अन्तरवार्ता भिडियो स्ट्रेट फरवार्ड

मैले ‘मेरो नेपाल’ भन्दा विदेशीका टट्टुहरु मलाई ‘मर्लास्’ भन्छन् (भिडियोसहित)

मैले ‘मेरो नेपाल’ भन्दा विदेशीका टट्टुहरु मलाई ‘मर्लास्’ भन्छन् (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वरथि डा. प्रेमसिंह बस्न्यात निर्भिक, निडर र राष्ट्रवादी व्यक्तिका रुपमा परिचिति हुनुहुन्छ । नेपाली भएर नेपालको हितविपरीत र विदेशीको हितका पक्षमा बोल्नेहरुलाई खुला रुपमा चुनौती दिने डा. बस्न्यातले केही तत्वको त नाम नै सार्वजनिक गर्नु भएको छ । नेपाली समाजमा राष्ट्रको पक्षमा वकालत गर्ने व्यक्तिका रुपमा उहाँ चिनिनु हुन्छ । तर्क र कुतर्क प्रस्तुत गरेर नेपालको हित विपरीत र विदेशीको हितमा बोल्नेहरुविरुद्ध त बस्न्यातले जेहाद नै छेड्नु भएको छ । उहाँसँगको पछिल्लो भिडियो कुराकानी भने निर्वाचन, राष्ट्र, राष्ट्रियताबारे भएको छ । प्रस्तुत छ सोही कुराकानीको सार संक्षेप :

‘अहिले मतका लागि नेताहरुले मतदाताको खेतमा गएर घाँस काटिदिने, धान काटिदिने, हलो जोतिदिने गर्नु भनेको पतित कुरा हो । नेतामा भिजन छ भने रेडियो र टिभीबाट बोले पनि भोट दिन्छन् । नेताले गल्ति गरेका छन्, बेइमानी गरेका छन्, त्यही माफिका लागि उनीहरुले यस्ता स्टन्ट गरिरहेका छन् ।

शेरबहादुर देउवा भन्छन् कि नेपालमा कम्युनिष्टको शासन आयो भने रुन पनि पाइँदैन । मेरो प्रश्न छ, के नेपालमा कोही कम्युनिष्ट छन् ? प्रचण्ड, बाबुराम, केपी ओलीमा म कतै कम्युनिष्ट आचरण देख्दिनँ । कम्युनिष्टहरु त जनताबाट केही पनि लिँदैनन् । जनतको हित र सुखका लागि मात्रै आफ्नो जीवन व्यतित गर्छन्, होइन र ? उनीहरुको आचरण कतै पनि कम्युनिष्ट हुन लायक छैन । यसकारण उनीहरु कम्युनिष्ट नै होइनन् भने नेपालमा कसरी कम्युनिष्टको शासन आउँछ ? कम्तिमा नारायणमान विजुक्छे र चित्रबहादुर केसी जतिको आचरण हुनु पथ्र्यो नी । कोही पनि छैनन्, कम्युनिष्ट । नेपालमा कम्युनिष्टको शासन कहिले पनि आउँदैन । यसकारण यो विषय यसै समाप्त हुन्छ ।

 

आफूलाई कम्युनिष्ट भन्ने तर देश बेच्नेहरु यिनै हुन् । केपी ओलीले महाकाली बेच्दा पश्चिमको सिमाना महाकाली नदी बनाए । प्रचण्डले भारतसँग २५ बुँदे समझदारी गरेर के गरे ? त्यो जनताले देखिसकेका छन् । माधव नेपालले राजा वीरेन्द्रलाई भारतीय सेना ल्याएर ‘कू’ गर्नुपर्छ भनेर बोलेका हुन् । हरेक पटक माधवजीले भारत सम्झनु हुन्छ । नेपाल सम्झनु हुन्न ।

 

माओवादी र एमाले मिल्ने भयो भने माधवकुमार नेपालले पार्टी टुक्रा पारिदिन्छन् । दलहरु एक भएर नेपालमा राजनीतिक स्थायीत्व हुन लाग्यो भने यहिकाले त्यसो हुन दिँनेछैनन् । अब भन्नुस तपाई यिनीहरुलाई कम्युनिष्ट भन्नु हुन्छ ?

 

कम्युनिष्टको विकल्पमा अब शेरबहादुर देउवालाई उभ्याउन खोजियो भने त्यो पनि दूर्भाग्यपूर्ण हुनेछ । किनभने शेरबहादुर देउवा गाईको आवरण भिर्नुभएको गोरु हो । उहाँ आफ्नो खुट्टामा उभिन सक्नु हुन्न । उहाँ नेतृत्व गर्न सक्नु हुन्न । उहाँको कुनै अर्थ छैन अबको परिवेशमा । देउवाले शासन गर्न सक्नु हुन्न । अझै उहाँ सात पटक प्रधानमन्त्री बन्ने सपना देखेर हिड्नु भएको छ । उहाँ प्रधानमन्त्री भए पनि एउटा काक्ताली हो । अब पनि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भयो भने देश सात सय वर्ष पछाडि पर्ने छ ।

 

नेपालको विकासलाई पार्टीको राजनीतिसँग जोड्नु हुँदैन । नेपालका नेताहरु फटाहा छन् । नेपालमा शेरबहादुर पनि कम्युनिष्ट हुन्, माधव नेपाल पनि कांग्रेस हुन् । भारतको एक पत्रिकाले लेखेको छ कि नेपालको बूढीगण्डकी भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकारको पहलमा नेपालले चीनबाट खोसेर अब भारतलाई दिँदैछ । यस्ता यस्ता कुरा आयो । एउटा सरकारले गरेको काम, अर्कोले तोड्ने ? अर्कोले गरेको एउटाले तोड्ने गर्नु हुँदैन । नेपालका यी पाजी नेताहरुले गरेका हुन् । नेपालका नेताहरुले नेपालको माया गर्दैनन्, कि उनीहरु भारतको, कि पश्चिमाको कि पैशाको माया गर्छन् । नेपालमा नेपाललाई माया गर्नेहरु अति कम छन् ।

 

अहिले विद्वान हुनकालागि पनि पार्टीको झन्डा बोक्नु पर्ने अवस्था छ । त्रिविको भिसी एउटा पार्टीृको झोले हुन्छ । यस्ता पनि प्राज्ञ, विज्ञ हुन्छन् त ? नेपालको विरुद्ध केही छन् । अर्को भन्ने एक महोत्तरीको सिके लाल रैछन् । उनलाई एक थापाले काठमाडौंमा ल्याएका रहेछन् । नेपाल सरकारका पूर्वकर्मचारी पनि रैछन् । यिनको काम नेपाल टुक्रयाउने, मधेसमा हिन्दी भाषा नै चाहिने रैछ । यिनको मिसन नै त्यही हो । भन्नुस अब यी प्राज्ञ विज्ञ हुन् ? उनले चाहिँ भनेका छन् कि भारतसँग दुश्मनी बढाउने पहिलो व्यक्ति पृथ्वीनारायण शाह हुन् उनले भनेका छन् । जहिले पनि भारतको जय मनाउने, जहिले पनि गोर्खाको विरोध गर्ने, नेपाली भएर विदेशीको खाएर जहिले पनि तराई टुक्रा पार्ने कुरा गर्छन् । कृष्ण भट्टचन, ओम गुरुङ भन्ने पनि छन् । म भन्न चाहन्छु पृथ्वीनारायण शाह र हाम्रा पुर्खाले हातमा तरबार बोकेर दुश्मनसँग लड्दा यी दलालका कोही त्यहाँ थियो ?

 

सत्य बोल्दा मलाई मर्छस् भन्छन् । मेरा आफन्तले भन्छन् । एक दिन त मर्नु छँदैछ, आफ्नो राष्ट्रको माया गरेर बोल्दै गर्दा मेरो मृत्यु भयो भने म भाग्यमानी हुनेछु । मलाई आफ्नो ज्यान भन्दा राष्ट्र प्यारो छ ।

 

मैले ‘मेरो नेपाल’ भन्दा मलाई मार्छन् भन्छन् ।


...
अबको राजनीतिमा विकल्प हुनुपर्छ । विवेकशील साझा पार्टीले यसपटक चर्चा पाएको छ । जन्मिन नपाई विवेकशीललाई बात लाग्न थालेको छ । कांग्रेस, एमालेका टट्टुहरुले आरोप लगाइरहेका छन् । विवेकशील साझाका नेताहरु त्यस्तै खराब छन भने न्यायको कठघरामा लगेर उभ्याए भइगयो नी । किन चरित्र हत्या गर्नु कसैको ?


...
मेरो विचारमा अब यो देशमा विमलेन्द्र निधिको सट्टा राजेन्द्र महतोले जित्नु पर्छ । राम कार्कीको सट्टा विश्वप्रकाश शर्माले जित्नु पर्छ । दमननाथ ढुंगाना जस्तो व्यक्तिले भन्दा महेश बस्नेतले जित्नु पर्छ । प्रकाशमानको सट्टा रवीन्द्र मिश्रले जित्नु पर्छ । बाबुरामको सट्टा नारायणकाजीले जित्नु पर्छ ।’

डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड

विशेष