर्ने गिरिजाप्रसाद नीतिसँग उनी पूर्णतः असहमत रहिन् । २०१७ साल देखि राजनीतिको केन्द्र र चर्चामा रहेकी शैलजा झण्डै झण्डै नामेट पारिइन् । शैलजाको निधनको अवस्थालाई धेरैले दुःखद र काँग्रेसको कंलकका रुपमा चित्रण गर्दछन् । शैलजालाई प्रथम महिला प्रधानमन्त्रीका रुपमा इतिहास रच्ने अवसरबाट कोइराला परिवारबाटै बञ्चित गरिएको कोइराला परिवार भित्रकै ले बताउँछन् । कृष्णप्रसादका पाँच भाइ छोरा मध्ये तारिणी राजनीतिमा भन्दा साहित्यमा बढी रुची राख्थे । ००७ सालमा विराटनगरको फौजी कमाण्डमा रहेका तारिणीले भूमिगत रेडियो संचालन गरेका थिए । अल्पायुमै २०३१ सालमा निधन भएका तारिणीले रेडियो नेपालको स्थापना गरेका थिए । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उनका सहोदर दाइ तारिणीको शालिक सिंहदरबारमा स्थापना गर्ने प्रस्ताव रेडियो व्यवस्थापकका तर्फबाट गरियो । आफ्नै दाइको शालिक स्थापना गर्ने प्रस्तावसमेत गिरिजाप्रसाद कोइरालाले अस्विकार गरिदिए । काँग्रेसको राजनीतिक दस्तावेजहरुमा समेत तारिणीको योगदान लिपिवद्ध गरिएको छैन । तारिणीको जयबागेश्वरीस्थित घरमा वीपी बस्ने गर्थे । सो घर खोंचमा भएको र असुरक्षित भएको भनि नेविसंघ नेता विश्वप्रकाश शर्माले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा संरक्षणका लागि पहल गर्न प्रस्ताव गरेको थियो । नेविसंघ नेतृत्वले गरेको प्रस्तावलाई गिरिजाप्रसादले एकै शब्दमा टुंग्याइदिएका थिए–‘हुँदैन’ । कृष्णप्रसादका नाति पुस्तामध्ये सबैभन्दा बढी राजनीतिक क्षमता राख्ने भनि ज्योतिप्रसाद कोइराला चिनिन्थे । ०२५ सालमा वीपीको फोटोग्राफरका रुपमा देश घुमेका ज्योति राजनीतिक सम्भावना भएका नेताका रुपमा चिनिन्थे । उनी २ पटक महासमिति सदस्यपनि निर्वाचित भएका थिए । २०५७ सालको महाधिवेशनमा उनी केन्द्रीय सदस्यका प्रत्यासी बन्ने निश्चित जस्तै थियो । उनले प्रचारको तयारीपनि गरेका थिए । काका गिरिजाप्रसाद कोइरालाले संस्थापन क्याम्पको सूचीमा राखेनन् । उनले स्वतन्त्र हिसावले उम्मेदवारी दिन चाहे । गिरिजाप्रसादले ‘उम्मेदवारी फिर्ता नलिए राम्रो नहुने’ चेतावनी दिए । त्यसपछि उनी हच्किए । ज्योतिले गिरिजाप्रसादसँग राष्ट्रिय योजना आयोगको सदस्यसमेत भएपनि बनाइदिन आग्रह गर्दा उनले ‘नो’ भनेको जानकारहरु बताउँछन् । कृषि र कम्पुटरमा दख्खल राख्ने ज्योतिले ‘स्पेस पाउँदा’ भोलि अफ्ठयारो पर्ने गिरिजाप्रसादको बुझाइ थियो । ज्योतिपत्नी इन्दिरा बस्नेत विद्यार्थी राजनीतिदेखि चर्चित थिइन् । महासमिति सदस्य भएपनि उनलाई माथि जानका लागि प्रतिबन्धजस्तै लागि रह्यो । ज्योतिकी आमा रोशाको नाम काँग्रेसको इतिहासबाट चाहेर पनि छुटाउन सकिदैन । वीपीको रेखदेखमा भाइबुहारी रोशाले विशेष भुमिका निर्वाह गरेकी थिइन् । तर, उनलाई पनि राजनीतिमा निषेध गरियो । कोइराला परिवारको उत्तराधिकारी को भन्ने लडाइ शुरु हुनेवाला थियो । गिरिजाप्रसाद कोइराला छोरी सुजतालाई अगाडि बढाउन चाहन्थे । गिरिजाप्रसादसँग मित्रवत् भावनात्मक सम्बन्ध रहेकी भाउजु नोनाका कारण उनले शेखरलाई पन्छाउन सकेनन् । वीपीपुत्र सशांकलाई रोक्न सक्ने परिश्थिति रहेन । नोनाका अर्का छोरा निरन्जनले सानैदेखि राजनीतिप्रति रुची राखेनन् । वीपीका अर्का पुत्र श्रीहर्षपनि राजनीतिमा आएनन् । गिरिजाकै छोरा सुरेशलाई ‘छड्केलो’ भनि सार्वजनिक जीबनमा ‘ल्याइएन’ । ०५७ सालमा ज्योतिलाई ‘किक’ गरेपछि गिरिजाप्रसादका लागि सुजतालाई राजनीतिक उत्तराधिकारी बनाउन सजिलो भयो । त्यतिन्जेलसम्म कोइरालाको नाति पुस्ताबाट ज्योतिमात्रै जम्ने देखिएको थियो । जर्मन नागरिकसँग विहे गरी बिदेशमै रहेकी सुजता र डाक्टरी पेशामा व्यस्त रहेका सशांक र शेखरमा राजनीतिक स्पेसका हिसावले खाशै अन्तर थिएन । सशांक अत्याधिक मदिरा सेवन गर्दथे । उनलाई मदिराको लत काका गिरिजाप्रसादको मायाले लागेको भन्नेहरुपनि छन् । गिरिजाप्रसादलाई आउने देशीविदेशी रक्सी उनले सशांकलाई पठाइदिने गर्थे । सशांक नयाँ नयाँ स्वादमा रमाउँथे । पहिलो संविधानसभाको निर्वाचनमा सुजता समानुपातिक सांसद भइन् । सशांक र शेखर प्रत्यक्ष निर्वाचित सांसद भए । मौका पाइन् सुजताले । उनी एकै पटक उपप्रधान तथा परराष्ट्रमन्त्री भइन् । कैयौं बरिष्ठलाई पाखा लगाउँदै संस्थागत निर्णय नगरिकनै गिरिजाप्रसादले माधव नेपाल नेतृत्वको सरकारमा काँग्रेसका तर्फबाट सुजताको नेतृत्वमा मन्त्रीहरु पठाइदिए । त्यसको केही समयपछि उनले भनेका थिए, ‘नेपालमा महिला प्रधानमन्त्री बन्ने दिन आउन अब धेरै दिन बाँकी छैन ।’ गिरिजाप्रसाद केही समय बाँचेको भए सुजाता प्रधानमन्त्री बन्ने निश्चितप्राय थियो । दिव्यातर्फका नातिमा प्रकाश, संशाक, श्रीहर्ष र चेतना वीपीका सन्तान हुन् । प्रकाश राजा ज्ञानेन्द्रको कार्यकालमा मन्त्री भएपछि काँग्रेस राजनीतिबाट बाहिरिएका छन् । संशाक महामन्त्री छन् ।
एक्ला एक्लै दौडमा कोइराला परिवारमा अहिले अभिभावकको अभाव छ । शेखर, सशांक र सुजातालाई माथिबाट ओत दिने कोही छैन । यी तीन आफुलाई कोइराला परिवारको उत्तराधिकारी सावित गर्न कम्मर कसेर लागेका छन् । महामन्त्रीमा निर्वाचित भएका भाइ सशांकलाई शेखर नेता मान्दैनन् । ‘उसलाई मैले छाडिदिएको हुँ एक पटकलाई । नेता कामले हुने हो । उ मेरो नेता होइन ।’ सशांक महामन्त्री निर्वाचित भएलगत्तै शेखरले भनेका थिए । सुजाताले आफुलाई सक्नका लागि आफ्नैबाट षडयन्त्र भएको भनि महाधिवेशनको पूर्वसन्ध्यामा अभिव्यक्ति दिएकी थिइन् । सभापतिका लागि एकल उम्मेदवारी घोषणा गरेकी उनलाई थामथुम पारिएको थियो ।
भावि पुस्ता तारिणीप्रसादका दुई नातिनी छन् । जो राजनीतिमा रुची राख्दैनन् । राखुन्पनि किन ? हजुरबुबादेखि आमासम्म आफन्तबाटै चेपुवामा पारिए । गिरिजाप्रसादकी छोरी सुजाताका छोरी र छोरा छन् । छोरा जर्मन नागरिक हुन् । छोरी बंगाली रुवेल चौधरीसँग बिहे गरी राजनीतिबाट बिमुख छन् । वीपीपुत्र प्रकाशका छोरा सिद्धार्थ राजनीतिमा सक्रिय छन् । तर, तरुण दलमा उनलाई भाउ दिइएन । श्रीहर्षको परिवारको उतिसारो राजनीतिमा सोख देखिदैन । सशांकपुत्री सुप्रिया अहिलेसम्म राजनीतिक दृश्यमा छैनन् । केशव र नोनाका छोरा निरन्जनका दुई छोरा भास्कर र हिमांशुमध्ये हिमांशु राजनीतिमा सक्रिय हुन चाहिरहेका छन् । शेखर कोइरालाकी एक्ली छोरी नेहाको राजनीतिमा चर्चा छैन । यथास्थितिमा तारिणी र गिरिजाको राजनीतिक थेग्ने भावि पुस्ता देखिदैन । अहिलेकै स्थितिलाई हेर्दा वीपीका नाति प्रकाशपुत्र सिद्धार्थ र केशवका नाति निरन्जनपुत्र हिमांशुले कोइराला परिवारको राजनीतिक विरासत थाम्ने देखिन्छ । राजनीतिमा के हुन्छ भन्न सकिन्न । हिजो राजनीति दृश्यमा सम्भावना भनेर हेरिएका ज्योति ओझेल पारिए । राजनीतिक भुमिकामा नरहेका सुजाता, सशांक र शेखर ल्याइए । बिदेशमा रहेका सन्तान भोलिका दिनमा एकाएक राजनीतिमा उदाए भनेपनि अचम्म हुने छैन । Koirala Pariwar