पैसाले भोट किन्ने खोजेको छैन, मतदातालाई भेडाबाख्रा ठानेको छैन
भानुभक्त ढकाल
पोलिटव्यूरो सदस्य,नेकपा एमाले
प्रतिनिधिसभा उमेदवार, मोरङ ३
बाम गठबन्धन
प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनका मोरङ क्षेत्र नं. ३ का साझा उमेदवार भानुभक्त ढकाल व्यापक चुनावी अभियानमा छन् । नेकपा एमालेका प्रभावशाली पोलिटब्यूरो सदस्य तथा विगठित संसदका प्रमुख सचेतक ढकालको उमेदवारीसँगै मोरङ ३ लाई अर्थपूर्ण ढंगले हेरिएको छ । शान्त, शालिन, जुझारु र आम कार्यकर्तासँग छिटै घुलमिल हुने नरम स्वभावका ढकाल पार्टीभित्रका हंशमुख व्यक्तित्वका कारण सर्र्वाधिक चर्चामा हुनुहुन्छ । पार्टीको संगठन विभाग उपप्रमुखसमेत रहनुभएका ढकाल कुशल संगठक, नेतृत्वकर्ता र कुशल वक्ता पनि हुन् । आफ्नो उमेदवारी व्यक्तिगत नभएर पार्टीको भएको बताउने ढकाल आफूले कहिल्यै पनि व्यक्तिगत राजनीति नगरेको दावी गर्छन् । जनताको घरदैलोमा व्यस्त ढकालले जनताको आशिर्वाद आफूलाई भएकोले निर्वाचन जित्ने कुरामा सतप्रतिशत ढुक्क रहेको बताएका छन् । प्रस्तुत छ, ढकालसँग गरिएको कुराकानीको महत्वपूर्ण अंशः
स्थानीय नेता तथा कार्यकर्तालाई पाखा लगाएर तपाई मोरङबाटै उम्मेदवार बन्नुपर्ने अवस्था किन आयो ?
म पार्टीको एउटा बफादार सिपाही हुँ । म आफ्ना लागि उमेदवार भएको हैन र भोलि पनि आफ्नो लागि काम गर्दिन । जनताको हितमा पार्टीले दिएको काम गर्छु । कसको कहाँ आवश्यकता छ भन्ने निर्णय पार्टीले गर्छ । पार्टीले आवश्यक देखेको अवस्थामा भोलि अरु साथीहरुलाई पनि जिम्मेवारी दिन्छ । हामीले समय, संयमता र सजकता अपनाउनु पर्छ । योग्यता पुगेका साथीहरुले ढिलोचाँडो अवसर पाउनुहुन्छ । हामीमा सामूहिक सोच विकास गर्नुपर्छ । यो कुरा हाम्रा साथीहरुले बुझिसक्नु भएको छ ।
तपाइलाई विपक्षीले चुनावमा मात्र झुल्किएको पर्यटक उम्मेदवार भन्दा कस्तो लाग्छ ?
मेरो मूल घर तेह्रथुम हो । अस्थायी बसोबास यही सुन्दर हरैचाको हरैचामोड र काठमाडौंमा छ । हरैचामोडमा मेरा सहोदर जेठो दाजु बस्नुहुन्छ । यस क्षेत्रमा विगत ३० वर्षदेखि मेरो आफ्नै नाममा जमिन छ । सानै उमेरदेखि राजनीतिमा लागियो, तेह्रथुममा पनि खासै बसिएन । पढाइ र राजनीतिको शिलसिलामा धरै समय काठमाडांै बसेको छु । राष्ट्रिय राजनीतिमा पुगेपछि मैले तेह्रथुम र मोरङलाई मात्र हैन देशभरका संगठनलाई समान हिसावले हेरेको छु । काठमाडांैमा बस्नु मेरो अपराध हैन । यो पार्टी कामको आवश्यकताको कुरा पनि हो । मुख्य कुरा म कहाँ बस्छु भन्दा पनि मैले उठाउने एजेण्डा सही छन् नि छैनन् भन्ने हो । मेरो पार्टीले बोक्ने विचार सही छ कि छैन, अनि म सही बाटोमा हिडेको छु कि छैन भन्ने कुरा महत्वपूर्ण हो । त्यसैगरी म मोरङ ३ का जनताको हरेक समस्याको समाधानका लागि अगुवाई गर्न म योग्य छु कि छैन यस्ता विषयमा पो परीक्षा लिनुपर्छ । हरेक मानिसलाई देशभित्रका जुनसुकै स्थानमा आवतजावत गर्न, व्यापार व्यवसाय गर्न र राजनीति गर्न छुट छ । कसैलाई पनि जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय हिसावले अपहेलना गर्न मिल्दैन, यो संविधान प्रदत्त अधिकार हो । यस्तो हल्ला चलाउनेहरु जनताको नजरमा आफै गिरिसकेका छन् ।
अर्कोतिर म बाहिरको मान्छै हैन । निरन्तर नेपाली राजनीतिको शीर्ष स्थानमा बसेर काम गरिरहेको छु । अन्य पेशाबाट गलत ढंगले कमाएर ल्याएर गैरराजनीतिक तवरले आएको पनि हैन । जनताको पैसामा जनतालाई नै पासो लगाउने ‘गेम’ कसैले पनि खेल्नु हुदैन । राजनीतिलाई पैसाले किन्न मैले खोजेको छैन । मतदातालाई भेडाबाख्रा ठानेको छैन ।
तपाइको उमेदवारीप्रति असन्तुष्ट भएर बागी दिने र विरोध गर्नेहरुलाई कसरी मिलाउनु भयो ?
त्यसलाई नकरात्मक हिसावले नबुझाैं । साथीहरुले हामी पनि काम गर्न चाहन्छौ भनेर इच्छा देखाउनु भएको हो । त्यसलाई पार्टीले सकरात्मक हिसावले लिएको छ । हाम्रो पार्टीमा एक से एक योग्य नेता तथा कार्यकर्ता भएर समस्या जस्तो देखिएको हो । सिट थोरै हुन्छ । आकांक्षी धेरै जना हुनुहुन्छ । फेरि यसपटक माओवादी केन्द्रसँग पनि तालमेल गर्नुपर्ने भएको कारणले गर्दा अलिक साथीहरुको मनोभावना बुझ्न नसकिएको कुरा यथार्थ हो । केन्द्रदेखि जिल्लासम्मका सबै साथीहरुलाई कहिँ न कहि समेट्नुपर्ने बाध्यता पनि पार्टीलाई भएकोले गर्दा त्यस्तो देखिएको हो ।
हामीले हरेक कुरालाइ सकारात्मक हिसाबले लिएका छौं । पालो सिस्टम गर्नुपर्छ । कम्युनिष्ट पार्टीमा जनताकै लागि काम गर्ने हो । आफ्ना लागि काम गर्ने हैन । अहिले सानोतिनो गल्ती भएको छ भने पनि मिलेर पार्टीलाई विजयी गराऔं अनि बसेर आत्मसमिक्षा र मुल्याङ्कन गरौला भन्ने कुरामा सबै साथीहरुबीचमा समझदारी भएको छ ।
तपाईले चुनाव जितेपछि काठमाडाैं गएर बस्नुहुन्छ,क्षेत्रलाई हेर्नुहुन्न र जनतालाई चिन्नु पनि हुन्न भनेर विरोधीहरुले प्रचार गरिरहेका छन् नि ?
त्यो आरोपका लागि आरोप र आशंका हो । कसले कति काम गर्छ । गर्न सक्छ र समय दिन्छ भन्ने कुरा नजिकवाट पहिचान नगरी र थाहा नपाई नबोलांै । मलाई पार्टीले यसअघि तेह्रथुमबाट समानुपातिक सांसद बनायो । मैले तेह्रथुमे जनताको अधिकतम समस्यालाई केन्द्रविन्दुमा राखेर देशभरीका जनता र पार्टीले अह्राएको काम गरे । अब पनि मेरो निर्वाचन क्षेत्र प्राथमिकताको विषय बनाएर देशभरी पार्टी र जिम्मेवारीको काम गर्छु । यही क्षेत्रमा मात्र घुम्छु । यही घरजम गर्छु भनेर झुटको खेति गर्ने मेरो नेचर पनि छैन र त्यो हैन पनि ।
तर, यहाँ बसेर मात्र यो क्षेत्रलाई परिचालन गर्न सकिदैन । यस क्षेत्रका समस्याका लागि राष्ट्रिय राजनीतिमा पनि उत्तिकै पहुँच चाहिन्छ । पहुँच हुनेले विकासको बजेट तानेर आफ्नो क्षेत्रमा लैजाने गलत परम्परा छ । त्यसलाई चिर्न सक्नुपर्छ । त्यसैगरी यस क्षेत्रका जनताको आवश्यकता अनुसारका योजना बनाउने, कार्यान्वयन गर्ने र समय समयमा डेलिगेसन जानुपर्ने आवश्यकतामा मेरो अगुवाई रहनेछ । नेपाल सानो छ, यस क्षेत्रका हरेक समस्याको समाधानमा मेरो उतिकै कृयाशिलता र अगुवाई रहनेछ । म भौतिक र मानसिक दुबै रुपले यहाँका जनताको आवश्यकता अनुसार सक्रिय र साथमा रहनेछु ।
तपाईका प्रतिद्वन्द्वी कांग्रेस उमेदवार सुनील शर्माले यस क्षेत्रमा स्वास्थ्य शिविर चलाएर र आम मतदातालाई विभिन्न आश्वासन दिएर मन जितिरहेका छन् । तपाईले त केही गर्न सक्नुभएको छैन त ?
मलाई झुठा र गलत कुरा गरेर चुनाव जित्नु छैन । म त्यस्तो प्रवृत्तिको व्यक्ति पनि हैन । जनताको मतलाई प्रलोभनमा पारेर, रकम दिएर, भोज खुवाएर, गलत आश्वासन देखाएर तथा धम्क्याएर तान्न सकिदैन । म कसैलाई नकरात्मक ढंगले टिप्पणी गर्न पनि चाहन्न । यो काम मेरो पनि हैन । तपाईले सोधिहाल्नु भयो । प्रजातन्त्रमा स्वस्थ्य प्रतिष्पर्धा हुनुपर्छ । विचारको लडाइ गर्न पाउनुपर्छ । तर, जे भइरहेको छ, सही उद्देश्य भएका व्यक्तिहरुको काम पनि हैन ।
जसले निर्वाचनको मुखमा त्यो हर्कत गरिरहेका छन्, उनीहरुले ठूलो स्वार्थ बोकेका होलान् । यसलाई भोलि नराम्रो काममा भजाउलान् वा त्यसको कुनै हिसावले क्षतिपूर्ति लेलान् । अथवा गलत ढंगले आर्जन भएको सम्पति पो हो कि ? यो संसार पारदर्शी छ । जनताले थाहा पाईहाल्छन् । कुनै कुरा लुकाएर लुक्दैन । जनताले सोधिरहेका छन्, अहिले जनताको सेवा गरेको छु भन्नेले हिजोअस्ति चाँही किन नगरेको ? यस्तो प्रवृत्तीलाई जनताले चिनिसकेका छन् । राजनीति भनेको समाजसेवा हो । समाजसेवा निस्वार्थ हुन्छ ।
राजनीतिलाई व्यापार वा जुवा बनाउन पाइदैन । यसमा मिडियाहरुले पनि खवरदारी गर्नुपर्छ । जालझेल, षड्यन्त्र र दाउपेच हैन । जनतालाई आफ्ना प्रतिनिधि रोज्न स्वतन्त्र छोडिदिनुपर्छ । जनताले बुझिसकेका छन् को कति पानीमाथि छ भनेर ।
तपाईले पनि तेह्रथुमबाट अलैंची ल्याएर जनतालाई दिए हुन्छ मेरो आरिस किन गर्नु भनेर कांग्रेस उमेदवारले भनेका छन् । उनले जनताको सेवा गर्न पाउदैनन् ?
यस्तो कुरा मलाई नसोध्नोस् । यो निर्वाचन आचारसंहिता विपरित कुरा पनि हो । यो प्रजातन्त्रमा हुने र असल मान्छेले गर्ने कुरै हैन । इमान्दार र नैतिकवानलाई मत किन्न खोजे अरे भन्दा त लाज पो लाग्नुपर्ने । सरम हुनुपर्ने । पञ्चायतकालमा पनि लुकिलुकी मात्र जनमत किन्ने चलन थियो । यो त सिधै लुटपाट भएन र ?
विपक्षीको आक्रामक चुनाबी प्रचारबीच विनातडकभडक र शान्त चुनाबी अभियानले तपाईलाई कमजोर देखाइरहेको छैन ? यसरी चुनाव जित्नुहुन्छ ?
चुनाव जित्नेले सालिनताका साथ जित्नुपर्छ । आफ्ना विचारलाई सही ढंगले राख्नुपर्दछ । म त चुनावलाई उत्ताउलो, भड्किलो र अतिरंजित नबनाऔं । शान्ति, सद्भाव र मित्रतापूर्ण ढंगले अगाडि बढाैं भन्ने पक्षको मान्छे हुँ । तर, ढुगा हान्नेलाई फूलको झटारो हान्न चाँही सकिदो रहेनछ ।
धेरै गाडी कुदाउदैमा, खर्च गर्र्दैमा चुनाव जित्ने भए हामी जस्ता गरिव र पैसा नभएका कसैले पनि चुनाव जित्दैनन् । सबै राज्य व्यापारीकै कव्जामा भइहाल्छ नि । आवश्यक मात्रामा जनताले बुझ्नेगरी मात्र चुनाव प्रचार गर्ने हो । आज चुनावमा भड्किलो गरेर गरेको खर्च भोलि कुन स्रोतबाट ल्याउने ? मैले चुनाव लडौंला भनेर हिजाको दिनमा पनि गलत काम गरिन । भोलि पनि गर्दिन । त्यसो नगर्दा हारिन्छ भने हार स्वीकार गर्न तयार छु । जहिले सत्यको जित हुन्छ त्यतिबेला जितौंला ।
यो त अलि वढि आदर्शको कुरा भएन र ?
साँचो कुरा नै यही हो । मैले आदर्शवादी जीवन नै रोजेको हो । मैले जागिर खाएर वा व्यापार गरेर कमाउने बाटो रोजेको भए यतिबेला धेरै कमाईसक्थे । त्यस्ता अवसरहरु धेरै थिए । तर, मैले त्यागकै बाटो रोजे । मान्छेले बाटो रोज्ने बेलैमा स्पष्ट हुनुपर्छ कि यो कमाउने पेसा हैन । यो आफू र आफ्ना लागि मात्र गर्ने काम हैन । त्यसरी तयार भएर आए पछि के समस्या भो र ? रंगिलो जीवन त्यति टिकाउ हुदैन यो सवैलाई ख्याल हुनु जरुरी छ ।
तपाईले चुनाव जित्ने मुद्दा चाँही के के छन् त ?
चरम अभाव र गरिबी भएको हाम्रो देशमा मुद्दाको कुनै खाचाैं नै छैन । देशभरका साझा समस्या उस्तै छन् । यो वा त्यो पुरा गरिदिन्छु भनेर झुटको राजनीति म कहिल्यै पनि गर्दिन । हाम्रो पार्टी नेकपा एमाले र संयुक्त बाम गठवन्धनले अघि सारेका चुनावी घोषणापत्र अनुसारका कामहरु नै हाम्रा प्रमुख मुद्दाहरु हुन् । पार्टीले लिएको राष्ट्रियता वलियो बनाउने तथा सबै जाति भाषा सम्प्रदाय र समुदायर्लाइ सम्मान गर्ने, पिछडा, आदिवासी र हेपिएको वर्गको उत्थान गर्ने नीति अनुसार नै हामीले काम गर्नुुपर्छ ।
मोरङ ३ का स्थानीय समस्याहरु के छन् र तिनको समाधान कसरी गर्नुहुन्छ ?
हाम्रो सबैभन्दा ठूलो समस्या भनेकै गरिबी हो । भौतिक विकासका कुराहरु त्यसपछिका कुरा हुन् । मुख्यगरी समस्यालाई सतही ढंगले अघि बढाउने भन्दा पनि दीर्घकालिन सोच बनाएर काम गर्न सक्नुपर्दछ । बेरोजगारी समस्या, सुकुम्वासी समस्या, नदि कटान, वन विनास, भुक्षय, बाढी प्रमुख समस्या रहेका छन् । चटकको भरमा ती समस्यालाई समाधान गर्न सकिदैन । त्यसका लागि सबैभन्दा पहिले प्राकृृतिक स्रोत र साधनलाई कसरी उपयोग गर्ने, मानवीय स्रोतलाई कसरी प्रभावकारी ढंगले परिचालन गर्ने, विदेशिने.दक्ष जनशक्तिलाई कसरी स्वदेशमै रोकेर काम लगाउने भन्ने विषयमा गहन गृहकार्य गर्नुपर्छ । जबसम्म उत्पादनमा जोड दिएर देशलाई आत्मनिर्भर बनाउन सकिदैन तबसम्म देशको विकास संभव छैन ।
हाम्रा प्राकृतिक स्रोत साधन चिन्ने, तिनलाई उत्पादन र उपभोग गरी आत्मनिर्भर बन्ने अनि विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने । पर्यटकीय क्षेत्रको विकास गर्ने । जडिवुटी र अन्य स्रोतको परिचालन गर्न सके वेरोजगारी लगायतका सबै समस्या एकै पटक समाधान हुदै जान्छन् । अनि मुलुकमा भौतिक विकास पनि सँगै अघि बढ्छ । तर, त्यसका लागि राजनीतिक स्थिरता अर्थात सोचसहितको दिर्घकालिन सरकार चाहिन्छ ।
तपाईहरु स्थिर सरकारको कुरा गर्नुहुन्छ, तर नेपाली काँग्रेसले अधिनायकवाद आउनलाग्यो भन्दैछ नि ?
देशमा राजनीतिक स्थीरता भएन, मुलुक वर्वाद हुनेभो । जाली, फटाहा र स्वार्थप्रेरक व्यक्तिहरुको पञ्जाबाट छुटाउनु प¥यो । कतिदिन मुलुकलाई बन्धक बनाउने भन्न्ने कुरालाई आत्मासाथ गरेर चुनाबी गठबन्धन र पार्टी एकताको पहल अगाडि बढेको हो । अब व्यक्तिगत र एउटा पार्टीको हितलाई मात्र सोचेर केही हुदैन, देश बनेन भने पार्टीहरुको अर्थ छैन भन्ने निश्कर्षसहित हामी एकठाउँ उभिएका छौं । यसलाई गलत ढंगले नबुझांै । कसैले गलत बुझ्छ भने पनि केही समयपछि नै त्यो भ्रम पुरै हट्नेछ ।
त्यसो भए हिजो माओवादीले गरेका राम्रा तथा नराम्रा सबै कामको जस तथा अपजस लिन तपाईहरु तयार भएको हो ?
हो, हामी तयार भइसक्यौं । हिजोको माओवादीको विचार र सिद्धान्त एउटा थियो । अब हामी साझा विचारमा समाहित भइसक्यौं । जनतालाई केन्द्र मानेर हामी अगाडि बढ्ने निष्कर्षमा पुगिसक्याैं । म माओवादीको उमेदवार पनि हो र माओवादीका साथीहरु पनि हाम्रा अर्थात साझा उमेदवार हुनुहुन्छ ।
–जनविद्रोहबाट