राजनीति

कसले जित्ला कसले हार्ला, प्रदेश नम्बर ७ मा छ जना महिलाहरुकाे उम्मेद्वारी

कञ्चनपुरमा प्रकाश पत्नी, धनगढीमा देउवा पत्नी

कसले जित्ला कसले हार्ला,  प्रदेश नम्बर ७ मा छ जना महिलाहरुकाे उम्मेद्वारी

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरुले प्रत्यक्षतर्फ प्रदेश नम्बर ७ मा छ जना महिलाहरुलाई उम्मेदवार बनाएका छन् ।

प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाका १६ तथा प्रदेश सभा सदस्यका लागि ३२ सिट रहेका छन् । प्रत्यक्षतर्फ धेरै महिला आकांक्षी देखिएपछि कांग्रेस, एमालेले र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा छ जना महिलाको उम्मेदवारी घोषणा गरेका छन् । यद्यपि, सबै दलले उम्मेदवारको टुंगो लगाउन भने बाँकी छ । दलहरुले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ तीन जना महिलाको उम्मेदवार घोषणा गरेका छन् ।

प्रतिनिधि सभाका लागि कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा डा.आरजु राणा, क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा) र कञ्चनपुरको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले बीना मगरलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी प्रदेश सभा तर्फ दलहरुले अहिलेसम्म तीन जना महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । एमालेले कञ्चनपुर क्षेत्र नम्बर –१ को (क) क्षेत्रमा मर्यादा विष्ट उम्मेदवार बनाएको छ ।

पहिलो चरणमा हुने प्रदेशसभाका लागि कांग्रेसले बझाङ (क) क्षेत्रबाट चन्द्रादेवी जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी वाम गठबन्धनको तर्फबाट बझाङ (ख) क्षेत्रबाट माओवादी केन्द्रले देवकी मल्ललाई उम्मेदवार वनाएको छ ।

प्रदेश नम्बर ७ मा धेरै महिला प्रत्यक्षतर्फ आकांक्षी भएपनि सिफारिसमा समेत नपरेको महिला नेताहरुले गुनासो गरेका छन् । सुदुरपश्चिममा धेरै क्षमतावान र योग्य महिला छन् तर टिकट पाउनदेखि चुनाव लड्न सम्म पैसा मात्र खर्च गर्नु पर्न भएकाले धेरै महिला नेताले टिकट पाउन सकेनन् ।

कैलालीमा कमला ओली,कलावती जोशी र सानु साउद एमालेबाट प्रत्यक्ष तर्फ आकांक्षी महिला हुन् भने जीवन्ती पौडेलको नाम जिल्लाबाट सिफारिसमा परेपनि केन्द्रले सिरफारिस गरेन ।

विशेष