शिव सेनाले गर्यो गणतन्त्र अन्त्य गर्ने दावी
काठमाडौं । हिन्दू राष्ट्र स्थापना र राजसंस्था स्थापनालाई मुख्य लक्ष्य बनाएर विभिन्न क्रियाकलाप गरिरहेको शिव सेना नेपालले शुक्रबार ललितपुरबाट गणतन्त्रको अन्त्य गर्ने उद्घोष गरेको छ । शिव सेनाको सप्ताहव्यापी पहिलो चरणको कार्यक्रम अन्तर्गत दोस्रो दिनको कार्यक्रम ललितपुरको जावलाखेलबाट सुरु भएको थियो ।
विशाल र्यालीपछि मंगलबजार पुगेर सभामा परिणत भएको कार्यक्रमका वक्ताहरुले नेपालको गणतन्त्रको आयु छोटो भएको दावी गरे । शिव सेनाका अध्यक्ष अनिल बस्नेत (बाबा)को उपस्थितिमा भएको सभामा शिव सेना ललितपुरका अध्यक्ष प्रमोदनाथ श्रेष्ठले मुलुक टुक्रा पार्ने षडयन्त्र कुनै पनि हालतमा सफल हुन नदिने बताए । उनले शिव सेना नेपालले नै गणतन्त्रको विधिवत समापन गर्ने चेतावनी दिए । सभामा शिव सेनाका केन्द्रीय नेताहरु दिनेश कँडेल, किरण खड्का, देशभक्त प्रदीपविक्रम राणालगायतले धारणा राखेका थिए ।
हजारौंको सहभागीता भएको सभा अघिको र्यालीले दुई घन्टासम्म नगर परिक्रमा गरेको थियो । शिव सेनाले शनिबार पनि काठमाडौंको हनुमान ढोकाबाट नारायणहिटीसम्म र्यालीको आयोजना गर्ने जनाएको छ । नारायाणहिटीमै कोणसभाको आयोजना हुने सो पार्टीले जानकारी दिएको छ । शिव सेनाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर ३ गते काठमाडौं भद्रकालीमा, मंसिर ४ गते पशुपतिनाथ वनकालीमा, पाँच गते मैतिदेवीमा र ६ गते काठमाडौं महादेवस्थानमा कार्यक्रमको आयोजना गर्दै छ ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले शिव सेनाले बोकेको लक्ष्य पूरा नहुञ्जेल यस्ता कार्यक्रमको आयोजना भइरहने बताए । यी कार्यक्रमहरुको संयोजन तथा आयोजना शिव सेना नेपाल र उसका भातृ भगिनी संगठनहरुले गरेका छन् ।