राजनीति

पहिलो चरणको चुनावका लागि ८०२ जनाको उम्मेदवारी, यस्तो छ उम्मेदवारी खारेजको व्यवस्था

पहिलो चरणको चुनावका लागि ८०२ जनाको उम्मेदवारी, यस्तो छ उम्मेदवारी खारेजको व्यवस्था

काठमाडौँ । संविधान जारी भएपछि हुन लागेको पहिलो आमचुनावका लागि आइतबार ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ सिट तथा प्रदेशका ७४ सिटमा उम्मेदवारी दर्ता गरिएको छ ।

निर्वाचन आयोगले पहिलो चरणका लागि भएको उम्मेदवारी दर्ता शान्तिपूर्ण र उत्साहजनक भएको जानकारी दिएको छ । मङ्सिर १० गते पहिलो चरणमा उच्च पहाडी र हिमाली जिल्लामा चुनाव हुँदैछ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र जेईओसीमा आइतबार रातिसम्म प्रतिनिधिसभा सदस्यका लागि ३२० जना र प्रदेशसभा सदस्यका लागि ४८२ जना गरी ८०२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताए ।

उनले नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सङ्घीय संसद् र प्रदेशसभा गठनको प्रक्रिया सुरु भएकाले यो निर्वाचन ऐतिहासिक रहेको बताए । उम्मेदवारी दर्ता गर्दा महिला, दलित वा अल्पसंंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको थियो ।

प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये ७४ वटा निर्वाचन क्षेत्रका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो ।

आइतबार उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअन्ुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजु्री जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।

पहिलो चरणमा ३२ जिल्लामा चुनाव

पहिलो चरणको निर्वाचन ३२ जिल्लामा हुँदैछ । आइतबार मनोनयन भएका जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप छन् ।

त्यसैगरी मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा पनि शान्तिपूर्ण मनोनयन सम्पन्न भएको छ ।

सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशका ३२ जिल्लामा निर्वाचन हुन लागेको हो । अन्य ४५ जिल्लामा भने मङ्सिर २१ गते निर्वाचन हुँदैछ ।

दोहोरो उम्मेदवारी खारेज

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । उम्मेदवारले त्यस्तो प्रमाण पेस नगरे उम्मेदवारी रद्द हुने उनले बताए ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ ।

एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।

मतपत्र पनि छापिए

निर्वाचन आयोगले छोटो समयमा सबै तयारी गर्नु परेका कारण मतपत्र छपाइलाई पनि तीव्रता दिएको छ । समानुपातिकतर्फ एक करोड ७४ लाख मतपत्र छपाइ गर्नुपर्नेमा आइतबारसम्म एक करोड १२ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । प्रमुख निर्वाचन आयुक्त डा यादवले मतपत्र छपाइ समयतालिकाअनुरूप भइरहेको स्पष्ट पारे ।

समिति गठन

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतपत्र छुट्टाछुट्टै छाप्ने विषयमा आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

सर्वोच्च अदालतको कात्तिक १ गतेको आदेशको सम्मान गर्दै आयोगले समिति गठन गरेको जानकारी प्रवक्ता नवराज ढकालले दिए ।  कात्तिक ३ गते गठित समितिले आइतबार साँझ नै प्रमुख निर्वाचन आयुक्त डा यादवसमक्ष प्रतिवेदन पेस गरेको जानकारी आयोगले दिएको छ । आयोगले प्रत्यक्षतर्फ माथिल्लो भागमा मतपत्र १ भनी प्रतिनिधिसभाको र मतपत्र २ भनी तल्लो खण्डमा प्रदेशसभाको मतपत्र छपाइ गर्ने गरी प्रक्रिया अगाडि बढाएको थियो ।

विशेष