राजनीति

वित्तसम्बन्धी दुई विधेयक पारित

वित्तसम्बन्धी दुई विधेयक पारित

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । 

बैठकले ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक’ पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की संविधानको भावनानुसार स्रोतसाधनको बाँडफाट गर्ने व्यवस्था गरिएको र केन्द्रको सहयोग विषयलाई थप व्यवस्थित गरिएको बताउँदै अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलपछि उक्त विधेयक बैठकले बहुमतले पारित गरेको हो । 

आजै बैठकले वित्त आयोग विधेयक पारित गरेको छ । छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तहमा प्राकृतिक स्रोत साधन र राजश्व आधारका बाँडफाँट गर्न आयोग गठन अनिवार्य रहेको औँल्याउँदै विधेयक पारित गरिदिन आग्रह गरेका थिए । 

बैठकले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४’ माथि छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले ‘विकास समितिको वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका थिए । 

गणपूरक संंख्या नपुगेपछि स्थगित 

आवश्यक गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगन भएको छ । बैठकमा ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ पारित गर्न छलफल भइरहेका बेला सांसद प्रेम सुवालले गणपूरक संख्याका बारेमा प्रश्न उठाएका थिए । 

सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घण्टी बजाएर बैठकको गणपूरक संख्या यकिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएकी थिइन् । तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक संख्या ११० मात्रै यकिन भएको थियो । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न कूल संख्याको एक चौथाइ सदस्य अर्थात् हालको संख्यानुसार १४८ हुनुपर्नेमा गणपूरक संख्या नपुग भएपछि सभामुखले बैठक स्थगन गर्नुपरेकाे थियो । संसद्को अर्काे बैठक यही असोज २२ गते अपराह्न १ बजे बस्नेछ । 

bidhayek

विशेष