‘देउवाले गर्नै नहुने काम गरे, जे गरे गलत गरे’ (भिडियोसहित)
विश्वकान्त मैनाली वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हुन् । मैनालीसँग नेपाल आजले मन्त्रिपरिषद बिस्तार, मंसिरमा हुन गइरहेको केन्द्र र प्रदेशको निर्वाचन तथा एमाले र माओवादीबीचको चुनावी तालमेलको बारेमा छोटो कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंश उनकै शव्दमा
–आज शनिबारदेखि संसदको अन्त्य भएको छ । संसद्को अन्त्य भएकाले आजैदेखि वर्तमान सरकार कामचलाउ सरकारमा परिणत भएको छ । यसले दीर्घकालीन महत्व राख्ने नीति तय गर्न सक्दैन । यो सरकारको काम भनेको अब मुलुकको दैनिक प्रशासन चलाउने, शान्ति सुरक्षा कायम गर्ने र निर्वाचन गर्ने मात्रै हो । कामचलाउ भइसकेकाले यो सरकार अब दायाँ बायाँ जान सक्दैन ।
–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकार विस्तार गर्न मिल्दैनथ्यो । उनले यसअघि पनि सरकार बिस्तार गरेका थिए, जसमा निर्वाचन आयोगले असन्तुष्टि जनाइसकेको अवस्था छ । तर उनले फेरी मन्त्रिपरिषद बिस्तार गरेका छन्, यो हुनै नहुने काम हो । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा ल्याएर गलत काम गरेका हुन् । उनले चुनाव जित्नका लागि थापालाई सरकारमा ल्याएका हुन् । वास्तवमा उनले जे गरे, गलत काम गरे ।
–संसदको अन्त्यसँगै देउवा सरकार काम चलाउ भइसकेकाले अब निर्वाचन हुँदैन भनेर आशंका गर्नुपर्न म देख्दिन । वास्तवमा साँचो कुरा के हो भने संसद अन्त्य भएकाले निर्वाचन हुन्छ हुँदैन भनेर बहस गर्नु नै ठीक होइन । किनभने, देउवा सरकार काम चलाउ भइसकेकाले यो सरकारले अब निर्वाचन सार्नै सक्दैन । बरु हिजो संसद भएको अवस्थामा सक्थ्यो । अर्काे कुरा, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि निर्वाचनको पक्षमा छ । त्यसैले कोही पनि निर्वाचनबाट भाग्न सक्ने अवस्था छैन ।
–वास्तवमा अहिले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित चुनावपछि पार्टी एकीकरणको जुन कुरा चर्चामा छ, यो समयको माग हो । यो वामपन्थी तालमेललाई हिजोको कम्युनिष्ट पार्टीको आँखाले हेर्न मिल्दैन । यो परिस्थितिको उपज हो । यसलाई अन्यथा लिनु हुँदैन । यसलाई सकारात्मक रुपमा हेर्नु पर्छ । तर एकीकरण सजिलो छैन । राजनीतिक स्थिरता ल्याउने हो भने एकीकरण जरुरी छ । समान विचार र कार्यक्रम रहेका दलहरु धु्रवीकरण हुन जरुरी छ । लोकतन्त्रको निम्ति यो हितकारी पनि छ ।
Biswakant Mainali