राजनीति

विप्लव माओवादी भन्छ : ६ बुँदे तमसुकभित्रको उद्देश्य र रहस्य यस्ता छन्

ओमप्रकाश पुन

विप्लव माओवादी भन्छ : ६ बुँदे तमसुकभित्रको उद्देश्य र रहस्य यस्ता छन्


अप्रत्याशित रुपमा कथित वामपन्थी धु्रवीकरणको नाममा यही असोज १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली राजनीतिको एउटा कलाविहीन नाटक मञ्चन गरियो । नेपालको बाम राजनीतिभित्र घुसेका उत्तर, दक्षिण र पश्चिम अनुहारका पात्रहरुको जमघटमा चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको यात्रा तय गर्ने भनी गरिएको ६ बुँदे तमसुकभित्रको उद्देश्य र रहस्य निम्न रहेका छन् ।

१) पहिलो, यो गठबन्धन नेपालमा एकीकृत जनक्रान्ति मार्फत देश वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्न थालेपछि यसलाई असफल पार्न र कथित कम्युनिस्ट एकता र धु्रवीकरणको नाममा जनता र क्रान्तिकारीबीच भ्रम सृजना गर्न देशी विदेशी शक्तिको डिजाइनमा तयार पारिएको क्रान्तिविरोधी हत्कण्डा हो ।

२) दोस्रो, यो गठबन्धन हामीले विगतदेखि नै भन्दै आएको र परिस्थितिले पनि धकेलेको सत्य के हो भने एउटै देशमा समान कार्यदिशा र विचार भएका पार्टीहरु एउटै उद्देश्य र लयमा टिक्न सक्दैनन् र अन्ततः तिनीहरु एक अर्कामा विलय हुन्छन् । क्रान्ति छोडिसकेपछि माओवादी केन्द्र र एमालेको अवस्था पनि त्यस्तै हो र बाबुराम र प्रचण्डको विलय एमालेमा हुनु थियो भयो । यो स्वभाविक पनि हो ।

३) तेस्रो, यो गठबन्धन देश र जनताको चाहना र आवश्यकतामा भन्दा पनि यही दलाल संसदीय व्यवस्थाभित्र शक्ति जम्मा गर्ने र चुनाव जित्नेसँग मात्रै सीमित छ र त्यो कुरा कथित ६ बँुदेमा र केपी, बाबुराम र पुष्पकमलको भनाइमा पनि अभिव्यक्त भएकाले यो एकता र गठबन्धन नेपाली श्रमजीवी जनताको लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको छ ।

४) चौथो, यो गठबन्धन केपीले भनेको जस्तो नेपाली जनताको चाहना र आवश्यकता, पुष्पकमलले भनेको जस्तो निरन्तरतामा क्रमभंगता र बाबुरामले भनेको जस्तो आवश्यकता र आकस्मिकता जे भने पनि विचार र पवृत्तिको दृष्टिले हेर्दा यो संयोग र स्वभाविक छ । यसले संशोधनवादी गठबन्धनलाई एक ठाउँमा ल्याएको छ र कथित क्रान्तिकारी आवरणलाई च्यातेको छ ।

५) पाँचौ, यो गठबन्धनले नेपालको राजनीतिलाई तत्कालका लागि तीन धार र त्यसपछि दुई धारमा विभाजन गर्ने छ । तत्काल, एउटा काँग्रेसको नेतृत्वमा कठोर पुँजीवादी धारा, अर्को एमालेको नेतृत्वमा सुधारवादी संसदीय बामधारा र अर्को एउटा सच्चा कम्युनिस्टहरुको क्रान्तिकारी समाजवादी धारा कायम हुनेछ भने दीर्घकालीन रुपमा एउटा यथास्थितिवादी पुँजीवादी धारा र अर्को क्रान्तिकारी वैज्ञानिक समाजवादी धारा कायम हुनेछ । यसले देशलाई क्षणिक संकटमा लगेता पनि अन्तत बैज्ञानिक समाजवादी धाराले विजय हासिल गर्ने छ र सबै खाले संकटको समाधान गर्ने छ ।

६) तर यति हुँदाहुँदै पनि एकता र सहकार्यको सामान्य मापदण्ड पनि पूरा नगरी जसरी बाम धु्रवीकरणको हठात घोषणा गरियो, यसको पर्दा पछाडि ठूलो रहस्य लुकेको सहजै अनुमान गर्न सकिन्छ । यो एक प्रकारले सामान्य नजरबाट हेर्दा अवान्छित, अप्रत्याशित, अनैतिक र अपवित्र जस्तो देखिनुको कारण, मूल्यहीनको राजनीति गठबन्धनमा कांग्रेससँग सरकारमा बसेको माके, प्रतिपक्षमा बसेको एमाले र कम्युनिस्ट झण्डा फालेर हिडेका बाबुराम अनि अन्य गैरकम्युनिस्ट चिन्तनका शक्ति सामेल हुनु र त्यसको काउन्टरमा कांग्रेसले अर्को कथित प्रजातान्त्रिक गठबन्धन हठाट बनाउन खोज्नुले यसको पुष्टि गर्छ । यसले यस्तो पनि संकेत गर्छ कि फुटाउने र जुटाउने शक्ति एउटै छ र त्यसले कथित सहमतिको राजनीति र कथित संविधानको उल्लंघन गराउदै कथित दलाल सरकार र सदनको विघटन गरी गैरराजनीतिक सरकार बन्ने, कथित संघीय र प्रान्तीय चुनाव पनि वरपर हुने र देशमा ठूलो वैदेशिक चलखेल हुने सम्भावना पनि देखिन्छ ।

यदि यस्तो भयो भने पनि दलाल संसदीय व्यवस्थाको स्वभाविक परिणाम मान्नु पर्ने हुन्छ र बरु त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाको मार्गमा अघि बढ्नु पर्छ । बाहिरी शक्तिको भरमा तयार भएका चाहे कथित बाम हउन चाहे कथित प्रजातान्त्रिक गठबन्धन होउन्, ती सबै निकट भविश्यमै तासको महल जसरी ढल्ने छन् भने क्रान्तिकारीहरु बिच बलियो एकता र धु्रवीकरण अगाडि बढ्ने छ । सबैलाई चेतना भया ।

(पुन विप्लव माओवादीका पोलिटब्युरो सदस्य हुन् ।)

विशेष