राजनीति

आफैंले गरेको प्रस्ताव राष्ट्रघाती: गृहमन्त्री

आफैंले गरेको प्रस्ताव राष्ट्रघाती: गृहमन्त्री

माघ १६ । गृहमन्त्री विमलेन्द्र निधिले एमाले सत्तामा हुँदा गरेका संविधान संशोधनका चार बुँदा कांग्रेस–माओवादी गठबन्धन सरकारले अघि सार्दा राष्ट्रघाती भन्दै अनर्गल प्रचार गरेको आरोप लगाएका छन् ।

पर्वतको कुश्मास्थित शहीद स्मारक बोर्डिङ स्कुलको रजत जयन्ती एवं शहीद दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै निधि एमालेविरुद्ध खनिएका हुन् ।

‘प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभा गरी चार बुँदामा संशोधन गर्ने सुशीलजीकै पालामा भएको सहमतिका हरेक पानामा ओलीजीको हस्ताक्षर छ,’ एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै भने, ‘आफू सत्तामा हुँदा काम गर्न नसक्ने । अनि सत्ता बाहिर भएपछि आफैंले हस्ताक्षर गरेका कुरा राष्ट्रघाती भन्दै हिँड्ने ?’ एमालेले पहाड र मधेसको नाममा झुटा प्रचार गरेर फरक भूगोलका जनतालाई भड्काउने रणनीति अपनाएको आरोप लगाए ।

आसन्न स्थानीय निर्वाचनमा आफ्नो हैसियत गुम्ने निश्चित भएपछि एमाले तर्सिएर अनर्गल प्रचार गरेको हुँदा त्यसको पछि नलाग्न सबैलाई आग्रह गरे ।

bimalendra nidi

विशेष