एमाले र माओवादी गठबन्धन नेपालको कम्युनिस्ट आन्दोलनलाई दागबत्ती दिने दुस्साहस हो
जागृत रायमाझी
अहिलेसम्मको मेरो सामाजिक र राजनैतिक परिचय अहिलेको माओवादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, विगत ३ वर्षदेखि म पार्टीको कुन कमिटीमा, कुन हैसियतमा छु मलाई नै थाहा छैन । यसर्थ, पार्टीको बैठक, कार्यक्रम या अभियानमा प्रायसः म गयल नै छु । सञ्चारमाध्यम र फेसबुकले मलाई पार्टीसँग जीवन्त चाहिँ जरुर बनाइरहेको छ । जुन जिम्मेवारी यो अवधीमा पाएँ आफ्नो क्षमताअनुसार पूरा गर्न प्रयास गरेँ । सकें भने सकिन समीक्षा गर्दै जाऔंला । पार्टीमा सक्रिय हजारौं साथीहरुले गरेको अथाह मेहनत देख्दा आफूले पार्टीको खास जिम्मेवारी नपाउँदा पनि यो अवधीमा म औधी सन्तुष्ट छु । सायद ! थुप्रै सिनियर, समकालीन र नयाँ युवा साथीहरुको खटाईले पार्टीलाई मसहित अरु थुप्रैको भूमिकाको खास आवश्यकता परेन ।
यही दौरानमा पार्टीले एमालेसँग एकताको सरप्राइज निर्णय गरेको छ । प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि जाने सन्दर्भमा प्याकेजमा चुनावी तालमेलसम्म गर्ने कुरा नाजायज थिएन । तर, एकले अर्कालाई प्रतिक्रियावादी, उग्रवामपन्थी, राष्ट्रघाती, मण्डले राष्ट्रवादी, लम्पसारवादी, आतंककारी जस्ता संगीन आरोप लगाइरहेका पार्टीहरुबीच बिना कुनै आत्मसमिक्षा, बिना कुनै बैचारिक बहस एकाएक पार्टी एकताकै निर्णय गर्नु मलाई न प्राकृतिक लागेको छ न जायज नै । अझ दुई तीन जना नेताको लहडमा षड्यन्त्रकारी कार्यशैलीमा पहिला निर्णय गरेर मुन्टो हल्लाउन लगाउने शैली कत्ति पनि सही लागेको छैन ।
पहिलो कुरा,
एकीकृत पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन । यो एउटा सामाजिक लोकतान्त्रिक पार्टी बन्छ भन्ने लाग्छ । किनकी, यो कुनै सिद्धान्तनिस्ठ पार्टी एकता होइन ।
दोश्रो,
यो पार्टीले वैज्ञानिक समाजवादलाई आफ्नो लक्ष्य बनाउन सक्दैन । यसले समाजवादलाई नारा र आवरणमा बिक्री मात्रै गर्छ ।
तेस्रो,
स्थीर सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुधारका केही प्रयत्नहरु यो एकतापछि सम्भव हुनसक्ला । तर, ती सबै संसदीय लोकतन्त्रकै गुणचरित्र हुन् न कि क्रान्तिकारी ।
चौथो,
बल प्रयोग, सर्वहारा अधिनाकत्व र वर्ग संघर्ष जस्ता माक्र्सवादका आधारभूत सिद्धान्तबाट यो पार्टीले सम्बन्ध विच्छेद नै गर्छ । सारमा यो पार्टी माक्र्सवादी पार्टी रहन्न ।
पाचौं,
स्थानीय निर्वाचनको परिणामपछि खासगरी सत्तामा जान नमिली नहुने स्थितिको दबाबमा यो एकता भएको देखिन्छ न कि दीर्घकालीन रणनीतिका लागि ।
छैठौं,
कतिपय शीर्ष नेताहरु नै निर्वाचनमा पराजित हुने सम्भावनाका कारण यो निर्णयमा गएको देखिन्छ ।
सातौं,
सत्तालिप्सा, सुविधा आचरण र शक्तिमुखी चिन्तनका कारण नेतृत्व यो निर्णयमा पुग्यो भन्ने लाग्छ ।
आठौं,
यो एकता संसदवादकै उनन्नयन, विकास या नवीकरण हो भन्ने लाग्छ ।
मित्रहरु !
म आलोचनात्मक चेतसहित आफूलाई लागेको ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ भन्ने ठान्दछु र भन्दै आइरहेको छु । चाहे ठीक गर्ने मेरो दुष्मन किन नहोस् या बेठीक गर्ने मित्र । मेरो पार्टीको हात्ती नेता होस या मेरो आफ्नै बाउ । पार्टीको यो निर्णय मलाई ठीक लागेको छैन मात्र होइन नेपालको कम्युनिस्ट आन्दोलनलाई दागबत्ती दिने दुस्साहस हो भन्ने लाग्छ । मलाई लागेको कुरा मेरो दृष्टिदोष होस, इतिहासले संकीर्ण सिद्द गरोस्, मलाई गलत सावित गरोस्, मेरो शुभेच्छा नै छ ।
मित्रहरु !
मलाई माक्र्सवादको वैज्ञानिकता र सत्यतामा दृढ विश्वास छ । यो पृथ्वीमा मानव जातिका लागि वैज्ञानिक समाजवादको म विकल्प देख्दिँन । आफूलाई लागेको त्यो निर्विकल्प यात्रा आफू लागेको पार्टीले तय गरेको पार्टी एकताको बाटोबाट म सम्भव देख्दिन । यसर्थ, यो निर्णय प्रक्रियामा मेरो निर्णायक संघर्ष नै रहन्छ ।
मित्रहरु !
पद र प्रतिष्ठाको लागि कमण्डलु बोकेर मुखियाकहाँ जीवनभर धाइएन । यो जुनीमा धाउन पनि नपरोस् । चाप्लुसीको भाषा बोल्न लेख्न परेन । यो जुनीमा अब नपरोस् । कमण्डलु बोकेर मुखियाकहाँ धाउने जीवन भन्दा साँच्चैको जोगी जीवन धेरै उत्कृष्ट लाग्छ मलाई । न मलाई कहिल्यै कृष्ण मन प¥यो, न कृष्ण भजन । भजन गाउन, लेख्न र सिकाउन जानिएन, जान्ने प्रयत्न पनि गरिएन ।
पार्टी जीवनमा जोडिएका थुप्रै साथीहरुसँग लामोछोटो, गहिरो, औपचारिक, भावनात्मक, तीतोमीठो, चीसोतातो सम्बन्धहरु हुनेरहेछ । स्वार्थ, स्वभाव, संघर्ष, सहयोग, मनोदशा आदिका कारण बेलाबेला सम्बन्धहरु चिसो तातो भइरहने रहेछन् । सम्बन्धहरुको उतारचढावमा आफ्नो दोषको हिस्सा लिन मलाई ग्लानी हुने छैन । तर, कुनै पनि मित्रसँग मेरो एक ईन्च पूर्वाग्रह भने छैन । चाहे पार्टी जीवनमा मलाई देखिनसहने होस् या औधी माया गर्ने ।
साथीहरु !
आजसम्म आफूलाई लागेको सत्यको खोज र सत्यको यात्रामा दृढतापूर्वक हिंड्ने आफ्नो बानीलाई परित्याग गर्न सकिएन । त्यसकारण आफ्नो आयुको बाँकी समय आफूलाई लागेको सत्यमा नै बिताउने संकल्प झनझन बलियो हुँदै गएको छ । त्यसकारण संसदवादको दलदलमा पार्टी जाकिँदा त्यो सँगै जाने या डिलमा बसेर टुलुटुलु हेर्न सकिरहेको छैन । सायद ! निर्मल लामा, रुपचन्द्र बिष्ट र हजारौं सहिदहरुको डरले पनि मलाई तर्सायो की !
नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभेच्छुक जुनसुकै स्थान मलाई मञ्जुर छ । तर, कम्युनिस्ट पार्टीको । त्यसकारण हेर्दै जाऔं ! कैँयौ साथीहरुसँग पार्टी एउटै हुन सक्ला नसक्ला । बाटो उस्तै होला नहोला । बाटो कस्तो ? विचार के ?? यात्रा कसरी ?? हिमालबाट बग्ने नदी जस्तै स्वस्थ बहस गर्दै गरौंला । सम्बन्ध चिसो तातो पनि होला । तर, उही पृथ्वी र प्रकृतिसँग हामीलाई कस्ले छुटाओस् । आजलाई यति ।।
मित्रहरु !
विज्ञान र प्रविधीको आजको युगमा फेसबुक लगायत सामजिक सञ्जाल र सञ्चारमाध्यमहरु विज्ञानप्रविधिको उपहारको रुपमा आएका छन् । यसको सदुपयोग गर्दा लाग्ने फेसबुके आरोप सहर्ष स्वीकार गर्नु बुद्दिमानी होला । जेहोस ! ह्वात्तै परसम्म, छिनमै धेरैसँग आफ्नो कुरा पु¥याउन सहयोग गर्ने फेसबुक र जुकरबर्गलाई चाहिँ एक थान धन्यवाद !
असोज २८, ०७४