राजनीति

वाम गठबन्धनले टुंग्यायो दोस्रो चरणको सिट बाँडफाँट, पोखरेललाई मूख्यमन्त्री बनाउने सहमती

वाम गठबन्धनले टुंग्यायो दोस्रो चरणको सिट बाँडफाँट, पोखरेललाई मूख्यमन्त्री बनाउने सहमती

काठमाडौं । वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो लगाएका छन् । यद्यपि, शीर्ष तहमा शनिबार दिनभरि छलफल भए पनि मिल्न बाँकी छ । दुवै दलका शीर्ष नेताबीच शनिबार दिनभरको छलफलपछि प्रतिनिधिसभातर्फ ४७ जिल्लाका १ सय २८ सिट र प्रदेशसभातर्फ २ सय ५६ सिटको बाँडफाँटमा अधिकांश क्षेत्रको बाँडफाँट टुंगिएको हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले दोस्रो चरणको निर्वाचनका लागि दुई दलबीच सिट बाँडफाँटको विषय टुंगो लागेको बताए । ‘पहिलो र दोस्रो चरणको निर्वाचनमा गरेर एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतको हाराहारीमा सिट संख्याको बाँडफाँट हुने गरी टुंगिएको छ,’ उनले राजधानीसँग भने, ‘प्रतिनिधिसभातर्फ जम्मा संख्यामा हामी ९माओवादी केन्द्र० लाई ६० सिट र एमालेलाई ९० सिटको आसपासमा रहने गरी सहमति भएको छ ।’यसअघि दुवै दलले चुनावी तालमेल गर्दै एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट गर्ने सहमति गरेका थिए । दुई दलले पहिलो चरणको निर्वाचनका लागि एमालेलाई २१ र माओवादी केन्द्रलाई १६ सिट रहने गरी सिट बाँडफाँट गरेका थिए ।

दोस्रो चरणमा एमालेलाई ७५ को आसपास र माओवादी केन्द्रलाई ५० को हाराहारीमा सिट संख्या पर्ने भएको छ । केही स्थानको टुंगो लाग्न बाँकी रहेकाले कुन दललाई कति संख्या भन्ने अन्तिम संख्या आउन बाँकी रहेको हो । निर्वाचन कार्यतालिका अनुसार दलहरूले समानुपातिकतर्फको अन्तिम संशोधन आज  टुंग्याउनुपर्ने हुन्छ ।

प्रत्यक्षमा मिलाउन नसकेका नेताहरूलाई समानुपातिकतर्फ भए पनि मिलाउने गरी दुई दलले राति अबेरसम्म बसेर सिटको बाँडफाँट गरेका थिए । दोस्रो चरणको निर्वाचनको मनोनयन यही १६ कात्तिकमा हुन गइरहेको छ । त्यसका लागि दुई दलले सिट संख्या बाँडफाँट गरेका हुन् । कार्यदल र दुई दलका शीर्ष नेताबीच शनिबार दिनभरि बैठक बसे पनि झापा, चितवन, सल्यान र मधेसका केही क्षेत्रमा भने अझै सहमति जुट्न बाँकी छ । नेता पुनका अनुसार सहमति जुट्न बाँकी स्थानमा जिल्लास्तरमा समेत कुरा गरेर सहमति गर्ने निर्णय भएको छ ।

दुवै दलका दोस्रो तहका नेता सम्मिलित कार्यदलले सयभन्दा बढी क्षेत्रको सिट बाडँफाँटको टुंगो लगाउँदै दुवै दलका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको थियो । पार्टी एकता संयोजन समितिको शनिबार अबेरसम्म बसेको बैठकले केही क्षेत्रलाई छाडेर अन्य क्षेत्रको भने अन्तिम टुंगो लगाएको हो ।

यसअघि कार्यदलले हल गर्न नसकेको चितवन–२, दाङ–२, सल्यान, अर्घाखाँची, कञ्चनपुरलगायत स्थानको सिट बाँडफाँटको जिम्मा पार्टी एकता संयोजन समितिलाई नै छाडेको थियो । दाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले दाबी गर्दै आएका थिए । शीर्ष तहको बैठकमा पोखरेललाई दाङ–२ छाडेर ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने गरी सहमति जुटेको छ । दाङ–२ बाट योसँगै महरा वाम गठबन्धनका उ्रम्मेदवार बन्ने भएका छन् ।

चितवन–२ मा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले दाबी गरेका छन् । तर, एमालेले पनि उक्त क्षेत्र छाड्न मानेको छैन । सल्यानमा एमाले र माओवादी केन्द्रका दुई÷दुई जना नेताको व्यवस्थापन गर्न गाह्रो परेपछि विवाद सल्टिन सकेको छैन । दोस्रो चरणमा ४७ जिल्लाका १ सय २८ स्थानमा आगामी २१ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार दोस्रो चरणको प्रत्यक्षतर्फ आगामी १६ कात्तिकमा मनोनयनको तालिका तय गरिएको छ । आगामी १० मंसिरमा हुने ३२ जिल्लाको ३७ क्षेत्रको निर्वाचनका लागि भने यसअघि नै मनोनयन दर्ता भइसकेको छ । ८ माघभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार दुई चरणमा एकसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको हो ।

राजधानी 

विशेष