राजनीति भिडियो

३० वर्ष लामो कांग्रेस राजनीति छाडेर विवेकशील साझा पार्टीबाट उम्मेदवार बने यी व्यक्ति (भिडियोसहित)

३० वर्ष लामो कांग्रेस राजनीति छाडेर विवेकशील साझा पार्टीबाट उम्मेदवार बने यी व्यक्ति (भिडियोसहित)

 

काठमाडौं । पुरुषोत्तम ढुंगेल अर्थात् नेपाली कांग्रेसका पूर्व नेता । झण्डै ३० वर्ष नेपाली कांगेसमा आबद्ध ढुंगेल अहिले कांग्रेस राजनीति छाडेर विवेकशील साझा पार्टीमा आबद्ध छन् । यति मात्र होइन, आफ्नो जवानी नेपाली कांग्रेसमा खर्च गरेका ढुंगेल अहिले विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ (ख) का उम्मेदवारसमेत हुन् ।

तीन दशक नेपाली कांग्रेसमा बिताएका ढुंगेललाई कांग्रेस राजनीति छाड्न सजिलो पक्कै थिएन । तर उनको अन्तर्आत्माले त्यसैलाई ठीक ठान्यो । र, चुनावी माहोलमा होमिए आफ्नै छोरा पुस्तासँग । हो, उनी अहिले मत माग्दै छन्, घर दैलो गर्दैछन्, विवेकशील साझा पार्टीलाई जिताउन आह्वान गर्दैछन् । यसमा उनमा कुनै पश्चाताप छैन । विवेकशील साझा पार्टीमा आबद्ध भएर अझै केही गरौं भन्ने जोस जाँगर छ उनमा । युवा पुस्तासँग काँधमा काँध मिलाएर देशमा केही गरौं भन्ने भाव छ उनमा ।

नेपाली कांग्रेसको राजनीतिसँग बिरक्तिएका उनी देश जहाँको त्यहीँ भएपछि विरक्तिएका छन् । ‘५० देखी ६० वटा उद्योग धन्दा बेचियो ठिकै छ, स्वाभिमान पनि बेचियो त्यो पनि ठिकै छ तर अब ती ठूला भनिएका राजनीतिक दलले हाम्रो राष्ट्रियता नै बेच्न लागेका छन् यो कसरी सहनु ?’ ढुंगेलले आक्रोश पोखे ।

यस्तो उद्घोष गरिरहँदा उनी अत्यन्तै भावुक र दुखित देखिएका थिए । बोल्दा बोल्दै उनको बोलीनै अवरुद्ध बनेको थियो ।

नेपाल आज फाउण्डेसनद्वारा शनिबार राजधानीमा आयोजित ‘रवीन्द्र मिश्रसँग सवाल जवाफ’ भन्ने कार्यक्रममा नेता ढुंगेलले उपस्थित जनतासँग भावुक बन्दै भने, ‘वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसका ऋणी छन् । तर केवल म एक जना छु जसको ऋण नेपाली कांग्रेसले खाएको छ ।’

नेपालको धुलो खान आए रवीन्द्र मिश्र

उनी भन्छन्, ‘सुविधा सम्पन्न जागिर अनि सम्पूर्ण ऐश आराम छाडेर नेपालको धुलो खान आए रवीन्द्र मिश्र । समयक्रममा म उनीसँग नजिक भएँ । र उहाँलाई सहयोग गर्न आएको हुँ । देशको सम्वृद्धि आफ्नै पालामा हेर्न आतुर भएकाले पनि म विवेकशील पार्टीमा आएको हुँ ।’

देशलाई लुटेर खाने भागबण्डा उनलाई नेपाली राजनीतिको वास्तविक परिचय पनि मन परेको रहेनछ । ‘सेनामा भागबण्डा, पुलिसमा भागबण्डा के का लागि ? लुट्नका लागि मात्र हो र ? । यदि ठूला भनाउँदा दलले भागबण्डातिर नलागी देश हितमा लागे कति राम्रो हुन्थ्यो । कसैले हिमाल बनाउँछु त कसैले तराई बनाउँछु भनेर भाग लिएको भए आज जापान र सिंगापुरले हामीबाट देश विकास गर्ने तरिका सिक्थे । तर यस्तो कदापी भएन । बरु कसरी लुट्ने भनेर भागबण्डा लगाए,’ उनी भन्छन् ।

राजनीति पेसा होइन, सेवा हो

उनी भन्छन्, ‘मैले कहिले पनि रानीतिलाई पेसाको रुपमा लिएको छैन । यो त विशुद्ध सेवा गर्ने पद्धति हो । तर अहिलेसम्मका राजनीतिक दलले राजनीतिलाई पेसाको रुपमा लिए । यही कारण नेपाल यति पछाडि परेको हो ।’

 

 

Purushottom Dhungel

विशेष