विचित्र विश्व

साउदी अरबमा अब महिलाले रंगशालामै गएर खेल हेर्न पाउने

साउदी अरबमा अब महिलाले रंगशालामै गएर खेल हेर्न पाउने

एजेन्सी । साउदी अरबको सरकारले आगामी वर्षदेखि महिलाहरुलाई पनि रंगशालामै गएर खेल हेर्ने अनुमति दिने भएको छ । साउदी अरबमा महिलाहरुलाई सवारी चलाउने अनुमति दिएपछिको यो अर्को महत्वपूर्ण अधिकार उनीहरुलाई दिइएको हो । महिलाहरुलाई गाडी चलाउने अधिकार भने आगामी जुन महिनादेखि हुनेछ ।


साउदी अरबमा रंगशालामै गएर खेलकुद हेर्ने अधिकार हालसम्म पुरुषहरुलाई मात्रै छ । रियाद, जद्दा र दम्मा जस्ता सहरमा रहेका रंगशालामा अब महिलाहरु पनि जान पाउने छन् । केही कट्टरवादी संगठनले सरकारको यस्तो तयारीको कडा विरोध गरेका छन् । उनीहरुले महिलाहरुलाई यस्तो छुट दिँदै जानु धर्मविरुद्धको काम हो भन्ने गरेका छन् ।

साउदी अरवका ३२ वर्षे राजकुमार मोहम्मदको प्रयास स्वरुप साउदी अरबलाई आधुनिक मुलुक बनाउने अभियान चलाइएको दावी गरिएको छ । एक साता अगाडि राजकुमार मोहम्मदले भनेका थिए, ‘हामीले एक सामान्य जीवन बाँच्ने हो । यो समाजमा सबैले स्वतन्त्र रुपले बाँच्ने अवसर पाउन् । सबैलाई आजादी होस् ।’
तर अहिले पनि साउदी अरबमा महिलाहरुका लागि धेरै कुरामा बन्देज छ । साउदीका महिलाहरु एक्लै घुमफिर गर्न पाउँदैनन् । पासपोर्ट माग गर्न पनि उनीहरुले पुरुषको साथ लिनु पर्छ । त्यति मात्रै होइन बैंक कारोबार पनि महिलाले एक्लैले गर्न पाउँदैनन् । पुरुषको सहभागीता अनिवार्य छ ।

विशेष