राजनीति

साढे दुई महिना बितिसक्दा पनि तरुण दल कार्यसमितिले पूर्णता पाउन सकेन

साढे दुई महिना बितिसक्दा पनि तरुण दल कार्यसमितिले पूर्णता पाउन सकेन
माघ - १३ । नेपाली काँग्रेसको प्रभावशाली भातृ संस्था नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्दा समेत कार्यसमितिले पूर्णता पाउन सकेको छैन।
महाधिवेशनमा मतदान नगराई शीर्ष नेताको भागबन्डाका आधारमा अध्यक्ष जीतजङ्ग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान् गुरुङ चयन भएका थिए। त्यसपछि समितिका अन्य पदमा सहमतिका आधारमा पूर्णता दिने भनिए पनि हालसम्म त्यस सम्बन्धमा कुनै काम भएको छैन। सहमतिका आधारमा चयन भएका पदाधिकारीमध्ये अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा, उपाध्यक्ष चापागाई नेता कृष्णप्रसाद सिटौला, महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल र कोषाध्यक्ष गुरुङ नेता खुमबहादुर खड्काको भागबन्डामा परेका हुन्। तरुण दलको चौथो महाधिवेशन गत कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा भएको थियो । तरुण दलको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले महाधिवेशनबाट काठमाडौँ फर्केलगत्तै बैठक गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको थियो । काँग्रेसले तरुण दल महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको थियो । समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसाईं सदस्य छन्। तरुण दलको महाधिवेशनयता निर्देशन समितिको कुनै बैठक त परै जावस् छलफल समेत हुन नसकेको सदस्य यादवले जानकारी दिए। महाधिवेशन सम्पन्न भएको एक महिनापछि सहमतिमा चयन भएका पदाधिकारीको सपथ ग्रहण भएको थियो। कार्यसमितिले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भएको अध्यक्ष बस्नेतले बताए। उनले आफू र पदाधिकारी पनि थोरै भएकाले दैनिक कार्यक्रम तथा सङ्गठनका काम गर्न समस्या परेको गुनासो गरे। महाधिवेशनपछि तरुण दलमा कार्यसमिति कुल ९५ सदस्यीय हुने र त्यसमध्ये १६ जना अध्यक्षले मनोनीत गर्ने प्रावधान बनाइएको छ । विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए। त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन्।

तरुण दल

विशेष