राजनीति

पैसादिए कब्जा गर्न प्रचण्डको मतदातालाई आग्रह

पैसादिए कब्जा गर्न प्रचण्डको मतदातालाई आग्रह

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताउँदै भने “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन ।”

बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताए । दाहाल वाम गठबन्धनका संयुक्त उम्मेदवार हन् । पूर्वप्रधानमन्त्री दाहालले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गरे । 

कार्यक्रमसँगै बिहान यहाँको डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन पनि गरे । सो क्रममा राप्रपा छाडेर आएका झण्डै १०० कार्यकर्तालाई पार्टी प्रवेशसमेत गराएका थिए । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार राप्रपा प्रजातान्त्रिकका नेता एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे पनि चुनावी अभियानमा सक्रिय छन् ।

विशेष