संविधान संशोधन र निर्वाचनबारे प्याकेजमा सहमति आवश्यक– अध्यक्ष गच्छदार
माघ–१४ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले भने – “निर्धारित समयभित्रै तिन वटै तहको निर्वाचन गर्न सक्नुपर्दछ ।” अध्यक्ष गच्छदारले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन अझैसम्म टुङ्गो नलागेको र समय पनि कम रहेकाले गाउँपालिका र नगरपालिकाको निर्वाचन पुरानै संरचनामा गर्दा सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरे ।
केही दिनभित्रै निर्वाचनको तिथि तोक्ने सम्भावना रहेको प्रशङ्ग उल्लेख गर्दै उनले परिमार्जनसहित संविधान संशोधन र निर्वाचनको सम्बन्धमा मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष गच्छदारले निर्वाचनलगायतका विषयमा प्रधानमन्त्रीले प्रयास गरिरहेको भए पनि ठोस सहमति हुननसकेको उल्लेख गर्दै विशेषगरी यसमा मुख्य दल नै कारकको रुपमा देखिएको आरोप लगाए । ठूला दलले दूरदर्शीतापूर्ण सोच बनाउन नसकेकाले अहिले मुलुक अप्ठेरो अवस्थामा आइपुगेको बताए ।
राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहको जनप्रतिनिधिको मतदान गर्ने अधिकार कटौती हुने चर्चाको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले जनप्रतिनिधिको अधिकार कटौती नहुनुपर्ने धारणा व्यक्त गरे। रासस
निर्वाचन
विजयकुमार गच्छदार
संविधान संशोधन