राजनीति

गणतन्त्र प्राप्तिको आन्दोलनमा एमालेको भूमिका प्रभावकारीः नेता नेपाल

गणतन्त्र प्राप्तिको आन्दोलनमा एमालेको भूमिका प्रभावकारीः नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो पार्टीले प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन् । 

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवारसमेत रहनु भएका नेपालले चुनाव प्रचारका क्रममा वडा नं २३ को कोट्देवी वुथको आज उद्घाटन गर्दै भने, “विसं २०६२–०६३ को जनआन्दोलनका बेला फरक कित्तामा रहेका नेपाली काँग्रेस र तत्कालीन नेकपा (माओवादी) लाई लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी गराउन मुख्य भूमिका खेल्ने पार्टी एमाले नै हो ।” 

एमालेका तत्कालीन महासचिव समेत रहेका नेपालले दश वर्षसम्म सशस्त्र युद्ध लडेको माओवादी र गणतन्त्रको शब्द पनि सुन्न नचाहने काँग्रेसलाई एक ठाउँमा ल्याउने काम एमालेकै कारण सफल भएको जिकिर गरे । चुनावी प्रचारका क्रममा काठमाडौँ क्षेत्र नं २ का जनतासँग आफ्नो भावनात्मक नाता जोडिएको उल्लेख गर्दै कतिपयले २०७० सालको उपनिर्वाचनमा माधव नेपालले दुई क्षेत्र जित्दा काठमाडौँ–२ छाडेर रौतहट रोज्यो भनेर हल्ला गरेपनि त्यो गलत हल्ला भएको बताए ।

नेता नेपालले भने, “त्यतिबेला मधेसमा आन्दोलन चर्किएको थियो, पहाडिया नेताले मधेस छाडे भन्ने आरोप लाग्छ भनेर मलाई पार्टीले काठमाडौँ–२ छाड्न आग्रह गरेपछि मैले पार्टीको इमान्दार सिपाही भएको नाताले स्वीकार गरेको हुँ ।” आफ्नो भावनात्मक सम्बन्ध काठमाडौँ–२ मै रहेको र विकास निर्माणका काममा पनि सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, “म प्रधानमन्त्री हुँदा होस् या सांसद् रहँदा नै किन नहोस् यहाँको विकासमा सक्दो प्रयास गरिरहेको छु ।”

समृद्ध नेपाल निर्माण गर्न वाम शक्तिकै सरकार हुनुपर्छ भनेर प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले आफू विजयी भएपछि कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकालाई ‘स्मार्ट सिटी’का रुपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसैगरी, नेता नेपालले आजै प्रयाग मार्गमा मुस्लिम समुदायसँग भेटघाट गर्ने, विमानस्थल मजदुर विशेष जिल्ला कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेलगायतमा सक्रिय रहेका थिए ।

काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ का उम्मेदवार सानु श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अधिग्रहणमा परेको जग्गाको मुआब्जा दिने, ‘टाउनप्लानिङ’ लाई व्यवस्थित गर्ने, खानेपानी, सडकलाई व्यवस्थित गर्ने जस्ता कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

madhav kumar nepal

विशेष