बाबुरामको नेतृत्वमा समृद्धि आउँदैन : नारायणकाजी
गोरखा, कात्तिक ६ । गोरखा–२ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईको नेतृत्वमा देशमा समृद्धि नआउने दाबी गरेका छन् ।
श्रेष्ठ र भट्टराई गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । गोरखा–२ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पस्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभइ पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले जानकारी दिए । पर्यटन, शिक्षा, जडिबुटी व्यवस्थापन गर्दै गोरखालाई विकासमा नमुना जिल्ला बनाउने दाबी श्रेष्ठले गरे ।
सदरमुकाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने–‘बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौं भनेर सहभागी गराएका थियौं । उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।’
Narayan Kaji Shrestha