काठमाडौं क्षेत्र नम्बर १ मा मुख्य चर्चा प्रकाशमान र रबीन्द्रको
रवीन्द्र मिश्रले शनिबार बानेश्वरमा सम्बोधन गर्ने
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति विवेकशील साझा पार्टीका चर्चित उम्मेदवार रवीन्द्र मिश्र शनिबार बानेश्वरका मतदाता भेट्न आउने भएका छन् । नेपाल आज फाउन्डेसनको आयोजनामा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार मिश्रसँगको साक्षात्कार कार्यक्रम शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा तय भएको छ ।
विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका मिश्र बिबिसी नेपाली सेवाका पूर्वप्रमुख पनि हुन् । पत्रकारीतासँगै समाजसेवामा पनि क्रियाशील मिश्रले पत्रकारीता छाडेर अहिले राजनीतिमा पूर्णकालीन बनेका छन् ।
काठमाडौंको क्षेत्र नम्बर १ नेपाली कांग्रेसको पकड रहेको क्षेत्रका रुपमा चिनिन्छ । यो क्षेत्रबाट कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले चुनाव जित्दै आएका छन् । प्रकाशमानसँग टक्कर लिन खोज्नेले अक्सर असफलता नै प्राप्त गरेका छन् । तर यसपटक प्रकाशमानले मिश्रको आलोचना गरेर आफैले प्रतिस्पर्धीको रुपमा स्थापित गरिदिएका छन् ।
क्षेत्र नम्बर एकका हेभिवेट उम्मेदवारका रुपमा प्रकाशमानसँग विवेकशीलका रवीन्द्र मिश्रको नाम पनि जोडिन थालेको छ । मतदाताको घरदैलो, अन्तरक्रिया र सामाजिक सञ्जालहरुको प्रयोग गरेर आक्रामक चुनावी प्रचारमा जुटिरहेका कारण पनि मिश्रको चर्चा चुलिएको हो ।
सामाजिक सञ्जालहरुमा प्राप्त हुने सकारात्मक प्रतिक्रियाले मिश्र उत्साही बनेका छन् । तर उनका लागि प्रकाशमान माथि विजय पाउनु निक्कै कठिन पनि छ । किनभने बामगठबन्धनले ‘प्रकाशमानसँग सकिँदैन’ भनेरै माओवादीका कनिष्ठ कार्यकर्तालाई उठाएको छ । यस क्षेत्रमा बाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार छन् । एमाले र माओवादीबीचको तालमेलपछि सबैभन्दा शक्तिशाली यहि मोर्चा बनेको छ । तर क्षेत्र नम्बर १ को हकमा बाम गठवन्धनका उम्मेदवार अनिल शर्माको भन्दा बढी चर्चा विवेकशीलका मिश्रको छ ।
काठमाडौं क्षेत्र नम्बर एकमा नयाँं र पुरानो बानेश्वर, मिनभवन, शंखमूल, मैतिदेवी, डिल्लीबजार, थापाथली, माइतिघर, भोटेबहालका केही क्षेत्र आदी स्थानहरु पर्छन । विवेकशीलले यसपटक चुनाव चिन्ह तराजु पाएकोछ ।
अनुकूल र प्रतिकूल
काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशनमा र मिश्रका लागि केही अनुकूल र केही प्रतिकूल पक्षहरु छन् । सामान्यत काठमाडौंमा नेवार समुदायको सहानुभूति मत नेवार उम्मेदवारलाई नै जान्छ भन्ने गरिन्छ । यस हिसाबले क्षेत्र नम्बर १ का नेवारहरु प्रकाशनमानका अनुकूल हुन सक्छन् । सँगसँगै के पछि छ भने यी स्थानहरु नेवारहरुको सघन बसोबास भएको क्षेत्र भने होइन । यो परिस्थिति दुवैको लागि अनुकूल र प्रतिकूल छ ।
पटक पटक विजयी भएको क्षेत्रको हिसाबले प्रकाशनमानलाई फेरि चुनाव जित्ने आशा छ । तर मतदाताले ‘स्वाद फेर्ने’ मुड बनाए भने रवीन्द्र मिश्र वा अनिल शर्मालाई फाइदा पुग्न सक्छ ।
रेडियोमा काम गरेका रवीन्द्र मिश्र भाषण कलामा निपूर्ण छन् । उनी कुनै नेता भन्दा कम छैनन् । ठिक विपरीत प्रकाशमान भाषणमा त्यति चलाख छैनन् ।
प्रकाशमानसँग बाबु गणेशमानको विरासत छ । रविन्द्र मिश्र आफू मात्रै होइन उनको पार्टी नै नयाँ हो । वैकल्पिक शक्ति निर्माणमा जुटेका रवीन्द्रका लागि मतदातामाझ चिनिनु नै चुनौतीपूर्ण हुन सक्छ । वैकल्पिक शक्ति निर्माणको अभियानमा बाबुराम भट्टराईको नयाँ शक्तिले ‘लिक’ छाडेपछि अहिले विवेकशीलप्रति मानिसहरुको आकर्षण पनि छ ।