राजनीति

वामपन्थी एकताबाट काँग्रेस आत्तिनु पर्दैन : ओली

वामपन्थी एकताबाट काँग्रेस आत्तिनु पर्दैन : ओली

फलेवास, पर्वत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताएका छन् । 

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले ‘वामपन्थी एकताबाट आत्तिएको’ नेपाली काँग्रेसले कम्युनिष्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप लगाए । गठबन्धनले निर्वाचन जितेपछि मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याइने बताउँदै नेता ओलीले भने, “देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र समृद्धि सबै वाम गठबन्धनले दिन्छ ।” 

काँग्रेसले मुलुकलाई विप्रेषणबाट चलाउन खोजेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले चालीस लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न र राजनीतिक, आर्थिक, सामाजिक स्थायित्व दिन वाम गठबन्धनको सरकार आवश्यक रहेको जिकिर गरे । 

अर्को प्रसंगमा वाम गठबन्धनले चुनाव जितेपछि देशमा नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने ठोकुवा गरे । उनले भने, “उत्तर दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ।” 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ र चीनको तिब्बत जोड्ने कोरला नाका पुग्ने बाटाका लागि रु तीन अर्ब ६० करोड बजेट विनियोजन गरिएको स्मरण गराउँदै वामपन्थी सरकार बनेमा तीन वर्षभित्र उक्त सडक कालोपत्रे गरिसकिने बताए । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याइने बताउँदै उनले वामपन्थी सरकार आएमा काठमाडौँदेखि पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पुर्याइने वचन दिए । 

‘मुलुकको हित र समृद्धिका लागि एमाले–माओवादी एकता’ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको हित र समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेको बताएका छन् । सोही चुनावीसभालाई सम्बोधन गर्दै उनले विभाजित भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिको बहुमत नआउने देखिएर दुई पार्टीबीच गठबन्धन गरिएको स्पष्ट गरे । लामो समयदेखि एमाले र माओवादीबीच एकता गर्ने विषयमा छलफल भए पनि सम्भव नभएको बताउँदै दाहालले अहिले दुई दलबीच परिपक्व अवस्था आएकाले गठबन्धन भएको धारणा व्यक्त गरे । 

स्थायी सरकारविना मुलुकको दीर्घकालीन विकास सम्भव नभएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले नेपाललाई आगामी दश वर्षभित्र संसारकै समृद्ध मुलुक बनाउनका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे । 

bam gathabandan

विशेष