राजनीति

उमेरले पायो अवकास, अझै प्रधानमन्त्री हुने आश

मन्जु मिश्र

उमेरले पायो अवकास, अझै प्रधानमन्त्री हुने आश

नेपालको राजनीतिमा संधै एउटा आरोप लाग्ने गरेको छ, त्यो हो यहाँ बुढाहरुले राजपाठ छोड्ने बारेमा सोच्दै सोचेनन् र युवाहरुको नेतृत्व कहिलै पनि देशले अनुभव नै गर्न पाएन । तैपनि नेपालको राजनीतिको बागडोर उमेरले सामाजिक सुरक्षा भत्ता खाने उमेर पुगिसकेका व्यक्तिहरुकै हातमा छ । नेपालमा ५८ देखि ६५ वर्ष पुगेपछि सरकारी सेवाबाट अनिवार्य अवकाश लिनुपर्ने प्रावधान रहिआएको छ । ७० वर्ष पुगेपछि त झन सरकारले वृद्ध भत्ता उपलब्ध गराइरहेको छ । यस कुरालाई यी नेताका दलहरुले आफ्ना चुनावी घोषणापत्रमा उल्लेख्य स्थान दिन्छन् ‘सामाजिक सुरक्षा भत्ता’ बढाउने भनेर ।

७८ वर्षीय नारायनमान बिजुक्छेले यसपटक निर्वाचनमा भागै लिएनन् । अर्थात उनले सत्ता मोह त्यागे । उनलाई लाग्यो, आफ्नो उमेर पुगिसकेको छ, अब आफ्नो ठाउँमा युवाले नेतृत्व गर्नुपर्छ भनेर । तर अन्य नेताहरुलाई यस्तो पटक्कै लागेन । उनी भन्दा केही वर्षमात्र कान्छा भएपनि उनीहरु निर्वाचन जित्न लागिपरेका छन् । यसैकारण होला, दिनहुँजस्तो गरीखाने युवाहरु देश छाडेर गइरहेका छन् । यही सिलसिला हो भने नेपाल केटाकेटी र बुढाबुढीको मात्र देश बन्न बेर छैन । हामीले केही सोधखोज गरेर ती नेताहरुको उमेर जान्ने प्रयत्न गरेका छौं जो अझै प्रधानमन्त्री हुने दाउमा छन् :

१. शेरबहादुर देउवा : नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७१ वर्ष नाघिसकेका छन् । उनको उमेर बृद्ध भत्ता खाने भइसकेको छ । तैपनि उनी फेरी प्रधानमन्त्री बन्ने दाउमा छन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । साथै उनले राजनीतिसम्बन्धी एक अनुसन्धानमा ‘लण्डन स्कुल अफ इकोनोमिक्स’ बाट भाग लिएको भन्ने हल्ला छ । तर यसको पुष्टि भने हुन सकेको छैन । यदि यस्तो हुन्थ्यो त बीबीसीको साझा सवालमा छाती फुलाएर मैले ‘लण्डन स्कुल अफ इकोनोमिक्स’ मा पढेको छु भन्ने अवस्था रहन्थ्यो ।

२. रामचन्द्र पौडेल : नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिलेका नेताहरुको हाराहारीमा सबैभन्दा पाका छन् । उनी उमेरले ७४ पुगिसके । तैपनि जीवनमा एक पटक प्रधानमन्त्री नभई राजनीतिबाट सन्यास नलिने विचारमा छन् उनी । रोचक त यो छ की उनले हालसम्म प्रधानमन्त्री हुनका लागि १७ पटकसम्म चुनाव लडिसकेका छन् र सबै पटक हारेका छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए गरेका पौडेल अहिले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेद्वार बनेका छन् ।

३. केपी  शर्मा ओली : नेकपा एमालेका अध्यक्ष तथा प्रभावशाली नेता केपी शर्मा ओली पछिल्लो समय राष्ट्रवादी नेताको उपाधी पाएर गद्गद् छन् । प्रधानमन्त्री हुनुभन्दा अगाडि भारतनजिक भनेर चिनिएका उनलाई नाकाबन्दीले ‘राष्ट्रवादी’ बनायो । त्यसैको व्याज अहिले उनले खाइरहेका छन् ।

एमाले एक्लै निर्वाचनमा जाँदा प्रधानमन्त्री बन्न नसक्ने विश्लेषण गर्दै विगतमा आफैैले छि छि र दूर दूर गरेको माओवादी केन्द्रलाई साथमा लिई बाम एकतालाई अगाडि बढाएका ओली नै बाम गठबन्धनले बहुमत ल्याएमा प्रधानमन्त्री हुने पक्का छ । उमेरले ६६ नाघिसकेका ओलीले झापाबाट ९ कक्षा पास गरेका थिए । पछि जेलमा बस्दा बस्दै आई ए पास गरेको भनिन्छ । उनले बीए प्रथम वर्षको परीक्षासमेत दिएका थिए ।

४. पुष्पकमल दाहल प्रचण्ड : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उमेर पनि ६५ वर्ष नाघिसकेको छ । उनले पनि सरकारी सेवामा गएको भए स्वेच्छिक अवकाश पाइसक्थे ।

चितवनको रामपुरबाट कृषि प्राविधिकमा डिप्लोमा गरेका प्रचण्डले माओवादी जनयुद्ध सुरु गर्नु पूर्व ‘यूएसएड’ भन्ने अमेरिकी गैरसरकारी संस्थामा जागिर खाएका थिए । उनी परियोजनाका लागि जाजरकोट पनि पुगेका थिए । उनी पनि फेरी प्रधानमन्त्री बन्न इच्छुक छन् । प्रधानमन्त्री बन्नकै लागि उनले माओवादी केन्द्रलाई एमालेको पोल्टामा बिसाउन खोजेका हुन् ।

५. बाबुराम भट्टराई : नयाँ शक्ति पार्टीका संयोजक ६५ वर्षीय डा. बाबुराम भट्टराईले एक समय वाहवाही नै बटुलेका थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री भएका थिए । त्यसबेला उनलाई सफल अर्थमन्त्रीका रुपमा लिइएको थियो । अर्थमन्त्री हुँदा वाहवाही कमाएका डा. बाबुराम भट्टराईलाई आमजनताले प्रधानमन्त्री बन्ने शुभेच्छासमेत दिएका थिए । डा. भट्टराई प्रधानमन्त्री भए मुलुकको मोहरा फेरिने धेरैको विश्वास पनि थियो । समयक्रममा उनी प्रधानमन्त्रीसमेत बने । तर आफू प्रधानमन्त्री हुँदा उनले खासै राम्रो काम गर्न सकेनन् ।

बरु अर्थमन्त्री हुँदा पाएको वाहवाही पनि प्रधानमन्त्री बनेपछि घट्दै गयो । उनकै कार्यकालमा संविधान नै बनाउन नसकेर संविधानसभा विघटन भयो र निर्वाचन घोषणा गरियो । तर निर्वाचन पनि उनले गराउन सकेनन् । कांग्रेस र एमालेलाई बाहिर राखेर मधेसवादी दललाई मात्रै साथ लिएर सरकार बनाएकाले पनि उनी असफल भएका हुन् ।

माओवादी छाडेर वैकल्पिक शक्तिका रुपमा नयाँशक्ति पार्टी खोलेका डा. भट्टराईको सो पार्टीले केही गर्छ कि भन्ने धेरैको अपेक्षा थियो । तर अहिले उनी र उनको पार्टी घर न घाटको बन्दै गएको छ । धेरैले उनलाई छाडिसकेका छन् । निर्वाचन जित्न पनि उनलाई कांग्रेसको साथ चाहिएको छ । तर मौका मिलेको अवस्थामा उनी पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, यसका लागि प्रतिनिधि सभा सदस्य बन्नै पर्छ । उनी गोरखा–१ बाट निर्वाचन लडेका छन् । तर सोही क्षेत्रमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि चुनावी मैदानमा रहेकाले जित्न सहज भने छैन ।

उनले भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट आर्किटेक्ट मा विद्यावारिधी गरेका छन् ।

६. झलनाथ खनाल : नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अहिले ६८ वर्षका भए । उनले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । नेपालका राजनेताहरुलाई बेलाबेलामा लाग्ने गरेको भ्रष्टाचारको आरोपबाट खनाल अहिलेम्म बच्ने गरेका छन् अर्थात उनलाई कहीँ कतै भ्रस्टाचारको आरोप लागेको छैन ।

खासै तडकभडक र चर्चामा नआउने भएकाले पनि खनाललाई सादा जीवन भएको नेता भनेर चर्चा गरिन्छ । कुनै समय प्रतिनिधिसभाका सांसदहरुमध्ये सबैभन्दा सुन्दर सांसदको उपाधी पाएका खनालको पनि अवकास हुने उमेर पुगिसकेको छ । तैपनि उनमा अझै एक न एक चोटी प्रधानमन्त्री हुने रहर भने जीवितै छ ।

माधवकुमार नेपाल : रौतहटको गौरमा जन्मिएका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि उमेरले केपी ओली भन्दा एक वर्षमात्रै कान्छा छन् । उनी ६५ वर्षका भए । उनमा फेरी प्रधानमन्त्री हुने चाहना देखिन्छ । 

 

 

विशेष