राजनीति

केपी ओलीका ११ उखाने कटाक्ष, जुन सम्झिदा माओवादीको रगत अहिले पनि उम्लन्छ

केपी ओलीका ११ उखाने कटाक्ष, जुन सम्झिदा माओवादीको रगत अहिले पनि उम्लन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली जुन बेला एमाले स्थायी समितिको सदस्य मात्रै थिए, त्यो बेलादेखि नै उनले माओवादीविरुद्ध गर्ने कटाक्ष चर्चित थिए । एमाले अध्यक्ष बनेपछि उनी प्रधानमन्त्री नै भए । उनको कार्यकाल जनताबीच लोकप्रिय पनि थियो । त्यसैबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको कुर्सी ढालेर आफै प्रधानमन्त्री भए । त्यसपछि त ओली फेरि आक्रामक बने ।

अहिले त यी दुई नेता र पार्टीको चुनावी एकता मात्रै होइन, दलीय एकताकै कुरा अगाडि आएको छ । दुई दलबीच भएको छ बुँदे सहमतिमै एकले अर्काको आलोचना नगर्ने भनिएका कारण तै चुप मै चुपको अवस्था सिर्जना भएको छ ।

तर पनि केपी ओलीले माओवादी र माओवादीका नेता कार्यकर्ताबिरुद्ध बोलेका बोली एकपटक पुनः पढ्न र सम्झन लायक छन् ।

१. हावा भरिएको बेलुनजस्तो आकारमात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुकमांगद नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो । माओवादी छातेच्याउमात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।

२. वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रुख बनेपछि वनमारा आँफै खुइदिएर जान्छ ।

३. झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुलली भनिँदैन । झुसिले झुसिले हो, पुलती पुतली नै हो । हामी पुतली बनाए छोड्छौँ । पुतली बनाएपछि पुतली भनौँला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौँ भनेर उग्रवामपन्धी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रुपान्तरण गरेर वामपन्थी बनाउन सक्छौँ, त्यही दिन वामपन्थी भनौँला । हाललाई माओवादी वामपन्थी होइन ।

४. दुई माना दुध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी । दुई मानालाई एक पाथीको भ्रम परेको छ ।

५. हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।

६. सिनेमा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकतिर, हिरोइन अर्कै्तिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध यस्तै भयो ।

७. गोरु नाँगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।

८. खहरे आएका बेला ढुंगामुढा सबै बगाउँछ । खहरेको प्रभावमा परेर गरेको निर्णय गलत लाग्यो भने जनताले सच्याउँछन् । यो ‘जनकरेक्सन’ हो ।

९. माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ?

१०. गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमाले जस्तो पार्टीलाई अरुले गालामा चड्याम्म हान्छ, अनि ‘कस्तो दुख्नेगरी हानेको सहन्नँ है म’ भन्या छ ।

११. संविधानसभामा वामपन्थीको दुईतिहाइ बहुमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी प¥या छ । त्यसमाथि त्यहीँ बाँदरा पल्क्या छ । काकाको खेतमा धान फल्यो भनेर खुशी हुने ?

कांग्रेस मधेसवादीविरुद्धको कटाक्ष

–हामी नेपालीहरुमा नकारात्मक सोच छ । रुखमा दुई–तीनवटा आँप झर्यो भने बगैँचा नै रित्तियो भन्छौँ । वास्तवमा केही मात्र झरेका हुन्छन् । त्यसले केही फरक पर्दैन ।

 

– उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो ? मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो । सांसदको भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो ।

–अझै पनि कांग्रेस सरकारमा आउने हो भने मन्त्री घटाउन सकिन्छ । सानो मन्त्री मण्डल बनाऔँला । बेलायत, युरोपतिर उत्कृष्ट कहलिएका व्यक्तिहरु छन् क्यार ।

–बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ, त्यसलाई मिलाएर मोर्चा बनाइएको छ ।

–नेवारी भाषामा एउटा उखान छ – ‘माकः फुइँ (बाँदरले फुर्ती लगाउने)’ भन्ने, त्यस्तै हो । बाँदरले हाँगा हल्लाउँदा रुख त हल्लिन्छ, तर यसपटक रुख (संविधानसभा) भाँच्ने सामथ्र्य राख्दैन । त्यहाँ एमाले बलियो शक्तिका रुपमा छ । यो संविधानसभाले संविधान जारी गर्छ ।

–झापामै बस्ने जनता चुप छन, कञ्चनपुरबाट जितेको प्रतिनिधि चुप लागेर बसेको छ । अन्तैबाट कोही आउँछ र ‘झापा त छाड्दै छाड्दिँन, कञ्चनपुर त छाड्दै छाड्दिँन’ भन्छ ।

–जनता त्यति नबुझ्ने छैनन् । को संविधान बनाउन लागेको थियो, को बन्नै नदिन लागेको थियो भन्ने बुझ्छन् । गोलो घोचेर बिच्केको अरिंगाल त होइनन् नि जनता, जसलाई पायो त्यसलाई चिल्ने ।

–झुम्रा, कागज र अरु मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।

–एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहूँ खोज्यो भने के गर्ने ? मधेशको माग भनेको त्यस्तै हो ।

विशेष