राजनीति

मधेसी मोर्चाले नमाने पनि चुनाव घोषणाको तयारी

मधेसी मोर्चाले नमाने पनि चुनाव घोषणाको तयारी

माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

१५ माघभित्रै निर्वाचनसम्बन्धी संसदमा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल आज  सम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार, नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन् ।

स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे ।

प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायोे । ‘अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ । यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ । तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ ।

राजधानी

Morcha

विशेष