राजनीति

डन सर्वसम्मत हुने, ज्वाईंलाई टिकटै दक्षिणा मिल्ने, लालबाबु उपत्यकामा उठ्न किन नपाउने ?

नारायण पौडेल

डन सर्वसम्मत हुने, ज्वाईंलाई टिकटै दक्षिणा मिल्ने, लालबाबु उपत्यकामा उठ्न किन नपाउने ?

कुनै मधेसीलाई पहाडबाट जिताएर देखाउन केपी ओलीलाई चुनौति दिने हृदेयश त्रिपाठी सूर्य चुनाव चिन्ह लिएर मैदानमा जाँदैछन् । तर, उनी पहाडबाट भिड्दै छैनन् । मधेश केन्द्रीत राजनीतिबाट बामपन्थी राजनीतिको संक्रमणकालीन यात्रामा रहेका भनिएका त्रिपाठीलाई एमालेले सूर्य चिन्ह त दियो, तर पहाड वा उपत्यका दिएन । वा, त्रिपाठी आफैंले आँट्न सकेनन् । सायद, अबका दिनमा त्रिपाठीले पहिले जस्तै गरी ओलीलाई धारे हात लगाउँदै मधेस बिरोधी भन्ने छैनन् । र, प्रश्न पनि गर्ने छैनन्–हामीले पहाडीयालाई मधेसबाट जितायौँ, तर मधेसीलाई पहाडले जिताउँछ ? त्रिपाठीले आफ्नो प्रश्न लुकाउन सक्छन् । यद्यपी प्रश्न अनुत्तरित रहुन्जेल लुक्ने छैनन् । ब्यूँतिनु यसको स्वभाव हो ।

राजपा नेता मनीष सुमनले सोही प्रश्न काँग्रेसका प्रखर नेता  गगन थापा समक्ष राखे । वाकपटु थापाले समेत प्रश्नको उत्तर दिएनन्, मोड्ने चेष्टामात्र गरे । राजपाले पहाडीलाई मधेसबाट उठाएर जिताउन सक्छ भन्ने प्रतिप्रश्न उम्दा भनिएका नेताबाट स्वभाविक होइन । राजपा र काँग्रेस उही तुलाका होइनन् भन्ने हेक्का उत्तरदातामा देखिएन ।

मधेसीलाई एउटा छाप परेको छ – हामीलाई यिनले कहिल्यै काँध थाप्दैनन् । यद्यपी एक अर्काको काँध नथापी प्रचण्ड, माधब नेपालहरु मधेसबाट प्रतिनिधि बन्न र रामबरण यादब, परमानन्द झाहरु राष्ट्रपति, उपराष्ट्रपति बन्न सम्भब थिएन । देश काँध थापेरै अगाडि बढिरहेको छ । तर, जनताको तहमा काँध थापेको पुष्टि गर्न पनि मधेसी उम्मेदवारलाई पहाडबाट जिताउन आबश्यक देखिएको छ । किनकी प्रश्न सोहीमा केन्द्रीत गरिएको छ । र, यो जबरजस्त प्रश्न अनुत्तरित रहँदा धेरै मधेसीलाई परेकै छ—पहाडीलाई हामी जिताउँछौ, पहाडेले हामीलाई जिताउदैन ।

चुनाव मुखमा छ । टिकट बाँडिएको छ । अधिकांस ठाउँमा जित हाँसिल गर्ने दाबी गरिरहेको बाम गठबन्धनमा टिकटका लागि हानथाप छ । काँग्रेसम पहिलेभन्दा टिकटको दाबी गर्ने चाँप कम भएको हुनुपर्छ । जहाँ जितका लागि आशंका हुन्छ, त्यहाँ ब्यवस्थापकीय जटिलता कम हुन्छ । बाम गठबन्धनमा जति नै हानथाप होस्, सिट त्यसका लागि सुरक्षित छ जो नेताको नातेदार र पहरेदार दरिएको होस् । राजनीतिक हैसियत सुन्य भएका ज्वाँइले टिकट पाउनु, सर्बत्र निन्दा भए पनि डनले बादशाह झैँ समर्थन जुटाउनु, भए आइजिपी नभए नेता हुन पाउनु कम्ता रमाइला दृश्य होइनन् । यी सबै बिषयका बारेमा यो टिपोट केन्द्रीत छैन । केन्द्रमा रहेको विषय होः मधेसीलाई पहाडबाट उम्मेदवार किन नबनाउने ?

अहिले यो प्रश्न काँग्रेससँग गर्दा उत्तर प्रत्युत्पादक हुन सक्छ । किनकी काँग्रेस पहाडी क्षेत्रमा सबैभन्दा बढी घेराबन्दीमा पर्ने निश्चित छ । त्यसमाथि पहाडी समुदायले समेत हाइ हाइ गर्ने गरी छबी बनाएको मधेसी नेता कम्तिमा पनि यो निर्वाचनका लागि काँग्रेससँग छैन । राष्ट्रिय नेता हुनु र अर्को समुदायले पनि रुचाएको नेता बन्नु अलग पक्ष रहेछ । तसर्थ काँग्रेसलाई बिमलेन्द्र निधि वा कसैलाई पहाडबाट उम्मेदवार बनाउन करकाप गर्नुको अर्थ छैन । निधि स्वंयले यो प्रस्ताव मान्ने छैनन् । मधेसी नेता पहाडबाट उठाएर हार्दा यसको सन्देश आत्मघाती हुन जान्छ ।

माओवादीले ०६४ सालमा मधेसीलाई पहाडबाट जिताउन सक्थ्यो । अहिले उसलाई यो प्रस्ताव गर्नुको अर्थ छैन । एक्लाएक्लै भिड्दा प्रचण्ड स्वंयको जित निश्चित नभएको अवश्थामा अर्को भाँजो हाल्नु उचित रहेन । मातृका यादवलगायतका माओवादीका मधेसी नेताहरुको पहाडीया सामिप्यता उति आकर्षक छैन । यसर्थ प्रश्न पनि एमालेसँगै गर्नपर्ने बेला छ ।

एमालेसँग यक्ष प्रश्नको उत्तर दिने ल्याकत छ । र, उसका पात्र पनि मैदानमा जान तयार छन् । तसर्थ, एमालेजनले एकपटक आँट र कसै कसैका शब्दमा त्याग गर्नैपर्छ । कम्तिमा पनि कुनै मधेसी नेतालाई पहाडबाट जिताउँनै पर्छ ।

लालबाबु पण्डितले सार्वजनिकरुपमा भनिसकेका छन्ः उनी काठमाडौँबाट उठ्न तयार छन् । सामान्य प्रशासन मन्त्री भएपछि उनले पहाडी समुदायको समेत मन जितेकोमा सायदै दुई मत होला । उपत्यकाकै ज्वाँइ भएका नाताले पनि उनको भाबनात्मक सम्बन्ध एउटा दरिलो पक्ष बन्न सक्छ । बाम गठबन्धनको जोडहिसावले पनि पण्डितको जित सहज बन्ने देखिन्छ । यस्तो अवश्थामा लालबाबु पण्डितलाई उम्मेदवार बनाउन र मधेशी समुदायले उठाएको प्रश्नको जवाफ किन नदिने ?
देखिनेगरी चुनावको मुखैमा एमाले बनेका नवराज सिलवालले ललितपुरबाट टिकट पाउन हुने, जीबन नै एमालेमा समर्पित गरेका पण्डितले उपत्यकामा ईच्छा व्यक्त गर्दापनि किन रोक्ने ?

पण्डितलाई घेराबन्दी अबश्य छ । पार्टीभन्दा बाहिर अत्याधिक लोकप्रिय रहेपनि उनी पार्टीभित्र सर्वस्वीकार्य छैनन् । महाधिबेसनमा उपाध्यक्षमा हार्नुले सो कुराको पुष्टि गर्छ । उनलाई स्थायी समितिमा लग्ने भनेर पनि लगिएन । सत्यनारायण मण्डल तानिए । पूराना नेता भएपनि मण्डलको ल्यागतका बारेमा प्रश्न उठ्ने गर्दछ । स्थायी समितिमा तानिँदा सम्म वा मन्त्री भए पछाडि पनि उनले राष्ट्रिय राजनीतिमा उपस्थिती मजबुत पार्न सकेका छैनन् । पहाडी समुदायमा समेत सहजै स्वीकार्य हुने पात्र पण्डित देखिन्छन् । तसर्थ, कुण्ठा तोडेरै भए पनि पण्डितलाई उपत्यकाबाट उम्मेदवार बनाउनु सर्वथा उचित हुन्छ । पण्डितको उम्मेदवारीमा कसैले त्याग गर्नुपर्ने हुन्छ । एमाले त्यागीहरुको पार्टी हो । भइहाले आइजीपी नभए पार्टीको उम्मेदवार बनाउन सक्ने, स्वतन्त्र हैसियतमा रहेका र भोलि मनपरि गर्नपनि छुट हुने भिटो सहितका डनलाई सघाउन आफ्ना उम्मेदवारलाई फिर्ता बोलाउने पार्टी अन्त कहाँ पाइयोस् । देवी ज्ञवालीको त्यागी आत्माको चर्चा अब पनि गरिरहन नपर्ला ।

यी सबै बिरासतलाई बोक्दै एमालेले उत्तर दिनु छः पहाडले पनि मधेसीलाई उठायो र जितायो । उत्तर दिनु छः यसकारण पनि एमाले मधेस बिरोधी हुँदै होइन, मधेसीलाई पहाडबाट जिताउने पहिलो पार्टी एमाले हो ।

[email protected]

विशेष