राजनीति

यी हुन् ३२ जिल्लाका उम्मेदवारहरु, ३२ लाख मतदाताले मतदान गर्दै छन्

यी हुन् ३२ जिल्लाका उम्मेदवारहरु, ३२ लाख मतदाताले मतदान गर्दै छन्

काठमाडौं । मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार दलहरूले उत्साहजनक ढंगले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार चयनमा दलहरूले केही ढिला गर्दा मनोनयन साँझसम्म पनि चलेको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

निर्धारित समयमा निर्वाचन कार्यालय पुगेका दललाई साँझसम्म मनोनयन गर्ने व्यवस्था मिलाइएको थियो ।प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

आयोगका अनुसार १ सय ११ सिटका लागि ८ सय २ उम्मेदवारले उम्मेदवारी दिएका छन् । राजनीतिक दलले चुनावी तालमेल गरेका कारण उम्मेदवारको संख्या कम भएको आयोगका प्रवक्ता नवराज ढकालले अन्नपूर्णलाई बताए । उम्मेदवारको संख्या कम हँुदा मतपत्रको डिजाइन र छपाइमा पनि सहज हुने उनले सुनाए । मनोनयन दर्ता गरेका उम्मेदवारलाई कात्तिक ८ मा निर्वाचन चिह्न वितरण गरिनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले समानुपातिक तथा प्रत्यक्षतर्फ ३२ जिल्लाका लागि मनोनयन दर्ता भएसँगै संघीय संसद् र प्रदेश सभा निर्माण प्रक्रिया सुरु भएको र संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढेको बताए । मनोनयनपत्र दर्तासँगै सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू भएको जनाउँदै आचारसंहिता पालना गरी निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन आयोगले आग्रह गरेको छ ।

आयोगले आइतबार ७७ जिल्लालाई लिखित निर्देशन दिँदै निर्वाचन चिह्न अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्री उत्पादन, विक्री वितरण र प्रदर्शन गर्न निषेध गरेको छ ।

प्रचार सामग्री प्रयोग गरेको पाइए ती मग्री जफत गरी निर्वाचन आचारसंहिता उल्लंघनमा दोषी ठहर गरी कारबाही गरिने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।

आयोगले महिला, दलित, अल्पसंख्यक समुदाय, आर्थिक रूपले विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुट गरेको छ । प्रतिनिधिसभातर्फ १० हजार र प्रदेशसभातर्फ ५ हजार रुपैयाँ उम्मेदवारले धरौटी राख्नुपर्छ । पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाताले मताधिकार प्रयोग गर्र्नेछन् ।

समानुपातिकतर्फ आवश्यक सात प्रकारका एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा आइतबारसम्म एक करोड १२ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने एक करोड ७४ लाख मतपत्रको छपाइ ८ कात्तिकदेखि सुरु गरिनेछ ।

अन्नपूर्ण 

विशेष