राजनीति

उम्मेदवार छान्न कांग्रेसमा आयो यस्तो कडा प्रस्ताव

समानुपातिक सांसद र स्थानीय तहमा हारेकालाई झट्का

उम्मेदवार छान्न कांग्रेसमा आयो यस्तो कडा प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावमा हारेका उम्मेदवारलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने प्रस्ताव गरेको छ । उसले यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा नराख्ने योजनासमेत अघि सारेको छ ।

महामन्त्री शशांक कोइरालाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा यस्तो प्रस्ताव पेस गरेका हुन् । उनले पेश गरेको उम्मेदवार छनोटको मापदण्डमा ती विषयलाई स्पष्ट साथ उल्लेख गरिएको छ ।

महामन्त्री कोइरालाको प्रस्तावअनुसार निर्णय भएको खण्डमा समानुपातिक सांसद भइसकेकाहरुलाई प्रत्यक्षबाहेक अर्काे सम्भावना देखिन्न । स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।

तर, स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएकाले महामन्त्री कोइरालाको यो प्रस्ताव पास हुनेमा शंका देखिन्छ । समानुपातिकमा सांसद भइसकेकाहरु पनि समानुपातिकबाटै लड्ने सुरमा कांग्रेसमा धेरै छन् ।

कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ ।

विशेष