राजनीति

शिव सेनाको सप्ताहव्यापी आन्दोलन उत्कर्षतर्फ

शिव सेनाको सप्ताहव्यापी आन्दोलन उत्कर्षतर्फ

काठमाडौं । राजसंस्था र हिन्दू अधिराज्य पुनर्स्थापनाको माग राख्दै आन्दोलनरत शिव सेना नेपालले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न गर्ने चरणमा प्रवेश गरेको छ । कात्तिक ३० गतेदेखि नै सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिरहेको शिव सेनाले सोमबार काठमाडौं भद्रकालीबाट र्यालीको आयोजना गरी पुनः सोही स्थानमा पुगेर कोणसभा गरेको थियो ।


पाँचौ दिनको सो कार्यक्रम शिव सेना नेपालको युवा संगठन तथा हिन्दू टाइगर काठमाडौंले आयोजना गरेको हो ।

शिव सेनाले ३ गते आइतबार भद्रकालीमा प्रदर्शन गर्यो । शनिबार काठमाडौंको हनुमान ढोकाबाट नारायणहिटीसम्म प्रदर्शन, र्याली र सभाको आयोजना गरेको थियो । गत शुक्रबार ललितपुरबाट गणतन्त्रको अन्त्य गर्ने उद्घघोष पनि गरेको थियो । सप्ताहव्यापी पहिलो चरणको कार्यक्रम अन्तर्गत दोस्रो दिनको कार्यक्रम ललितपुरको जावलाखेलबाट सुरु भएको थियो । विशाल र्यालीपछि मंगलबजार पुगेर सभामा परिणत भएको कार्यक्रमका वक्ताहरुले नेपालको गणतन्त्रको आयु छोटो भएको दावी गरे ।

शिव सेनाका अध्यक्ष अनिल बस्नेत (बाबा)को उपस्थितिमा भएको सभामा शिव सेना ललितपुरका अध्यक्ष प्रमोदनाथ श्रेष्ठले मुलुक टुक्रा पार्ने षडयन्त्र कुनै पनि हालतमा सफल हुन नदिने बताए । उनले शिव सेना नेपालले नै गणतन्त्रको विधिवत समापन गर्ने चेतावनी दिए ।

सभामा शिव सेनाका केन्द्रीय नेताहरु दिनेश कँडेल, किरण खड्का, देशभक्त प्रदीपविक्रम राणालगायतले धारणा राखेका थिए । हजारौंको सहभागीता भएको सभा अघिको र्यालीले दुई घन्टासम्म नगर परिक्रमा गरेको थियो ।

शिव सेनाले आज पाँच गते मैतिदेवीमा र ६ गते काठमाडौं महादेवस्थानमा कार्यक्रमको आयोजना गर्दै छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले शिव सेनाले बोकेको लक्ष्य पूरा नहुञ्जेल यस्ता कार्यक्रमको आयोजना भइरहने बताए । यी कार्यक्रमहरुको संयोजन तथा आयोजना शिव सेना नेपाल र उसका भातृ भगिनी संगठनहरुले गरेका छन् ।

विशेष