राजनीति

चितवनबाट उठ्ने घोषणा गरेका प्रचण्ड बर्दियाबाट उठ्दै, रोचक छ कारण

चितवनबाट उठ्ने घोषणा गरेका प्रचण्ड बर्दियाबाट उठ्दै, रोचक छ कारण

प्रचण्ड प्रधानमन्त्री थिए । स्थानीय तहको निर्वाचनको माहोल थियो । स्थानीय निर्वाचनलगत्तै प्रतिनिधिसभा र प्रदेशको निर्वाचन अनिवार्य थियो । यही मेसोमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई बर्दियाबाट उम्मेदवार बनाउने कसरत शुरु भयो । माओवादी सबैभन्दा बलियो रहेको जिल्ला बर्दियाबाट उम्मेदवार बन्दा प्रचण्डको जीतपनि निश्चित हुने र उनीमार्फत बर्दियाको बिकास हुने विश्वासका साथ सो अभियान थालिएको थियो ।
जनजाती, मधेशी बहुल क्षेत्रबाट प्रतिनिधि भइसकेका प्रचण्डले थारु बहुल क्षेत्रबाट प्रतिनिधित्व गर्दा राम्रै सन्देश जाने तर्क बलियो थियो ।

माओवादी जनयुद्धमा सबैभन्दा बढी बेपत्ता बर्दियाली पारिएका थिए र, ती मध्ये धेरै थारु समुदायबाट थिए । संविधान निर्माणका क्रममा थारु समुदायको भाबनामा ठेस पुगेकाले पनि प्रचण्डको उम्मेदवारीले मल्हम लगाउने तर्कपनि जोडिएको थियो । यी सबै तर्कसहित बर्दियाली नागरिक समाजका तर्फबाट थालिएको अभियानका बारेमा नेपाल आजले समाचार प्रकाशित गरेको थियो । लाजिम्पाटले उम्मेदवारीका बिषयमा ग्रिन सिग्नल दिएको बताइएको थियो ।

घटनाक्रम बिस्तारै मोडियो । काँग्रेसको सहयोगमा पुत्री रेणु भरतपुरको मेयर बनेपछि प्रचण्डको चितवन परीक्षण सफल भयो । उनले चितवनबाटै उम्मेदवार बन्ने घोषण गरे । मधेशमा निर्वाचन हुनै लाग्दा मधेशबाट संसदमा प्रतिनिधित्व गरिरहेका प्रचण्डले चितवनबाट उम्मेदवार बन्ने घोषणा नगरेको भए हुन्थ्यो भन्ने भाब पार्टी भित्र पैदा भयो । तर, प्रचण्ड चितवनको चुनावी तयारीमा लागिरहे । जिल्लाको बिकासका बारेमा अन्तरक्रियासमेत भ्याइहाले ।

पञ्च पाण्डेको भय

यसबीचमा घटनाक्रम बदलियो । काँग्रेससँगको प्रचण्ड सहबास बिच्छेद भयो । बाम गठबन्धन बन्यो । उता लोकतान्त्रिक गठबन्धन तयार भयो ।प्रचण्डसँग प्रतिष्प्रर्धा गर्न उत्रिने भए मन्त्री बिक्रम पाण्डे । राप्रपाबाट प्रत्यक्ष निर्वाचित पाण्डे काँग्रेससमेतको सहयोगमा उम्मेदवार बन्ने भएपछि प्रचण्डका लागि चितवन सहज नभएको निश्कर्ष निकाल्न थालिएको छ ।

पाण्डेले आफ्नै ब्यक्तिगत लगानीमा समेत आफ्नो निर्वाचन क्षेत्रमा विकासका गतिविधि गर्दै आएका छन् । निर्माण ब्यबसायी पाण्डेको ब्यक्तिगत लोकप्रियताका साथै व्यापारिक संजाल र शक्ति अर्को चुनौति बनेको छ । स्रोतका अनुसार पाण्डेले आफ्नो क्षेत्रमा चुनाव नलड्न प्रचण्डलाई सुझाइ सकेका छन् । आफुले जित्ने दाबी गर्दै प्रचण्डलाई अर्कै क्षेत्रमा जान सल्लाह दिएको बताइएको छ । प्रचण्डले पाण्डेलाई आफ्ना लागि सहयोग गर्न आग्रह गरेको पाण्डे निकट स्रोतले बतायो ।

लाजिम्पाट निकट स्रोतका अनुसार पाण्डेसँग जीत निश्चित नभइ प्रतिष्प्रर्धामा जान नहुने दबाब प्रचण्डमाथि छ । पञ्चसँग हारिहाल नाकमुख देखाउन नहुने भन्दै प्रचण्डलाई पाण्डेलाई रोक्ने वा अर्कै क्षेत्र रोज्ने दबाब परेको छ ।

यसअघि सिरहाबाट उम्मेदवार बन्दा प्रचण्डले संघीय समाजबादी फोरमबाट उम्मेदवार बन्न लागेका वीरेन्द्र महतोलाई दबाब दिएरै उम्मेदवार बन्नबाट रोकेका थिए । धनाढ्य उपेन्द्र महतोका भाइ वीरेन्द्रलाई दाइमार्फत उम्मेदवार नबन्न दबाब दिइएको बीरेन्द्रले सार्वजनिकरुपमा बताउने गर्दछन् । ब्यबसायमा अबरोध आउने भन्दै उपेन्द्रले भाइलाई थम्मथम्माइदिएका थिए । अहिले पाण्डे थामिने सम्भावना कम छ । किनकी उनी ठेकेदारमा मात्र सीमित छैनन्, दुई पटक मन्त्री समेत भएर राजनीतिक शक्ति हाशिल गरिसकेका छन् ।

सबैभन्दा ठूलो डर एमालेकै

चितवनका एमालेजनलाई परेकै छः आफुहरुले जितिसकेको मेयर प्रचण्डले फुत्काएर छोरीलाई सुम्पिदिए । बदला लिइ छाड्ने मेयरका पराजित उम्मेदवार देबी ज्ञवालीसहितको भिडियो मन्तब्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बाम गठबन्धनका उम्मेदवार भनिएपनि प्रचण्डलाई खतरा बाम भित्रैबाट देखिएको छ । एमालेको मत क्रस हुने सम्भावना धेरै रहेको बताइन्छ । चितवन एमालेले आन्तरिक छलफलमा केही सर्त अघि सारेको छ प्रचण्डका सामू । प्रमुख सर्त छः स्थानीय निकायको निर्वाचमा भएको एमालेजनकै शब्दमा छलकपटका लागि माफी माग्नुपर्ने चितवनबासीसँग । दोस्रो भाइ नारायण दाहाललगायतका पारिवारिकवृत्तलाई कम्तिमा पनि चुनावभर सँगै हिडाउन नहुँने ।

प्रचण्डलाई यथास्थितिमा पार्टीबाट सिंगोरुपमा सहयोग नहुने एमाले चितवनका एक नेताले नेपाल आजसँगको कुराकानीमा पोल खोले । ती नेताका अनुसार प्रचण्डका प्रति एमाले केन्द्रसमेत मनैदेखि सदभाबपूर्ण देखिएको छैन ।

काँग्रेस रिस फेर्ने दाउमा

काँग्रेसले प्रचण्डलाई देखाइदिने रणनीति लिएको छ । दुध खुवाएर राखेको सर्पले झैँ प्रचण्डले डसेको काँग्रेसजनको बुझाइ छ । काँग्रेसलाई पत्तासाप पार्ने योजनासहित बाम गठबन्धन गर्ने प्रचण्डलाई पत्तासाप पार्ने भन्दै चितवनका काँग्रेसजनले गफ चुट्ने गरेका छन् । उनीहरुले प्रचण्डलाई हराउन जे पनि गर्ने बताउने गरेका छन् । राप्रपाजस्तो संगठन नै नभएको पार्टीबाट एक्लै बिजयी हाशिल गरेका बिक्रम पाण्डेलाई आफूहरुले साथ दिएपछि प्रचण्ड हार्ने निश्चित रहेको काँग्रेसका एक नेताले बताए ।

बर्दिया माओवादीमा समस्या, सामाधान प्रचण्डको उम्मेदवारी

प्रचण्डलाई उम्मेदवार बनाउनु हिजो बर्दिया माओवादीको चाहना थियो, आज बाध्यता बन्न थालेको छ । बर्दियाबाट प्रतिनिधिसभामा को उम्मेदवार बन्ने भन्ने विषयमा माओवादीमा तीब्र बिबाद देखिएको छ । क्षेत्र नम्बर एकबाट बाम गठबन्धनका तर्फबाट बामदेब गौतम अहिलेसम्मका लागि निश्चित भइसकेका छन् । दुई माओवादीको भागमा परेको छ । दुईमा माओवादीका पूराना नेता तिलक शर्मालाई उम्मेदवारीका सवालमा सुरेश पन्तले टक्कर दिएका छन् । माओवादी आन्दोलनसँग अपरिचित भनिएका पन्तलाई उम्मेदवार बनाउन स्थानीय तहबाट प्रस्ताव यस्तो जोडतोडरुपमा आएको छ कि बर्दिया माओवादी तरंगित बनेको छ । माओवादी निकट शिक्षक संगठनका बर्दियाका नेता सुदिप पौडेलले तिलक शर्मालाई उम्मेदवार नबनाएर पन्त बनाइएमा सबै शिक्षकले बिद्रोह गर्ने भन्दै फेसबुकमा टिप्पणी लेखेका छन् । बर्दियाका दुई चर्चित थारु नेता मध्ये बिष्णु थारु समानुपातिक सुचीमा सूचीकृत भइसकेका छन् । 

त्यागी र इमान्दार नेताको छबी बनाएका थारु समानुपातिकमार्फत सांसद बन्ने निश्चितजस्तै छ । अर्का नेता सन्तराम चौधरी लगातार सांसद र पछिल्लो समय मन्त्रीसमेत भइसकेकाले उनले अरुलाई छाड्नुपर्ने बाध्यताजस्तै छ । सरसर्ती हेर्दा तिलक शर्माको नाम निर्विवाद हुनुपर्ने भएपनि किचलो यस्तो गरी बढेको छ की बिकल्पमा बुढा अर्थात प्रचण्डलाई नै उम्मेदवार बनाउन पाए टन्टा साफ हुने निश्कर्षमा बर्दियाका माओवादी नेताहरु पुगेका छन् ।
यस्तो निष्कर्षमा पुगेका बर्दियाली माओवादी नेताहरुले प्र्रचण्डलाई जीतको निश्चित खाकासहित लाजिम्पाटमा चुनावी हिसावकिताब बुझाएका छन् ।

एमाले नेता बामदेब गौतम उठ्ने भनेको एक नम्बर क्षेत्रमा प्रचण्डलाई उठ्न माओवादी बर्दियाले प्रस्ताव गरेको बताइएको छ । प्रचण्ड बर्दियाबाट उठेमा गौतमले सहजै ठाउँ छाड्ने संकेत दिएका छन् । प्रचण्ड नै जाने भएपछि आफू गृहजिल्ला प्युठान जान तयार रहेको जनाउ उनले दिइसकेका छन् । एमालेलाई क्षेत्र नम्बर दुई दिने र माओवादीले १ लिएर प्रचण्डलाई उम्मेदवार बनाउने गरी छलफल चलेको छ । प्रचण्डले हरियो बत्ति बालेको भन्दै माओवादी बर्दिया उत्साहित भएको एक नेताले बताए ।

विशेष