राजनीति

वाम एकताले ल्याएको यो मिलन, एक अर्काका परम शत्रु अब सेल्फीमा

वाम एकताले ल्याएको यो मिलन, एक अर्काका परम शत्रु अब सेल्फीमा

काठमाडौैं । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताएको भोलिपल्ट रोचक संयोजक जुरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका उनलाई प्रचण्डले समेत भेटेका छन् । बुधबार ओलीलाई भेट्न बालकोट पुगेका ज्ञवाली र सोहि समयमा ओली निवास पुगेका प्रचण्डबीच पनि भेटवार्ता भएको थियो । भेटपछि प्रचण्डपुत्र प्रकाश दाहालले ज्ञवालीसँग लिएको तस्बिर फेसवुक मार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन, ‘बाम एकताले पैदा गरेको निकटता ।’

स्रोतका अनुसार बालकोटमा ओली–ज्ञवाली तथा ओली–प्रचण्ड र ज्ञवालीबीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटमा वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर–३ को उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डलाई जिताउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहालसँग प्रतिस्पर्धा गरेका उनी लामो तनावपछि अन्ततः मेयरमा पराजित भएका थिए । त्यतिबेला रेणु नेपाली कांग्रेससँगको गठबन्धनको समर्थनमा चुनाव लड्दा ज्ञवाली एक्लै चुनाव लडेका थिए । तर, वैशाख १४ गते मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो । पछि सर्वोच्च अदालतको आदेशपछि पुनः मतदान भइ रेणु विजयी भएकी थिइन् ।

रेणु विजयी भएसँगै एमाले–माओवादीबीच कटुसम्बन्ध रहेको तथा वाम गठबन्धनबाट प्रचण्ड चितवन क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेपछि एमालेको समर्थनमा आशंका उत्पन्न भइरहेको थियो । सामाजिक संजालमा अनेकौ टिप्पणी पनि भएका थिए ।

ज्ञवालीले प्रचण्डलाई जिताउनु आफ्नो जिम्मेवारी हुने भनि मंगलबार सामाजिक सञ्जालमार्फत आफनो धारणा बाहिर ल्याएका थिए । त्यसको भोलिपल्टै ओली निवासमा ज्ञवालीसँग प्रचण्डको भेट भएको हो । यसवारे प्रचण्ड र ओलीको सचिवालयबाट औपचारिक प्रतिक्रिया भने केही आएको छैन् ।

विशेष