राजनीति

बाबुराम र नारायणकाजीको जुहारी

बाबुराम र नारायणकाजीको जुहारी

काठमाडौं । आफ्नो उम्मेदवारीलाई प्रतिष्ठासँग पनि जोडेर चुनावी प्रतिष्पर्धाको तयारी थालेका हुन् । छुट्टाछुट्टै पत्रकार सम्मेलन र सभा गरेर दुई नेताले एकअर्काको कटाक्ष गरेका छन् ।

सोमबार बिहानै निर्वाचन अधिकृतको कार्यालयले चुनावी छलफलको आयोजना गर्‍यो । उक्त कार्यक्रमको आकर्षण रहेका दुवै नेताले आपसमा हात मिलाए । खासै कुराकानी चाँहि गरेनन् । कार्यक्रमको गोलमेचमा दुवै एकअर्काका आमनेसामुन्ने बसेका थिए । उनीहरुले लगत्तै आलोपालो पत्रकार सम्मेलन डाके । आफ्नो जीत सुनिश्चित रहेको दाबी मात्रै गरेनन्, विपक्षी गठबन्धनको उछितो काढ्न पनि भ्याए । भट्टराइले पत्रकार सम्मेलन सकेलगत्तै श्रेष्ठले पनि राखेका थिए ।

भट्टराईले बामगठबन्धन सत्ता स्वार्थमा लागेको आरोप लगाए । एमाले–माओवादीको बाम गठबन्धन हुँदा उनी पनि सुत्राधारमध्येका थिए । पछि कुरा नमिलेपछि उनले बाहिरिएर कांग्रेसको समर्थन लिँदै उम्मेदवारी दर्ता गराएका हुन् ।

‘बामगठबन्धनभित्र एमाले र माओवादीमै लुछाचुँडी छ,’ उनले भने, ‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि सत्तामा को हावी हुने भन्ने तानातान बढी छ । चुनाव सकिएपछि एमाले–माओवादी आफ्नो आफ्नो बाटो लाग्छन् ।’ बामगठबन्धनले आफूलाई गोरखा २ बाट चुनावमा लड्न निषेध गर्न खोजेपछि आफ्नो कुरा नमिलेको खुलासा उनले गरे । ‘गोरखा २ मेरो जन्मथलो कर्मथलो हो । म यहाँबाट चुनाव उठ्नु स्वभाविक हो,’ उनले भने, ‘गोरखा २ बाट चुनाव लडन पाउदैनस् भनेर झमेला झिकियो ।’ यस्तै निषेधको जोडबलका कारण बामगठबन्धनमा टिक्न नसकेको उनले प्रष्ट पारे । बाम गठबन्धनबाट भट्टराईलाई टिकट नदिन श्रेष्ठलगायत माओवादी नेताहरुले जोडबल गरेको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ । गठबन्धनका नेताहरुले नयाँ शक्तिप्रति निषेधकारी नीति लिएपछि बाहिरिनु परेको उनले बताए । कांग्रेस र कम्युनिष्ट मिलेर मात्रै देशमा परिवर्तन सम्भव भएको भन्दै उनले आफ्नो चुनावी तालमेलको बचाउ गरे ।

भट्टराईले गठबन्धन लक्षित व्यंग्य गरेपनि माओवादी उम्मेदवार श्रेष्ठले भने व्यक्तिगत रुपमै कटाक्ष गरे । मनोनयन दर्ता गर्न आउँदा नै दुवै नेता शक्ति प्रदर्शन गर्दै मोटरसाइकल र्‍याली लिएर जिल्ला प्रवेश गरेका थिए । उम्मेदवारी दर्ता गरेर आयोजित सभामा श्रेष्ठले भट्टराईले कम्युनिष्ट पार्टी छाडेको र ढुलमुले भएको आरोप लगाए । ‘बामपन्थीहरुले चुनावबाट बहुमत ल्याएर स्थिर सरकार बनाउँछन, बावुरामले केहि गर्न सक्दैनन’, उनले भने, ‘उहाँको अस्थिर प्रवृत्ति छ, क्रान्ति छाडेर भाग्नु भयो ।’ भट्टराईले कांग्रेस सँग चुनावी तालमेल गरेर अपवित्र गठबन्धन सुरु गरेको उनले बताए । बामपन्थी गठबन्धनको सभा लगत्तै कांग्रेस नयाँ शक्तिले आयोजना गरेको सभामा भट्टराई र क्षेत्र नम्बर १ का कांग्रेस उमेद्वार चिनकाजी श्रेष्ठले बोलेका थिए । श्रेष्ठले कम्युनिष्ट अधिनायकबादबाट देशलाई जोगाउन नयाँ शक्ति सँग तालमेल गरेको भन्दै भट्टराईको बचाउ गरे ।

कार्यकर्ता तहमा पनि भट्टराईले ‘जनयुद्ध र सहिद’ लाई लत्याएर अलग बाटो रोजेको आरोप लाग्ने गरेको छ । नयाँ शक्ति कार्यकर्ताले श्रेष्ठ पनि असली कम्युनिष्ट नभएको र ‘जनयुद्ध’ पछि भाग खोज्न माओवादी आन्दोलनमा जोडिएको भन्दै कटाक्ष गर्ने गरेका छन् । भट्टराईले आफु प्रधानमन्त्री र अर्थमन्त्री हुँदा सुरु गरेको विकास निर्माणको कामलाई पूरा गर्न पुनस् जनप्रतिनिधि बन्न उमेद्वार बनेको दावी गरेका छन् ।

श्रेष्ठले भने विकास निर्माण सँगै जिल्लाको वामपन्थी बिरासतलाई कायम राख्न उमेद्वार बनेको तर्क गरे । उमेद्वार नेता बिच जुहारी पर्दै जाँदा राजनितिक शक्ति सन्तुलनका दृष्टिले जिल्ला शान्ति सुरक्षामा अति सम्बेदनशिल रहेको सुरक्षा प्रमुखहरुको विश्लेषण छ ।

कान्तिपुर

विशेष