भिडियो मेरो परिवार मेरो कथा

न्यायका लागि डेढ वर्षदेखि धर्नामा बसेकी महिलाको हृदयविदारक कथा (भिडियोसहित)

न्यायका लागि डेढ वर्षदेखि धर्नामा बसेकी महिलाको हृदयविदारक कथा (भिडियोसहित)

काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि करिब डेड वर्षदेखि धर्नामा बसिरहेकी महिलाको नाम हो दीपा गौतम । आफ्नो श्रीमान्लाई राज्यले बिना अपराध षड्यन्त्रपूर्वक तवरले सात वर्षसम्म नख्खु जेलमा राखेको भन्दै उनी निरन्तर धर्नामा बसिरहेकी छन् । उनले सरकारसँग, अदालतसँग पटक पटक आफ्नो श्रीमान्को अपराध के हो ? भनेर सोधिरहिन् । तर न सरकारले न अदालतले उनको सवालको जवाफ दियो ।

उनले न्यायका लागि कति पत्रकारलाई गुहारिन् । राजनीतिक दलका नेतालाई भेटिन्, मानवअधिकारवादी समक्ष गुनासो गरिन् । सबैले सहयोगको आश्वासनमात्र दिए । तर उपलब्धी शून्य । तैपनि उनले हिम्मत हारिनन् । कसैले आफ्नो कुरा नसुनेपछि उनी संसद भवनअगाडि मौन धर्नामा बसिन् । त्यहाँ धर्नामा बसेको पनि डेढ वर्ष बितिसकेको छ । उच्च अदालत ललितपुरले कात्तिक २७ गते फैसला नै लेखेर उनका श्रीमान्लाई सफाई दियो विश्वनाथ गौतमको कसुर केही पनि छैन भनेर । यसरी एक निर्दोष व्यक्तिले सात वर्ष जेलको बन्द कोठामा बस्नु प-यो ।

विश्वनाथ गौतम, कुनै बेला नेपालमा सञ्जाल बजारमा सर्वत्र लोकप्रिय ‘युनिटी’ का निर्देशक थिए । युनिटीले उनलाई खाईपाई राम्रै जागिर दिएको थियो । उनले पनि सात जनाबाट सुरु भएको मार्केटलाई ६ लाख मानिससम्म प्रत्यक्ष पुर्याएका थिए । काठमाडांैमा युनिटी टावर र युुनिटी अस्पताल निर्माण सम्पन्न भइसकेको थियो । बैंकमा अर्बौ रकम जम्मा भइसकेको थियो । एक पटक युनिटीको सदस्य बनिसकेपछि ती सदस्यलाई जीवनभर स्वास्थ्य जाँच गर्न, सहुलियतमा घरका लागि सामान किन्न र सञ्जाल बढ्दै जाँदा आम्दानी पनि बढ्दै जाने अवस्था आइसकेको थियो । ‘युनिटीको बढ्दो लोकप्रियतासँग सरकार डरायो । र युनिटीका सञ्चालकहरु अर्बौ रकम हिनामिना गरेर फरार भए भनेर हल्ला फैलाइयो । उनीहरुका नाममा पक्राउ पूर्जी जारी गरियो र देश भरीबाट उजुरी हाल्न लगाइयो,’ दीपा गौतमको आरोप छ ।

‘मेरो श्रीमान्ले त्यसबेला धेरै मन्त्री र नेताहरुलाई भेटेर युनिटीलाई बचाउन धेरै कोसिस गर्नु भयो । यसमा ६ लाख भन्दा बढी जनताको लगानी परिसकेको छ, युनिटी बन्द भो भने ती सबै मानिसको विश्वास र पैसा फस्छ भनेर धेरै अनुनय गर्नु भो । एक जिम्मेवार निर्देशकको कर्तव्य थियो त्यो । तर आफूले केही काम नगर्ने र निजी क्षेत्रले केही गरीहाले गर्न नदिने नेपालको निर्दयी सरकार आफ्नो निर्णमा अडिग भयो र पैसा बैंकमा हुँदाहुँदै रातारात सिज गराएर भोलिपल्टदेखि युनिटीका सञ्चालकहरुको धरपकड सुरु भयो,’ उनले भनिन् ।

कम्पनी रजिस्टारको कार्यालयमा युनिटीका जम्मा सातजना सञ्चालक हरुको नाम दर्ता छ । तर विश्वनाथलाई आठौं सञ्चालक भनेर पक्राउ गरियो । नेपालमा कम्पनी दर्ता गर्दा ५, ७, ९ वा ११ जना सञ्चालक हुनुपर्ने कानुनी व्यवस्था छ । तर विश्वनाथलाई आठौं सञ्चालक भनेर पक्राउ गरियो । यो पक्राउ नै हास्यास्पद र भयानक छ । अदालतले पनि आलटाल गर्दै सात वर्ष थुनामा राख्यो, अदालत आफैले विश्वनाथ सञ्चालक होइनन् भन्ने कम्पनी रजिस्टारको कार्यालयले दिएको पत्र बुझेको नै ५ वर्ष भइसक्यो तर सात वर्ष लाग्यो उनलाई सफाई दिन ।

‘अव राज्यको चतुर्याई भन्नुस् वा निर्लज्जता यही मंसीर ४ गते युनिटीका सबै सञ्चालक र निर्देशक गौतमसहित सबै जना कैद भुक्तान गरेर रिहा हुँदैछन् । एक साताअघि नाटकीय शैलीमा उनीहरुलाई निर्दोष भनियो,’ दीपाले भनिन् ।’

चारचार वटा सन्तानलाई हुर्काउने जिम्मा उनलाई एक्लै थियो । पुख्र्याैली सम्पत्तिले पालनपोषण त सम्भव भयो तर उनीहरुको व्यक्तित्व विकासमा, पढाईलेखाईमा, साथीभाइको माझमा छोराछोरीका बुबाको जरुरी थियो । त्यो अभिभावकत्व राज्यले खोस्यो । त्यसको क्षतिपूर्ति माग्छिन् उनी । ‘सात वर्षदेखि मेरो एक रुपैयाँ आम्दानी छैन, राम्रो जागिर गर्ने श्रीमान्लाई षड्यन्त्रपूर्वक फसाइयो, मैले माया गरेको श्रीमान्लाई मबाट अलग पारियो र सबभन्दा ठूलो कुरा त मेरा छोराछोरीलाई जुन उमेरमा आफ्नो पिताको सबैभन्दा बढी आवश्यकता हुन्थ्यो त्यही बेला उनीहरुबाट खोसियो,’ यसो भन्दा उनी एकछिन् भक्कानिन् ।

आज पनि उनको धर्ना सकिएको छैन । उनका श्रीमान्ले निर्दोषिताको प्रमाणपत्र पाएपनि न्याय पाएका छैनन् । उनलाई बिनाकारण सात वर्ष थुन्ने राज्यले जबसम्म किन थुनियो भनेर जवाफ दिँदैन र त्यसको भर्पाइ गर्दैन उनी धर्नाबाट टाढा हुने मानसिकतामा छैनन् । सात वर्ष जेलमा परेका श्रीमान्का वेदना र आफ्नै भोगाई समेटेर उनले एउटा किताब प्रकाशनमा ल्याएकी छन् ‘देउतालाई दण्ड’ । यो विशेष गरी आफना श्रीमान्लाई ज्यान भन्दा बढी ठानेर प्रेम गर्ने सम्पूर्ण नारी र अन्यायले ग्रस्त जोसुकै व्यक्तिले पढ्नै पर्ने किताव हो । यो पुस्तक शनिबार (२ मंसिर) दिउँसो १ बजे रत्नपार्क शान्तिवाटिकामा विमोचन गरिने भएको छ । 

 

विशेष