७० वर्ष पुग्दासम्म जनताको सेवामा बिताएँ, अहिले टिकट पाएको छु, जनताले भोट दिनुहुन्छ
जगतजंग थापा, प्रदेशसभाका लागि दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट संयुक्त लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा दैलेख कांग्रेसका पूर्वसभापति थापा जिल्लाका बौद्धिक र संघर्षशील नेताका रुपमा पनि चिनिन्छन् । लामो समयको योगदानपछि यसपटक र पहिलो पटक थापालाई नेपाली कांग्रेसले प्रदेशसभाका लागि टिकट दिएको छ । थापाले आफू विजयी हुने धेरै कारणहरु प्रस्तुत गरेका छन् । प्रस्तुत छ उनीसँग भएको कुराकानीको मूल अंशहरुः
चुनावको तयारी कस्तो छ ?
– अहिलेको अवस्था देशको वाम गठबन्धनले गर्दा हामी प्रजातान्त्रिक पार्टीहरुको पनि गठबन्धन गरेका छौं । हाम्रो जिल्लामा पनि लोकतान्त्रिक गठबन्धन बनेको छ । जनताले रुचीपूर्वक हेरिरहेका छन् । यसपटकको चुनावमा मूलतः लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीचमै टक्कर हुने देखिरहेको छु ।
वाम गठबन्धन भएपछि हार्ने डरले तपाईहरुले पनि गठबन्धन बनाउनु भएको हो ?
– वाम गठबन्धनपछि त्यसलाई टक्कर दिनका लागि र हाम्रो विजय निश्चित गर्न, लोकतान्त्रिक दलहरुबीच धु्रवीकरण हुनु पर्ने अवस्थामा हामी पनि गठबन्धनमा गएका हौं ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस दोस्रो भयो, यसपटक पनि दोस्रोकै अपेक्षा छ कि ?
– होइन, कदापी होइन । लोकतान्त्रिक गठबन्धन देशको आवश्यकता र लोकतान्त्रिक व्यवस्थाई स्थायी बनाउने, संविधान कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनलाई जनताले विश्वास गरेका छन् । नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद र कम्युनिष्टहरुको अधिनायकवादी समाजवादप्रति जनता सचेत छन् ।
अधिनायकवादको कुरा गर्नुभयो, कम्युनिष्टहरुको अधिनायकवादी व्यवस्थामा रुन समेत पाइँदैन भनेर सभापति शेरबहादुर देउवाले पनि भन्नु भयो, के रैछ यो अधिनायकवाद भनेको ?
– एक व्यक्तिको हैकमका आधारमा शासन चल्ने, नागरिक अधिकार खोसिने व्यवस्था हो अधिनायकवाद भनेको । कम्युनिष्टहरु मिलेपछि यस्तो सम्भावना रहन्छ । जनताले केही सुविधा पाएका हुन सक्छन् । तर अधिकार पाएका हुँदैनन् । यस्तो व्यवस्था लाद्ने सम्भावना छ । हामी त्यसको विपक्षमा छौं । कम्युनिष्टहरु आधुनिक शैलीबाट अगाडि बढ्नु पर्छ, कम्युनिष्टको पुरानो शैली र नाराबाट अगाडि जान सकिँदैन भनेर मदन भण्डारीले भनेका थिए । उनको विचार र आदर्शलाई पछ्याएका कारण नेकपा एमाले अहिलेसम्म अस्तित्वमा छ । अब माओवादीसँग मिलेपछि लोकतान्त्रिक व्यवस्था स्वीकार गरेको एमालेले त्यो आस्था छाडेर अधिनायकवादतर्फ अगाडि बढ्ला भन्ने हाम्रो शंका हो । नेपालमा त्यस्तो व्यवस्था जनताले मन पराउँदैनन । मदन भण्डारीको जनताको बुहदलीय जनवाद समाप्त हुन सक्ने देखिएको छ । जनताको आधारभूत अधिकार खोसिन सक्ने सम्भावना छ । यसलाई हामीले रोक्न सक्नु पर्छ ।
कम्युनिष्टहरु किन खराब हुन् ?
विश्वका कम्युनिष्ट मुलुकहरु जसरी उदय भएका छन्, त्यसरी नै समाप्त भएका छन् । विश्वमा नरसंहार मच्चाउने भनेको कम्युनिष्टहरुले नै हो । हजारौं लाखौं मानिसहरुको हत्या लेनिन, स्टालीन जस्ता तानशाहहरुले गरेका छन् । यस्तो नरसंहार मच्चाउनेहरुलाई नेपालका कम्युनिष्टहरुले पनि पूजा गर्छन् । त्यसकारण पनि नेपालका जनताहरु कम्युनिष्ट शासनदेखि डराउँछन् । लोकतान्त्रिक व्यवस्था गुम्ने हो कि भन्ने त्रासमा नेपाली जनता छन् । यहि कुरा बुझेर मदन भण्डारीले पुरानो कम्युनिष्ट ढर्रा छाडेर जनताको बुहदलीय जनवाद लागू गरे । त्यो भनेको हामीले अवलम्वन गरेको लोकतान्त्रिक व्यवस्था नै हो । नाम मात्रै फरक हो । जनवाद भनेपछि कम्युनिष्टहरु अल्मलिने भएका कारण उहाँले त्यसो गरिदिनु भयो । जबजको मूल मर्म कम्युनिजम होइन, लोकतान्त्रिक व्यवस्था हो ।
बेला बेला नेपाली कांग्रेस आफैले प्राप्त गरेको उपलब्धी रक्षा गर्न सक्दैन, जनमतको कदर गर्न सक्दैन भनेर आरोप पनि आउने गर्छ, के भन्नु हुन्छ ?
– नेपाली कांग्रेसले जनमतको कदर गर्छ । सधै गरिरहेको छ । जनताले नेपाली कांग्रेसलाई १७ सालमा दुई तिहाइ मत दिए । तर राजाले प्रजातन्त्र नै खोसिदिए । विपी कोइरालाले प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नुभयो । राजाले प्रजातन्त्रमाथि आँखा लगाउनु हुँदैन भन्दा राजा रिसाए । विपीको व्यक्तित्वसँग इष्र्या गरेर राजाले विपीलाई कैद गरेका हुन् । उनी पनि अधिनायकवादी राजा थिए । विपीको व्यक्तिलाई त भारतका प्रधानमन्त्री जवहारलाल नेहरुलाई पनि डाह थियो । नेहरुले भारतको उत्तरी सीमा हिमालय हो भन्दा विपीले विरोध गर्नुभयो । नेहरुले त्यसपछि माफी पनि मागे ।
राजासँगको अन्तरविरोध त नेपाली कांग्रेसको पहिलेदेखि नै भएको हो । तर अहिले तपाईहरु राजावादीहरुसँग मिल्न थाल्नु भयो ती ?
– राजावादीहरु सुध्रेर आउँछन भने हामी स्वीकार गर्छौं । हिजो हामीले नै बोेकेको हो राजालाई । हामी त राजावादी नै थियौं । एकातिर देश संकटमा छ, अर्कोतिर सिक्किम भारतले निलिसक्यो । त्यस्तो अवस्थामा प्रजातन्त्रवादी, राजावादी मिलेर देश जोगाउनुको विकल्प थिएन विपीसँग । आफ्नो विचार र शिद्धान्तभन्दा देश ठूलो हुन्छ भनेर नै विपीले मेलमिलापको नीति लिनु भएको थियो । नेपालका राजा भन्दा भारतकी रानी (इन्दिरा गान्धी) खतरनाक भनेर नै विपी नेपाल आउनु भयो । नेपाल रहे नै प्रजातन्त्र रहने हो भनेर उहाँ आउनु भयो । सात सातवटा मुद्धा अदालतमा थिए, फाँसी भए होस भनेर आउनु भयो । त्यसपछि राजाको पनि अलिकति चेत खुल्यो । राजाले पनि नरम व्यवहार देखाए ।
दैलेखमा तपाई पुराना र बौद्धिक नेताका रुपमा चिनिनु हुन्छ, के हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र मान्छ नेपाली कांग्रेसले ?
– नेपाली कांग्रेसले अब राजसंस्था ल्याउँदैन । राप्रपाले अहिले यी दुई धारणा छाडेको छैन । तर एकदिन छाडेर नेपाली कांग्रेससँग एकता गर्न सक्छ । राप्रपाको एजेन्डामा कांग्रेस जाँदैन, कांग्रेसको एजेन्डामा राप्रपा आउँछ । उहाँहरु विस्तारै कांग्रेसमै बिलय हुनुहुनेछ । भविष्यमा पार्टी एकता हुन्छ ।
पछिल्लो समय कम्युनिष्टहरुको मत बढी, कांग्रेसको कम जस्तो लाग्छ, अझै पनि जनताले कांग्रेसलाई साथ देलान् ?
– कांग्रेसको मत कम भएको छैन । कम्युनिष्टहरु जोडिँदा उनीहरु अलि बढी भएको जस्तो लाग्छ । तर त्यो मत सतही हो कम्युनिष्टहरुको ।
पहिले अरुको लागि भोट मागिदिनु हुन्थ्यो, अहिले आफै भोट माग्दै हुनुहुन्छ, तपाईलाई जनताले किन भोट दिने ?
– म आजसम्म दैलेखमा बसेर, जनताको सेवा गरेर, नेपाली कांग्रेसको निष्ठावान कार्यकर्ता भएर काम गरेको मान्छे हुुँ । सूर्यबहादुर थापाले मलाई जिल्लामा राजनीति गर्नुपर्छ भनेर प्रेरित गरे । २३ सालदेखि राजनीति गरेको मान्छे हुँ । त्यो बेला म विद्यार्थी राजनीतिमा क्रियाशील थिएँ । अहिले ७० वर्ष पुग्न लागे । यो बेला पनि म जिल्लामा उपलब्ध हुन्छु । समस्या पर्दा मसँग जनता आउनुहुन्छ । तर जीवनको यो उमेरमा मलाई पार्टीले टिकट दियो । मलाई जनताले पत्याउनु हुन्छ भन्ने लाग्छ । मेरो विपक्षमा वाम गठबन्धनका अमरबहादुर थापा मेरो क्षेत्रमा लड्न आउनु भएको छ । उहाँ त खासमा पारि १ (क) को हो । त्यहाँ पद पाएन भन्दैमा कहिले यता आउने कहिले उता जाने गर्नु भनेको पदलोलुपता हो । पद लोलुपता राख्ने व्यक्तिलाई जनताले मन पराउँदैनन् भन्ने मेरो निष्कर्ष छ । उहाँ सांसद भइसकेको पनि मान्छे हो । आगन्तुक पर्यटक पदलोलुप भनेर उहाँलाई जनताले मत दिने छैनन् । उहाँले अस्ति अमेरिका र भारतको दलाल भन्नुभयो कांग्रेसलाई । कांग्रेसले प्रजातन्त्र रोजेका कारण हो कांग्रेस दलाल भएको ? मेरो प्रश्न छ उहाँलाई ।
अमरबहादुर नआउनु भएको भए पनि त कोही न कोही त आउँथ्यो तपाईसँग भिड्न ? अमरसँगै के समस्या पर्यो र ?
– आउथ्यो । तर यहिँको आउँथ्यो । यहि क्षेत्रका उम्मेदवार आउने थिए । पर्यटक आउने थिएनन् । जनताको पीरमर्का, भूगोल बुझेकालाई बाम गठबन्धनले टिकट दिन सक्थ्यो । तर दिएन । यहाँका कर्मठ कार्यकर्तालाई पाखा लगाएर अमरजीलाई टिकट दियो । जसका कारण पनि यस क्षेत्रका जनता अमरबहादुरको उम्मेदवारीमा खुसी हुन सकेका छैनन् ।