वैशाख अन्तिम साता स्थानीय निर्वाचन : प्रम दाहाल
माघ–१३ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् ।
पाँचौ पर्वत महोत्सवलाई आज सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उनले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताए । उनले भने, “पहिले कानुन निर्माण गर्नुपर्यो, त्यसपछि निर्वाचनको मिति घोषणा हुन्छ ।”
प्रधानमन्त्री दाहालले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने दाबी गर्दै दुई/तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने बताए । उनले १५ माघभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताए ।
आगामी ७ माघ २०७४ सम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले निर्वाचनमा जाँदा मधेशी, थारु, आदिवासी, जनजातिलाई समेतसँगै लैजानुपर्ने भएकाले संविधान संशोधन गरेर अघि बढ्ने तयारी भइसकेको पनि बताए ।
उनले निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेशी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताए । “जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ,” दाहालले भने ।
मुलुक बिखण्डन गर्न खोज्ने तत्व सक्रिय हुँदै गएको बताउँदै उनले सत्ता र सत्ता बाहिर रहेका पार्टीलाई यो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यकातर्फबाट कठोर कदम चाल्ने चेतावनी पनि दिए । प्रधानमन्त्री दाहालले पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुश्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेलमैदान निर्माण र लप्सी प्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।
कोरला नाका तत्काल खुलाउन पहल गर्ने बताउँदै उनले नाका खुल्ने बित्तिकै पर्वतलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्न सकिने बताएका थिए । रासस
पुष्पकमल दाहाल
स्थानीय निर्वाचन