राजनीति

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ– अध्यक्ष डा लोहनी

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ– अध्यक्ष डा लोहनी

विराटनगर ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

सो पार्टी मोरङद्वारा आज(शुक्रबार) त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने —“प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसद्मा प्रतिनिधित्व गराउने छ ।”

अध्यक्ष डा लोहनीले जनताको चाहना विपरित लहडको भरमा नेपाललाई धर्मनिरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने छ भने ।

भ्रष्टाचार मुलुकको मुख्य शत्रु भएको उल्लेख गर्दै उनले मुलुकको आर्थिक विकास तथा युवालाई रोजगारी उपलब्ध गराउन तराई–मधेश क्षेत्रमा विकासको पूर्वाधार खडा गरी विशेष औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

डा लोहनीले अहिलेको अवस्थामा तीन राप्रपाबीच एकता हुने कुनै सम्भावना नरहेको पनि बताए ।

विशेष