राजनीति

वाम तालमेल देश र जनताको आवश्यकताले बनेको हो : दाहाल

वाम तालमेल देश र जनताको आवश्यकताले बनेको हो : दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन् । 

प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताए । 

उनले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताए । वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनले बताए । 

पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताए । 

नेपाली काँग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले काँग्रेससँगको सहकार्य नतोडिएको बताए । काँग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उनले भने, “देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको छ । यो प्रक्रियाको शुरुवात हामीले गरेका छौं ।” 

संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उनले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताए । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उनको भनाइ थियो । 

चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने “यो चितवनका जनताले फैसला गर्ने कुरा हो ।” उनले अगाडि थपे “यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।” 

विसं २०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भने “शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु । घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु ।” 

उनले थपे “पार्टीको तर्फबाट पनि र राज्यको तर्फबाट पनि घटनाका घाइतेलाई मैले सक्दो सहयोग गरेको छु ।” घटनामा संलग्नलाई पार्टीले कारबाही गर्छ भनेको स्मरण गर्दै दाहालले घटनाका दोषीलाई पार्टीले कारबाही गरिसकेको बताए । 

चितवन क्षेत्र नं २ बाट रामबहादुर थापा वाम तालमेलबाट उम्मेदवार हुने भन्ने प्रशंगमा दाहालले आज साँझ एमाले अध्यक्ष केपी ओली र आफूबीच छलफलपछि सबै क्षेत्रको उम्मेदवार टुंगो लाग्ने बताए । चितवन क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी निश्चित भइसकेको उनले बताए । 

निर्वाचन नहुने भन्ने शंका अव नगर्न आग्रह गर्दै उनले निर्वाचन आयोगले दुईवटा मतपत्र प्रयोग गर्ने भनिसकेपछि अव समस्या नरहेको बताए । उनले भने “अब निर्वाचनको बारेमा कुनै संशय बाँकी छैन ।” 

bam gathabandan

विशेष