राजनीति

'केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा'

'केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा'
माघ - १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका छन् ।माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताए । केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उनले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको संघर्ष भएको उल्लेख गरे । स्थानीय निकायको निर्वाचन हुन नदिएर संघीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनैपनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गरे । परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पस्ट पार्दै उनले आगामी माघभित्र तीनओटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गरे । विश्वव्यापीरुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पस्ट पारे । प्रधानमन्त्रीले भने–‘परिवर्तनलाई कसरी संकटमा पार्न सकिन्छ भनेर केही तत्व लागेको छ । त्यो चरित्रलाई परास्त गर्नु जरुरी छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता हो । त्यो काम केवल युवालेमात्रै गर्न सक्छन् ।’ प्रधानमन्त्रीले युवालाई रोजगारी, क्षमताको विकास तथा सशक्तिकरणका लागि सरकारका तर्फबाट केही योजना सार्वजनिक गर्ने तयारीमा रहेकोसमेत जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको कार्यकारी तहमा युवालाई ल्याउने विषयमा आवश्यक तयारी भइरहेकोसमेत बताए । सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं वाइसीएल नेपालका इन्चार्ज मणि थापाले माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्ने र ठान्नेहरुलाई परास्त गर्न युवा नै अगाडि आउनुपर्ने धारणा राखे । वाइसीएल नेपालका संयोजक रामचन्द्र शर्माले युवालाई उचित जिम्मेवारी र कार्ययोजनाका साथ परिचालन गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रसँग १० माओवादी घटकबीच गत जेठमा एकता भएपनि युवा संगठनबीच भने औपचारिकरुपमा एकता हुन सकेको थिएन । आजको बैठकले सबै युवा संगठनलाई एकीकृत गरेर वाइसीएललाई पुनः सशक्त प्रभावकारी संगठनकारुपमा अगाडि बढाउने निर्णय लिएको वाइसीएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।

Puspakamal Dahal निर्वाचन मिति

विशेष