हिन्दू राष्ट्र र राजसंस्था स्थापनाका लागि सडकमा उत्रन शिव सेनाको आह्वान (भिडियोसहित)
काठमाडौं । हिन्दू राष्ट्र नेपाल र राजसंस्था पुनस्र्थापनाको माग राखेर लामो समयदेखि आन्दोलनरत शिव सेना नेपालले सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको छ ।
शिव सेना नेपाल र हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विरोध गर्र्दै शिव सेना सडक संघर्षमा उत्रिने घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘हामी भगवान शिवका सेना हौं । हामी धर्ममा विश्वास राख्छौं । अधर्मको साथ दिने संविधान, अधर्मलाई नै कार्यान्वय गराउन खोज्ने निर्वाचन जनतामाथिको धोका हो । यसकारण यो निर्वाचनको विपक्षमा छौं हामी ।’
अध्यक्ष बस्नेतले नेपाली जनताको एकताको प्रतिक राजसंस्था मास्ने, विदेशी शक्ति केन्द्रको दबाबमा, उनीहरुकै निर्देशनमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको दावी गरे । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजा सर्वशक्तिमान रहेको बेला पनि तत्कालीन अवस्थामा राजाले राजधर्म मानेर आफ्ना जनताविरुद्ध दमनको नीति नलिइई लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरी जनताको नासो जनतालाई छाडेको सर्वविदितै छ ।’
शिव सेनाले अब निर्वाचनमा सहभागी नहुने, निर्वाचनको विपक्ष र राजसंस्था, हिन्दूत्वको पक्षमा सबै जनता सडकमा आउनु पर्ने अवस्था आइसकेको स्पष्ट पारेको छ ।
राजनीतिक दलका रुपमा स्थापित भए पनि शिव सेना नेपाल अहिले निर्वाचनको विपक्षमा छ । उसले कात्तिक ३० गते बिहीबारदेखि मंसिर ६ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
जसअनुसार बिहीबार भक्तपुर कमल विनायकमा हिन्दूराष्ट्र स्थापनार्थ कार्यक्रम, मंसिर १ गते ललितपुर जावलाखेलमा, मंसि २ गते काठमाडौं हनुमानढोकामा, मंसिर ३ गते काठमाडौं भद्रकालीमा, मंसिर ४ गते पशुपतिनाथ वनकालीमा, पाँच गते मैतिदेवीमा र ६ गते काठमाडौं महादेवस्थानमा कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रमको संयोजन तथा आयोजना शिव सेना नेपाल र उसका भातृ भगिनी सिंगठनहरुले गरेका छन् ।