राजनीति

सबै मतपत्र छापिए

सबै मतपत्र छापिए

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतपत्रको छपाई पूरा भएको जनाएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग पानामा छापिएको छ । एउटै पानामा दुवैसभाको मतपत्र तल र माथि छाप्ने तयारी भएका बेला सर्वोच्चले अलग अलग छाप्न आदेश दिएपछि निर्वाचनको समयसीमा प्रभावित हुने संशय उत्पन्न भएको थियो । तर, निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिलो गरी छाप्न सुरु गरिएका मतपत्रहरु चार दिन अगावै छापिसकिएको छ ।

 प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो र दोस्रो चरणका सबै निर्वाचन क्षेत्रको मतपत्र छापिसकिएको र पठाउने काम भइरहेको बताए । ‘आयोगबाट गरिनुपर्ने निर्वाचन तयारीको शतप्रतिशत काम पूरा भइसकेको छ, अब जिल्लातिर काम बढी छ,’ उनले भने ‘पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मतदान केन्द्रका लागि कर्मचारी कर्मचारीहरु पनि खटाइसकिएको छ ।’ अब जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र आचारसंहिताको अनुगमन लगायत निर्वाचन तयारीको समग्र कामको जिम्मेवारी छ ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान हुनेछ । पहिलो चरणका लागि सबैतिर निर्वाचन सामाग्री पठाइसकिएको र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र लगायतका सामग्री पठाउने काम भइरहेको आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले बताए । पहिलो चरणमा निर्वाचन हुने सबै मतदान केन्द्रमा मंसिर ७ गतेभित्र कर्मचारी पुगिसक्ने गरी कर्मचारीको खटनपटन भएको उनले जनाए । आयोगले दुवै सभाका लागि समानुपातिकतर्फ एउटा तथा प्रत्यक्षतर्फ अलग अलग दुईवटा गरी तीनवटा मतपत्र छापेको हो । प्रत्येक मतपत्र १ करोड ७४ लाख प्रति छापिएका छन् । मतदाता १ करोड ५४ लाख २७ हजार ९३८ छन् । तीनवटै मतपत्र १२ प्रतिशतले बढी छापिएको हो । समानुपातिकका मतपत्र कात्तिक पहिलो साता नै छापिइसकेका छन् ।

मतपत्र सानो हुने भएपछि समयसीमा भित्रै छापिएको हो । अधिकांश जिल्लाका मतपत्र ‘ए फोर’ आकारभन्दा साना छन् । धेरैजसो निर्वाचन क्षेत्रमा २० भन्दा कम निर्वाचन चिन्ह छापिएका मतपत्र छन् । प्रतिनिधिसभातर्फ कुल १ सय ६५ मध्ये १२ र प्रदेशसभा तर्फ ३ सय ३० मध्ये ११ निर्वाचन क्षेत्रमा मात्रै २० भन्दा बढी चिन्ह रहेका मतपत्र छापिएका छन् । सबैभन्दा सानो मनाङ र मुस्ताङका मतपत्र छन् । त्यहाँका मतपत्रमा २ वटा चिन्ह मात्र छन् । सबैभन्दा ठूलो महोत्तरीको प्रदेशसभा तर्फ ३९२० निर्वाचन क्षेत्रमा ३२ वटा चिन्ह भएका मतपत्र छापिएका छन् ।

समयसीमा भित्र मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रको प्रेसलाई अतिरिक्त समयमा पनि सञ्चालनमा ल्याइएको र थप जनशक्ति समेत परिचालन गरिएको थियो । ‘थप सिफ्टमा प्रेस चलाइयो, रातदिन नभनी काम गराइएको छ,’ उनले भने ‘दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरुमा मंसिर ७र८ गतेभित्र सबै मतपत्र पठाइसक्ने लक्ष्य लिएको छौं ।’ आयोगको कार्यतालिकामा भने मंसिर ११ भित्र ढुवानी गरिसक्ने उल्लेख छ । प्रवक्ता ढकालले पहिलो चरणका निर्वाचनमा मौसमलाई चुनौतिका रुपमा लिइएको बताए । हिमाली जिल्लामा हिमपात भएर कम मतदान हुने हो कि भन्ने संशय आयोगमा छ । कतै कतै हिमपातको सम्भावनालाई हेर्दै मतदाताहरु सुरक्षितस्थलतर्फ बसाईंसमेत सर्ने क्रम सुरु भएको छ । मौसम र भौगोलिक विकटतालाई हेर्दै कतिपय जिल्लाले मतदान केन्द्रमा कर्मचारी र मतदान सामग्री पठाउन आयोगसँग हेलिकप्टरको माग गरेका छन् । जिल्ला सुरक्षा समितिले माग गरेअनुसार आवश्यकता हेरी हेलिकप्टर पठाइने ढकालले बताए । ५ सय जनासम्म मतदाता रहेका केन्द्रमा ७ र त्यो भन्दा बढी मतदाता रहेका केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिएका छन् । त्यसवाहेक प्रत्येक केन्द्रमा आवश्यकता अनुसार स्वयंसेवक समेत खटाइने छ ।

चासो सुरक्षा चुनौतिमा

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यतिबेला सबैभन्दा ठूलो विषय सुरक्षाकै रहेको बताए । कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले आयोगको असाध्यै चिन्ता र चासो सुरक्षा व्यवस्थालाई लिएरै रहेको उल्लेख गरे । उनले निर्वाचनमा खटाइएका कर्मचारी, मतदाता, उम्मेदवार र जिल्ला जिल्लामा पठाइएका निर्वाचन सामग्रीको सुरक्षाको चिन्ता आयोगलाई रहेको बताए । निर्वाचन नजिकिएसँगै उम्मेदवार लक्षित आक्रमण तथा बम विष्फोटका घटनाहरु बढेपछि आयोगले सुरक्षा सवालमा सरकारसँग गम्भीर चासो प्रकट गरिसकेको छ । ‘निर्वाचनमा जोडिने सबैको सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अनि मात्रै निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ,’ उनले भने ‘बढेका हिंसात्मक घटनाहरुलाई सरकारले तत्कालै नियन्त्रणमा लिनसक्नुपर्छ ।’

कान्तिपुर

विशेष