राजनीति

यस्तो छ पहिलो चरण निर्वाचनको रोचक प्रतिस्पर्धा, सहयोद्धादेखि विद्यार्थी साथीसम्म

यस्तो छ पहिलो चरण निर्वाचनको रोचक प्रतिस्पर्धा, सहयोद्धादेखि विद्यार्थी साथीसम्म

काठमाडौैं । नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको उम्मेदवारी दर्ताका आधारमा हेर्दा ती जिल्लाका केही निर्वाचन क्षेत्रमा मुलुकभरकै मतदातालाई आकर्षित गर्ने खालको प्रतिस्पर्धा हुने देखिएको हो ।

गोरखा क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धालाई आमरुपमा रोचक प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

नेकपा माओवादी केन्द्र परित्याग गरेका डा भट्टराई पछिल्लोपटक नेकपा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा सहभागी भएका छन् । गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा टिकट नपाएपछि नेपाली काँग्रेससँग चुनावी तालमेल गरेका भट्टराई र वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ विगतमा एकै पार्टीका नेताका रुपमा थिए ।

उम्मेदवारी दर्ता गराएपछि दुवै नेताले आफैँले नै निर्वाचनमा विजयी हुने दाबी गरेका छन् । डा भट्टराईले गोरखाको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताइरहँदा वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले गोरखाको जनमत सधैँ प्रगतिशील र परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित निश्चित रहेको बताउछन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट निर्वाचित ुभएका भट्टराई र मकवानपुर क्षेत्र नं २ बाट पराजित श्रेष्ठ यसपटक एकै निर्वाचन क्षेत्रकाट चुनाव लड्न लागेका हुन् ।

यस्तै ओखलढुंगाका दुई युवा नेता रामहरि खतिवडा र यज्ञराज सुनुवार यसपटक आमनेसामने भएका छन् । खतिवडा काँग्रेसका तर्फबाट उम्मेदवार हुन् भने सुनुवार वाम गठबन्धनको संयुक्त उम्मेदवारका रुपमा छन् ।

उता सिन्धुपाल्चोक–२ मा पनि यस्तै रोचक प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनका संयुक्त उम्मेदरवार पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा विगतमा जस्तै यसपटक पनि आमनेसामने हुन लागेका छन् ।  राणा संविधानसभाको दोस्रो निर्वाचनमा शेरधन तामाङसँग पराजित भएका हुन् ।

सोही जिल्लाको क्षेत्र नं १ मा वर्तमान सरकारका प्रवक्तासमेत रहेका मोहनबहादुर बस्नेत पनि चुनावी मैदानमा छन् । यस्तै नुवाकोटमा पनि यसअघि दुईपटकसँगै चुनावी प्रतिस्पर्धा गरेका पूर्वअर्थमन्त्री डा रामशरण महत र हितबहादुर तामाङले तेस्रोपटक सँगै उम्मेदवारी दर्ता गराएका छन् । नुवाकोट क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धामा डा महत काँग्रेसका तर्फबाट उम्मेदवार हुन भने तामाङ वाम गठबन्धनको साझा उम्मेदवार हुन् । नुवाकोट क्षेत्र नं २ मा काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी र एमालेका तर्फबाट उम्मेदवार रहेका नारायणप्रसाद खतिवडाको चुनावी प्रतिस्पर्धा पनि रोचकमध्येको एक हुने बताइन्छ ।


उता जाजरकोटमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र काँग्रेसका नेता राजीवविक्रम शाह, लमजुङमा वाम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ र काँग्रेसका उम्मेदवार दीलबहादुर घर्ती, पश्चिम रुकुममा विनाविभागीय मन्त्री जनार्दन शर्मा र लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधि सभा छाडेर प्रदेशसभामा

संविधानअनुसार पहिलोपटक स्थापना हुन लागेको प्रदेश सभामा विगतमा दुई-तीन पटक मन्त्री भइसकेका र राजनीतिमा ठूलै हैसियत बनाएका नेतासमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।

एमाले नेता राजेन्द्र पाण्डे प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्न्न्को । धादिङ क्षेत्र नं १ कबाट उम्मेदवार बनेका पाण्डे २०४८ को प्रतिनिधिसभा र २०७० को दोस्रो संविधानसभाको सभासद्मा निर्वाचित भएका थिए ।

सोही क्षेत्रबाट विगतमा प्रतिस्पर्धी रहेका पाण्डे र नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टल यसपटक प्रदेश सभामा उम्मेदवार छन्। विसं २०६४ को संविधान सभामा निर्वाचित सभासद् जमरकट्टेल धादिङ क्षेत्र नं १ खबाट उम्मेदवार छन् ।

यस्तै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही पनि प्रदेश सभा सदस्यको उम्मेदवार छन् । कालीकोटबाट दोस्रो संविधान सभामा निर्वाचित शाही यसपटक कालीकोट खबाट प्रदेश सभाको उम्मेदवार बनेका हुन् ।

पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राई भोजपुर ख, पूर्वविद्यार्थी नेता राजेन्द्र राई भोजपुर क, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही हुम्ला ख, पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङ लम्जुङ खबाट उम्मेदवार बनेका छन् ।

पूर्वसभासद नरेश भण्डारी जुम्ला ख, २०५१ को प्रतिनिधि सभामा निर्वाचित सांसद दीपकजंग शाह पनि यसपटक जाजरकोट खबाट उम्मेदवार बनेका हुन् ।

विशेष