राजनीति

भरतपुरमा षडयन्त्रपूर्वक हारेको सजिलै बिर्सेर प्रचण्डलाई एमालेले सहयोग गर्ला ?

भरतपुरमा षडयन्त्रपूर्वक हारेको सजिलै बिर्सेर प्रचण्डलाई एमालेले सहयोग गर्ला ?

काठमाडौं । चितवनबाट चुनाव लड्ने मनस्थिति बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिल्लाकै एमाले नेता कार्यकर्ताले अप्ठ्यारोमा पार्न थालेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने प्रयासमा रहेका प्रचण्डलाई स्थानीय एमाले नेताहरुले रोक्ने प्रयास गरिरहेका छन् । हालको क्षेत्र नम्बर २ बाट ७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले चुनाव जितेका थिए ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर २ को जम्मा एउटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । एमालेले १७ र नेपाली कांग्रेसले १० वटा वडा जितेको छ । माओवादी र कांग्रेसको मिल्दा पनि एमाले क्षेत्र नम्बर २ मा धेरै अगाडि छ । विगतको मत परिणामलाई आधार बनाउँदा चितवनमा क्षेत्र नम्बर २ एमालेका लागि सबैभन्दा सजिलो क्षेत्र हो । यो क्षेत्रबाट विगतका विजेता कृष्णभक्त पोख्रेल यसपटक पनि उठ्ने योजनामा छन् ।
तर नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर २ प्रचण्ड र क्षेत्र नम्बर १ रामबहादुर थापा ‘बादल’का लागि मागिरहेका छ ।

चितवनमा पुरानो निर्वाचन क्षेत्र अनुशार पाँच वटा थिए । हाल तीन वटा निर्वाचन क्षेत्र छन् । तीन नम्बर क्षेत्र भनेको पहिलोको चार र पाँचका केही भागहरु मिलेर बनेको नयाँ क्षेत्र हो । जसअनुशार अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रामकृष्ण घिमिरे र क्षेत्र नम्बर ५ मा राप्रपाका विक्रम पाण्डेले चुनाव जितेका थिए ।

क्षेत्र नम्बर १ र २ मा माओवादीले दावी गरेको छ । तर यी दुई निर्वाचन क्षेत्र माओवादीलाई दिनु वैज्ञानिक नहुने चितवनका एमाले अध्यक्ष समेत रहेका निवर्तमान सांसद कृष्णभक्त पोख्रेल बताउँछन् । उनी भन्छन्, ‘क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डेले जित्नु हुन्छ । क्षेत्र नम्बर २ मा साढे १२ हजार मतले एमाले अगाडि छ । क्षेत्र नम्बर ३ मा कमरेड प्रचण्डलाई जिताउन हामी तयार छौं ।’

नेकपा एमालेको आन्तरिक विश्लेषण अनुशार मुलुकभरका १६५ क्षेत्रमध्ये १७ क्षेत्रमा माओवादीले जित्ने आँकलन गरेको थियो । पछिल्लो समझदारीअनुशार ४० प्रतिशत सिट माओवादीलाई र ६० प्रतिशत एमालेले पाउने भनिएको छ ।

अहिले टिकट बाँडफाँड गर्दा जसले जुन क्षेत्रमा जित्ने सम्भावना छ उसले त्यही क्षेत्रमा चुनाव लड्ने रणनीति एमालेले बनाएको छ । तर माओवादीको रणनीति यस्तो छैन । एमाओवादी बलियो भएको क्षेत्र कम छन् । एमाले जहाँ बलियो छ त्यहीबाट माओवादी नेताहरु चुनाव लड्न इच्छुक छन् ।

यता नेपाली कांग्रेस र राप्रपाले पनि चितनवमा चुनावी तालमेल गर्ने सम्भावना छ । चितवनमा मधेसी दलहरुको खास प्रभाव नभएकोले उनीहरुसँग तालमेल हुने सम्भावना कम छ । एमाले र माओवादीको मत जोड्दा तीनै क्षेत्रमा कांग्रेस समस्यामा पर्ने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको फाइदा कांग्रेसले लिने सम्भावना पनि छ ।

विशेष