राजनीति

यी हुन् नारायणकाजी र बाबुरामसँग भिड्ने गोरखाका विवेकशिल साझा पार्टीका उम्मेदवार

यी हुन् नारायणकाजी र बाबुरामसँग भिड्ने गोरखाका विवेकशिल साझा पार्टीका उम्मेदवार

गोरखा । आगामी मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि विवेकशिल साझा पार्टीले गोरखामा पनि उम्मेदवारी घोषणा गरेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट अमृत पुडासैनी र २ बाट नवराज थापा उम्मेदवार बन्ने निश्चित भएको बताइएको छ । गोरखामा नेपाली काँग्रेस–नयाँ शक्ति र नेकपा एमाले–माओवादी केन्द्रबीच चुनावी तालमेल भइरहेको बेला विवेकशिल साझाले समेत आफ्नो उम्मेदवारी घोषणा गरेको हो । विवेकशिल साझाले भने कुनै पार्टीसँग तालमेल नगरी एकल उम्मेदवार उभ्याएको हो ।

गोरखा १ मा विवेकशिल साझाका तर्फबाट अमृत पुडासैनीले नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरी अधिकारीसँग प्रतिस्पर्धा गर्नेछन् भने गोरखा २ मा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालका साझा उम्मेदवार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी एमाले गठबन्धनबाट माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग नवराज थापा प्रतिस्पर्धामा उत्रेका छन् ।

युवा नेतृत्व, दूरदर्शिता र ईमान्दारिताको लागि उम्मेदवारी दिएको गोरखा २ का उम्मेदवार नवराज थापाले भनेका छन् । आफ्नो उम्मेदवारी अरुका बिरुद्ध नभई जनताको पक्षका निम्ति भएको थापाको भनाइ छ । यस्तै गोरखा १ का उम्मेदवार अमृत पुडासैनीले भने भ्रष्टाचार, कुसंस्कृति र माफियातन्त्रको बिरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् । इमान्दारी, उद्यमशील र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

विशेष