रामेछापमा एमालेले पाउने भयो टिकट, कार्यकर्तामा उत्साह
रामेछाप । बाम तालमेल पछि रामेछापमा प्रतिनिसभा र प्रदेशसभामा कसले टिकट पाउने भन्ने दौड सुरु भएको छ ।
एमाले र माओवादीबीच ६०-४० को भागवण्डा भए अनुसार निर्वाचन क्षेत्र बाँडफाँड गर्न कार्यदल बनेको छ । कार्यदलले निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरिरहेको छ ।
रामेछापमा २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र यस पटकबाट एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम गरिएको छ । केन्द्रमा वाम तालमेल भएसँगै रामेछाप जिल्लाबाट पनि एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि सम्भावित उम्मेदवार केन्द्रलाई सिफारिस गरिसकेको छ ।
एमालेबाट प्रतिनिधिसभा निर्वाचनको लागि रामेछापबाट देवशकंर पौडेल, कैलाश ढुङगेल,रत्न कडेल, धु्रवकुमार कार्की, भगवानसिंह लामा र माधव ढुगेल सिफारिस भएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ३४ जनाको नाम सिफारिस गरेको हो ।
उम्मेदवारहरुको सिफारिस गरेपनि प्रदेशसभा र प्रतिनिधिसभामा केन्द्रमा कसरी भागवण्डा गर्ने हो भन्ने बसह र लविङ सुरु भएको छ । एमालेका नेताहरुले माओवादी केन्द्रलाई प्रतिनिधिसभाको उम्मेदवार दिए दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार बन्न पाउनु पर्ने माग अगाडि सारेको छ । दुई पार्टीबीच संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भएपछि जित्ने ढुक्क भएकाले आकांक्षीहरुको संख्या पनि बढेको छ ।
चुनावी तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेर निर्वाचनमा होमिन लागेका दुई दलबीच निर्वाचन क्षेत्र बाँडफाँडको बहस उत्कर्षमा पुगेको एमालेका एक नेताले जानकारी दिए । रामेछापमा एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकाले भागवण्डा गर्न कठिन भएको हो । स्थानीय तहको निर्वाचनमा ८ निकाय मध्ये ६ स्थानीय निकायमा एमालेले बाजी मारेको छ ।
रामेछापमा जिल्ला समन्वय समितीमा पनि एमालेको एकलौटी भएको हुनाले एमालेले रामेछापबाट टिकट पाउनेमा कार्यकर्ताहरु ढुक्क रहेका छन् ।