ओली र दाहालको एकै पटक एमआरआई गरिने
झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एकैपटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।
झापाको बिर्तामोडमा मंसिर २ गतेदेखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा ओली र दाहालको स्वास्थ्य जाँच गरिने भएको हो । बिर्तामोडको बी एण्ड सी टिचिङ अस्पतालले मंसिर २ देखि ६ गतेसम्म ४ दिन महोत्सव सञ्चालन गर्दै छ । स्वास्थ्य महोत्सव उद्घाटनका दिन दुबै नेताको एमआरआई गरिने अस्पतालले जनाएको छ ।
महोत्सवमा १० हजार मानिसले स्वास्थ्य सेवा लिने अस्पतालको अपेक्षा छ । स्वास्थ्य महोत्सवका अवसरमा अस्पतालले सिटी स्क्यान, एमआरआई र रेडियोलोजी लगायतमा १५ प्रतिशत छुट दिइने बताएको छ ।
ल्याबमा र शल्यक्रियामा २० प्रतिशत, औषधि खरिदमा १० प्रतिशत र ओपीडी निःशुल्क गरिएको अस्पतालले जनाएको छ । महोत्सवमा बी एण्ड सी अस्पतालका ८२ चिकित्सकलेसेवा पुर्याउने छन् ।